साउनमा हुनुपर्ने परराष्ट्रका कर्मचारीको ‘सरूवा फाइल’ कहाँ अड्कियो?


काठमाडौं। सरकारले पटकपटक ‘शून्य फाइल’ नीति अख्तियार लिँदै आएको छ। तर, परराष्ट्र सेवाका कर्मचारीको सरूवासम्बन्धी फाइल अड्किएको अड्किएकै भएको हो। परराष्ट्र सेवाका कर्मचारी सरूवासम्बन्धी निर्देशिकामा परराष्ट्र सेवाका कर्मचारीको सरूवा वर्षको दुईचोटी साउन र माघमा गर्ने व्यवस्था छ। तर, साउनमा हुनुपर्ने सरूवा मंसिर लाग्न आट्दा समेत अहिलेसम्म हुन सकेको छैन।

अवधि पुगेका परराष्ट्र सेवाका उपसचिव, शाखा अधिकृत, नायब सुब्बाहरूको सरूवा साउनमै हुनुपर्ने हो। परराष्ट्र मन्त्रालयले नेपालमा रहेका मन्त्रालय, विभाग, कार्यालयमा कर्मचारीलाई विदेशस्थित नियोग र नियोगमा अवधि पुगेका कर्मचारीलाई नेपालस्थित मन्त्रालय, विभाग, कार्यालयमा सरूवा गर्नु पर्ने हो। तर, मंसिर लाग्न र तिहार बिदा हुन लाग्दा समेत परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवाका कर्मचारीको सरूवा गर्न नसकेको छैन। यसले परराष्ट्रका कर्मचारीहरू ‘फ्रष्टेशन’मा देखिन्छन्।

बालबच्चाको पढाइ, बसाई, परिवार व्यवस्थापन हरेक कुरालाई मध्यनजर गर्दै परराष्ट्र सेवाका कर्मचारीलाई सरूवा साउनभित्रै गर्ने गरिएको थियो। यसपटक मंसिर लाग्न आट्दा समेत सरूवा नभएपछि परराष्ट्रका कर्मचारीहरू असन्तुष्ट रहेका छन् अधिकृतस्तरको सरूवा परराष्ट्र सचिवस्तरबाट टुंगिन्छ। कर्मचारीले नै गर्ने सरूवा समयमा नहुँदा परराष्ट्रका कर्मचारीहरू मर्कामा परेको सुनाउँछन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई चीनको राजदूत बन्ने तयारीमा थिए। अहिले अष्ट्रेलिया राजदूत बन्ने ध्याउन्नमा छन्। आफू राजदूत बन्ने चक्करमा लाग्दा परराष्ट्र सेवाका कर्मचारीलाई अन्याय गरेको टिप्पणी हुन थालेको छ। नयाँ सरूवा निर्देशिका बनाउने नाममा ४ महिनादेखि पराराष्ट्र सेवाका कर्मचारीको सरूवा रोकिएको हो। अरूतिर ‘शून्य फाइल’ नीति लागू हुँदा परराष्ट्रमा भने सरूवाको फाइल नै अड्किएको छ।

सरूवाको विषयमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीलाई बुझ्न खोज्दा व्यस्तता कारण कुरा हुन सकिरहेको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ