सचिव बढुवा भएपछि संघमा पदस्थापन भएका दुई सचिव: घिमिरे रक्षमा, पराजुली अख्तियारमा
काठमाडौं। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कालीप्रसाद पराजुली सचिवमा बढुवा गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेको छ। नेपाल प्रशासन सेवाको सचिव बढुवा भएका पराजुलीको पहिलो पदस्थापन नै अख्तियारमा भएको हो।
डिल्लीराम शर्मा अवकाशमा गएपछि एक महिनादेखि अख्तियार सचिवविहीन अवस्थामा रहेको थियो। उक्त ठाउँमा पराजुलीले बाजी मारेका हुन्। उनी सहसचिव हुँदा लामो समय अख्तियारमै बसेका थिए। सचिव बढुवा भएका पराजुलीले पहिलो पोष्टिङ नै अख्तियारमा पाएका हुन्। अख्तियारमा पठाउने सचिव विवादित नहुने भन्नेमा सरकारले सचेत रहेको पाइन्छ। प्रदेशमा रहेका कतिपय सचिव समेत अख्तियारको छानबिनमा रहेको चर्चाकाबीच पराजुलीले अख्तियारमा ‘चान्स’ पाएका छन्।
यसअघि इन्दु घिमिरेलाई पनि सचिवमा बढुवा हुनेबित्तिकै रक्षा मन्त्रालयमा पदस्थापन भएको थियो। इन्दुपछि प्रदेश नपठाई सीधै संघमा पदस्थापन हुने सचिव पराजुली भएका छन्। घिमिरे र पराजुली २०७१ फागुनमा एकैदिन आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। उनीहरूबीच उमेर पनि करिब ५ महिनाको फरक छ। घिमिरे २०८५ साउनमा अनिवार्य अवकाशमा जाने सूचीमा छिन्। पराजुली २०८४ चैतमा घर जाने सूचीमा छन्।
रक्षा र अख्तियार पठाउने सचिवको पृष्ठभूमि हेरेर सरूवा गरिएको बताइन्छ। उक्त निकायका लागि उपयुक्त सचिवमा घिमिरे र पराजुली पर्न सफल भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #इन्दु घिमिरे, #कालीप्रसाद पराजुली


तपाईको प्रतिक्रिया दिनुहोस