तीन जिल्लाका सिडिओ सदस्य रहेको वृहत्तर बराहक्षेत्र विकास समिति
सुनसरी। धर्तीको पहिलो तीर्थस्थलका रूपमा परिचित पूर्वको बराहक्षेत्र मन्दिर र आसपासका क्षेत्रलाई समेटेर वृहत्तर बराहक्षेत्र विकास समिति गठन गरिएको छ। उक्त समितिमा सुनसरी, उदयपुर र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पदेन सदस्य रहने व्यवस्था रहेको छ। उक्त समितिमा सुनसरीका सिडिओ ईश्वरीप्रसाद अर्याल, उदयपुरका सिडिओ मेखबहादुर मंग्राती र धनकुटाको सिडिओ रुद्रादेवी शर्मा पदेन सदस्य रहेका छन्। तीन जिल्लाको सिडिओ सदस्य रहेको वृहत्तर बराहक्षेत्र विकास समिति आफैमा वृहत्तर रहेको छ।
तीन जिल्लाका सिडिओ मात्र होइन तीन जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, धरान उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहका मेयर/अध्यक्ष, ४ वटा भूमि प्रशासन कार्यालयका प्रमुख उक्त समितिमा सदस्य रहेका छन्। सुनसरीका जिल्ला समन्वय प्रमुख राजन मेहता, सुनसरीका जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा र धनकुटाका जिल्ला समन्वय प्रमुख निरेन तामाङ वृहत्तर बराहक्षेत्र विकास समितिको पदेन सदस्य हुन्।
त्यस्तै धरान उपमहानगरपालिकाका कार्यवहाक मेयर अइन्द्र विक्रम बेघा, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, बेलका नगरपालिकाका मेयर अशोक कार्की, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज र साँगुरी गढी गाउँपालिकाका अध्यक्ष जिजेन्द्र राई पदेन सदस्य रहेका छन्। त्यसैगरी भूमि प्रशासन कार्यालय इनरुवा, सुनसरीका प्रमुख मदन घिमिरे, भूमि प्रशासन कार्यालय धरान, सुनसरीका प्रमुख अम्बिकाप्रसाद चौलागाई, भूमि प्रशासन कार्यालय, उदयपुरका प्रमुख डुविन्द्रप्रसाद बराल र भूमि प्रशासन कार्यालय धनकुटाका प्रमुख कमलबहादुर थापा पदेन सदस्य हुन्।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ पुरातत्त्व अधिकृत भेषराज न्यौपाने र प्रथम जगद्गुरूपीठ प्राचीन हरिद्वारा चतराधाम संरक्षक महाराज जगद्गुरू बालसन्त मोहनशरण देवाचार्य समेत समितिमा रहेका छन्।
वृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्ष, सदस्यसचिव र एक महिलासहित ३ सदस्य भने कोशी प्रदेश सरकारले मनोनित गर्ने व्यवस्था रहेको छ। समितिको अध्यक्ष प्रकाश बस्नेत र सदस्यसचिव अविजाल विष्ट रहेका छन्। विष्टले कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्दै आएका हुन्। त्यस्तै प्रदेश सरकारले प्रल्हाद भट्टराई, टिकाकुमारी श्रेष्ठ र लक्ष्मीराज अधिकारीलाई समितिको सदस्यमा मनोनित गरेको छ। अध्यक्ष र सदस्यसचिव (कार्यकारी निर्देशक)सहित २३ सदस्यीय समिति नाम जस्तै निकै वृहत्तर रहेको पाइन्छ।
३ जिल्लामा ६ पालिकामा फैलिएको कार्यक्षेत्र
प्रथम जगद्गुरूपीठ, चतराधामका संरक्षक जगद्गुरू बालसन्त मोहनशरण देवाचार्य पहलमा स्थापना गरिएको वृहत्तर बराहक्षेत्र विकास समितिको कार्यक्षेत्र सुनसरी, उदयपुर र धनकुटा गरी ३ जिल्लामा ६ वटा स्थानीय तहमा फैलिएको छ। सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिका उक्त समितिको कार्यक्षेत्रभित्र पर्छ। उदयपुरको बेलका नगरपालिका तथा धनकुटाको साँगुरीगढी र शहीदभूमि गाउँपालिकालाई वृहत्तर बराहक्षेत्र विकास समितिले समेटेको छ। क्षेत्रफलका र सदस्यका हिसाबले धार्मिक क्षेत्रका विकास समितिमध्ये वृहत्तर बराहक्षेत्र विकास समिति सबैभन्दा ठूलो देखिन्छ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका पाथीभरा क्षेत्र विकास समिति र हलेसी महादेवस्थान क्षेत्र विकास समितिभन्दा ठूलो समिति वृहत्तर बराहक्षेत्र विकास समिति हो।
समितिकाे क्षेत्रभित्र दर्जनौं मन्दिर
समिति अन्तर्गत सुनसरीको बराहक्षेत्र परिसर र वरिपरीका सबै धाम (मन्दिर), कोका- कौशिकी संगम, गुप्ताबराह गुफा, प्राचीन हरिद्वार (चतराधाम), प्रथम जगद्गुरूपीठ, राधासर्वेश्वर मन्दिर, शंकराचार्य मठ, रामानन्दाचार्य सेवापीठ, गीता ब्रह्मचिन्तन योगाश्रम, सप्तकौशिकी आरती स्थल, श्रीराम शान्ति कुञ्ज अनाथ तथा महिला आश्रम, छोयोलुङ तासी गुम्बा, औलिया बाबा मठ, छिन्नमस्ता भगवती, मनकामना भगवती मन्दिर, कुम्भस्तम्भ, दुर्वासा घाट, भवानीथान डाँडा, सूर्यकुण्ड, शिवजटा, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, विजयपुर गढी, विष्णुपादुका, मन्दिर, झुम्केश्वर शिवालय जस्ता शक्तिपीठ तथा धाम पर्दछन्।

उदयपुरको किराँत सभ्यतासँग जोडिएको बेलका राजारानी सुनखानी मन्दिर, धनकुटाको त्रिवेणीधाम, छिन्ताङदेवी मन्दिर, साँगुरीगढी विश्रान्ती धाम जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूलाई पनि समितिले समेटेको छ। यी क्षेत्रभित्र पर्ने थप ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूको थप खोजी कार्य भइरहेको समितिका कार्यकारी निर्देशक अविजाल विष्टले बताए। धार्मिक पर्यटनलाई बढावा दिने प्रयास भइरहेको उनको भनाइ छ।
भेटीलाई व्यवस्थित बनाइँदै

पाथीभरा, पशुपतिनाथ जस्तै बराहक्षेत्र, पिण्डेश्वर, बुढासुब्बा, दन्तकालीलगायतका मन्दिरहरूको भेटीलाई व्यवस्थित र राज्य मातहतमा ल्याउन कार्यकारी निर्देशक विष्टले पहल थालेका छन्। जहाँको भेटी हो त्यहिँ खर्च गर्ने र उक्त क्षेत्रलाई व्यवस्थित विकास र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त काम थालिएको उनले जानकारी दिए। त्यसका लागि विष्टले विभिन्न समितिका पदाधिकारीहरूसँग विष्टले परामर्श लिन थालेका छन्। उक्त क्षेत्रमा करोडौंको आम्दानी हुने र त्यहिँ क्षेत्रमा सदुपयोग गर्ने समितिको लक्ष्य रहेको छ।
समितिले मन्दिर तथा शक्तिपीठहरूको सर्वेक्षण समेत थालेको छ। विभिन्न पालिकाहरूसँग मिलेर काम गर्ने समेत तयारी भइरहेको समितिका कार्यकारी निर्देशक विष्टले जानकारी दिए।
रामधुनी र बराहक्षेत्रमा सम्पर्क कार्यालय खोल्ने तयारी
वृहत्तर बराहक्षेत्र विकास समितिले रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिर परिसरमा सम्पर्क कार्यालय खोल्ने तयारी थालेको छ। समितिका कार्यकारी निर्देशक विष्टले दुई स्थानमा चाँडै नै सम्पर्क कार्यालय खोलिने बताए।
भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना गरिसकेको समितिले रामधुनी र बराहक्षेत्र मन्दिर परिसर गरी थप दुई स्थानमा सम्पर्क कार्यालय खोल्ने समितले तयारी थालेको हो। उक्त सम्पर्क कार्यालय थपिएपछि सम्पर्क र समन्वय प्रभावकारी ढंगले हुने कार्यकारी निर्देशक विष्टको धाराणा छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस