कालीप्रसाद पराजुली सचिवमा बढुवा, अख्तियारमा पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल प्रशासन सेवाको सचिव पदमा कालीप्रसाद पराजुलीलाई बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद् स्रोतका अनुसार पराजुलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ। पराजुली सहसचिव हुँदा लामो समय अख्तियारमै बसेका थिए। सचिव बढुवा भएका पराजुलीले पहिलो पोष्टिङ नै अख्तियारमा पाएका हुन्।
लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक सहसचिवहरू कालीप्रसाद पराजुली, रूद्रसिंह तामाड र आभा श्रेष्ठलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसमा १ नम्बरमा रहेका पराजुलीलाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिव पराजुलीको जागिर डेढ वर्ष बाँकी छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका पराजुली आचरणमा बस्ने कर्मचारीमा चिनिन्छन्। गृह मन्त्रालयबाट केही समय अघि राष्ट्रिय महिला आयोग पुगेका पराजुली त्यहिँबाट सचिवमा बढुवा भएका हुन्। सचिव भएपछि उनी अख्तियार पुगेका छन्। डिल्लीराम शर्मा अवकाशमा गएपछि एक महिनादेखि अख्तियार सचिवविहीन अवस्थामा रहेको थियो। उक्त ठाउँमा कालीले बाजी मारेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #कालीप्रसाद पराजुली


तपाईको प्रतिक्रिया दिनुहोस