एक महिनामा थपिए प्रशासन सेवाका ७ सचिव


काठमाडौं। एक महिनामा नेपाल प्रशासन सेवामा ७ सहसचिव थपिएका छन्। ६ महिना अघिदेखि रोकिएको सचिव बढुवा एकैचोटी खुल्दा नेपाल प्रशासन सेवामा एक महिनामै ७ सचिव थपिएका हुन्।

भदौं महिनामा मात्र नेपाल प्रशासन सेवाका एकै ‘ब्याच’का सहसचिव सचिवमा बढुवा भएका छन्। कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट, विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङ एक महिनाभित्र सचिवमा बढुवा भएका हुन्। २०७१ फागुनमा एकैदिन सहसचिव भएका भट्टराई, घिमिरे, भट्ट, कुँवर, खत्री, पराजुली र तामाङ एक महिनाभित्रै सचिवमा बढुवा भएका छन्। ७ जनामध्ये भट्ट र खत्री खुला प्रतिस्पर्धाबाट र बाँकी ५ जना आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। नियुक्ति मिति भने आन्तरिक र खुलाको एकैदिन भएकाले सचिव बढुवा हुँदा मासमिस भएको हो।

भट्टराई बागमती प्रदेशको प्रमुख सचिव, घिमिरे रक्षा मन्त्रालयको सचिव, भट्ट कोशी प्रदेशको प्रमुख सचिव, कुँवर लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा खटाइएका छन्। त्यस्तै पराजुली अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा पदस्थापन भएका हुन्। हालै सचिवमा बढुवा भएका तामाङको भने पदस्थापन हुन बाँकी छ।

उक्त ‘ब्याच’मा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका राजेन्द्रकुमार पौडेल भने ९ महिना अगाडि नै सचिव भइसकेका थिए। उनीपछि जाम भएको सचिव बढुवा खुल्दा पौडेलका ‘ब्याची’हरू करिब ९ महिनापछि सचिव भएका हुन्। यस मानेमा पौडेल ‘भाग्यमानी’ देखिएका छन्। पौडेल सचिवको जहाजमा चढ्दा छुटेकाहरू ९ महिनापछि बल्ल उनीसँग भेटिएका हुन्। तर, सचिव पौडेलको जागिर असारसम्म ८ महिना केही दिन मात्र बाँकी छ। ९ महिनापछि सचिव बढुवा भएका कुँवरभन्दा पौडेलले १० दिन बढी जागिर खान्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #इन्दु घिमिरे, #उत्तरकुमार खत्री, #कमलप्रसाद भट्टराई, #कालीप्रसाद पराजुली, #नारायणप्रसाद भट्ट, #राजेन्द्रकुमार पौडेल, #रूद्रसिंह तामाङ, #विनोदबहादुर कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ