सहसचिवत्रय रूद्र, आभा र चक्र सचिव बढुवाका लागि सिफारिस


काठमाडौं। सचिव बढुवाका लागि रूद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यबहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठक रूद्र, आभा र चक्रको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।

समितिले पहिलो नम्बरमा रूद्रसिंह तामाङ, दोस्रो नम्बरमा आभा श्रेष्ठ र तेस्रोमा चक्रबहादुर बुढाको नाम सिफारिस गरेको छ। आगामी मन्त्रिपरिषद् बैठकले एक नम्बरमा सिफारिस भएका रूद्रलाई सचिवमा बढुवा गर्ने निश्चित छ। पछिल्लो समय सरकारले सचिव बढुवा गर्दा सिफारिसको बरियता नमिचेकाले उनी नै सचिव बन्नेमा ठोकुवा गर्न सकिन्छ।

रूद्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा, आभा मधेश प्रदेश र चक्र महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। तामाङ आन्तरिक प्रतिस्पर्धाबाट, आभा महिला कोटाबाट र चक्र पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका हुन्।

पर्यटन विभागका महानिर्देशक समेत रहिसकेका तामाङलाई पर्यटकीय राजधानी पोखरा (गण्डकी) प्रदेशमा पठाइने उच्च सम्भावना छ। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासन सेवाको सचिव पद रिक्त छ। सहसचिव डण्डुराज घिमिरे निलम्बनमा रहेकाले अर्को सचिव बढुवा गर्ने अवस्था देखिँदैन।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ