यी हुन् राप्ती प्रतिष्ठानकी उपकुलपति भण्डारीलाई हटाउने आधार


काठमाडौं । राप्ती प्रतिष्ठानकी उपकुलपति भण्डारीले डा. संगिता भण्डारीले दर्जनौं अनियमतता गरेकाले प्रतिष्ठानलाई थप क्षति हुन नदिन तत्काल हटाउनु पर्ने देखिन्छ । स्वास्थ्य लाइभले खोजी गर्दा उनले दर्जनौं अनियमितता भेटिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीलाई हटाउनु पर्ने आधारहरू यस्ता छन् ।

✍️व्यापारीसँगको मिलेमतोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले एकदमै पुरानो मोडलको १६ स्लाइसको सी.टी. स्क्यान मेसिन अत्यन्तै महँगो दरमा खरिद गर्न खोजेको कुरामा मूल्यांकन समितिका अध्यक्ष डा. कृष्णकुमार झाले उक्त सी.टी. स्क्यान मेसिन समयसापेक्ष छैन भनि खरिद कार्यमा असहमति जाहेर गरेका थिए । यही भित्रिकारणले उपकुलपति र रजिष्ट्रार मिलेर मूल्यांकन समितिबाट डा. झालाई बर्खास्त गरी अर्को मूल्यांकन समिति बनाएर खरिद गर्ने निर्णय गरेको देखिन्छ ।

✍️डा. झा दाङका एकमात्र प्याथोलोजिस्ट थिए, अनियमिततामा साथ दिन नमानेपछि उपकुलपति र रजिष्ट्रारलाई प्याथोलोजिस्ट चाहिएन, उल्टै ९० हजार रुपैयाँ तलबबाट काटेर डा. झालाई वर्खास्त गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

✍️४ करोडको प्याथोलोजी प्रयोगशालाको उपकरण खरिद गरेर बेवारिसे बनाएकी उपकुलपति भण्डारीले त्यसलाई उपयोगमा ल्याउने प्याथोलोजिस्टलाई बर्खास्तगरी राप्ती प्रतिष्ठानमा प्याथोलोजी सेवा अस्तव्यस्त बनाएको खुल्न आएको छ ।

✍️यता त्यहि प्याथोलोजिस्ट लगायतका बर्खास्त भएका चिकित्सकले प्रयोग गर्ने उपकरण किन्न १३ करोड माग गर्दै आर्थिक वर्षको अन्तिम दिनसम्म पनि मन्त्रालयमा आइरहने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

✍️प्रतिष्ठानका उच्च अधिकारीहरूकाअनुसार राप्तीको उपकुलपति र रजिष्ट्रारको मुख्य कार्य नै सरकारसँग बजेट माग्ने र उपकरण खरिद गर्ने अनि कमिसन खाने मात्र भएको आरोप लाग्दै आएको छ । अस्पताल सेवाको बेहाल छ, सामान्य एक/दुई हजारमा आउने सामानको अभाव हुन्छ। सुत्केरी हुनेले सुविधा नपाउने भएर तुलसीपुर अस्पताललगायत अन्यत्र धाउन वाध्य छन् । अस्पताल भवन खण्डहर जस्तो भएको छ । इमर्जेन्सी वार्डमा सामान्य जीवन बचाउने औषधी छैन । वार्डहरुमा पन्जा र सुई हुँदैन तर त्यति सानो संस्थाको निमित्त ४० लाखको ए.सी. खरिद गरेको पाइएको छ । अस्पतालको आगनमा विनाप्रयोग करोडौका मेसिन थन्किएका छन् I तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सिनेटले राप्ती प्रतिष्ठानको उपकुलपतिको अराजकता रोक्न कदम चालेको देखिँदैन ।

✍️उपकुलपति र रजिष्ट्रारको उपकरण खरिद गर्ने तरिका पूर्णत: सरकारको नीति नियम विपरित छ । विना स्रोत करिब ४५ करोड भन्दा बढीको उपकरण खरिदको बोलपत्र निकालेर सम्झौता गरेर उक्त सम्झौता लुकाएर राखेको कुरा पटकपटक सार्वजनिक हुँदै आएको छ । सबै उपकरण खरिदको लागत पूर्णत: बदनियतपूर्ण छ । यसमा ठूलो भ्रष्टाचारको नियत राखिएको छ । दायित्व सिर्जना भएको देखाएर आर्थिक वर्षको अन्त्यमा अनेक जुक्ति लगाएर रकम निकाशा गर्ने र अनियमितता गर्ने गरेको उपकुलपति भण्डारीमाथि आरोप छ । प्रायजसो बोलपत्रको ई- बिडिङ गरिएको छैन । हातोहात ठेकेदारबाट बिड लिइने गरेको विषय अख्तियारमासमेत पुगेको छ ।

✍️आर्थिक वर्ष सकिने महिनासमेत विनास्रोत लाखौंका सामग्री खरिद गर्ने निर्णय भएको छ ।

✍️प्रतिष्ठानमा उपकुलपति भण्डारीको मिलेमतोमा सार्वजनिक खरिद नियमावलीविपरित ५ लाख मुनिको टुक्रे खरिद ठूलो परिमाणमा भएको छ ।

✍️प्रतिष्ठानमा दुईवटा आफ्नै र एकवटा उपकुलपतिका आफन्तवाट भाडामा लिएकागरी तीनवटा गाडी छन् । सबै गाडी उपकुलपतिका कब्जामा छन् । रजिष्ट्रार र उपकुलपतिको साँठगाँठमा आफ्ना आफन्तको प्रयोगमा ल्याइएको र प्रयोग नहुँदा लुकाएर अन्यत्र राख्ने गरेको प्रतिष्ठानका कर्मचारीहरु सुनाउँछन् ।

✍️विनाकाम र विनाउपलब्धि उपकुलपति र रजिष्ट्रार भत्ताकै लागि काठमाण्डौ आउने गरेको कर्मचारीको आरोप छ । उपकुलपति र रजिष्ट्रारको नियुक्ति मितिदेखि आजसम्मको भत्ताको हिसाव गर्यो भने ५० लाखभन्दा बढी हुन जाने प्रतिष्ठान स्रोतको दाबी छ । ललितपुरको जावलाखेलमा सम्पर्क कार्यालयको निमित्त प्रतिष्ठानको मासिक ठूलो धनराशी खर्च हुने गरेको पाइएको छ । अनावश्यक भर्ति केन्द्र बनाइएको र को, कुन प्रक्रियाबाट र कुन प्रयोजनको निमित्त भर्ति गरिएको भन्ने अख्तियारबाट छानबिन हुन जरुरी भएको कर्मचारीहरुको माग छ ।

✍️प्रतिष्ठान स्पष्टीकरण र बर्खास्तको अखडा बन्दै गएको छ। सबै पदाधिकारी, चिकित्सक वा कर्मचारीलाई स्पष्टिकरण लेख्ने भित्रि कारण गलत नियतले उपकरण खरिदमा असहमति राखेको कारण नै भएको पीडित व्यक्तिहरूको आरोप छ ।

✍️प्रतिष्ठानमा फ्याकल्टीले चलाउँछु भनेर उपकुलपति भण्डारीले अर्बौंको भवन र करोडौंको उपकरण खरिद गर्न सरकारसँग रकम माग गर्ने गरेको र आफ्नो खरिद कार्यमा असहमत चिकित्सकलाई धमाधम बर्खास्त गरेर अस्पताललाइ चिकित्सकविहीन जस्तो बनाउने र डर धम्की त्रास तथा मानसिक आतंक सिर्जना गर्ने गरेको प्रतिष्ठानका कर्मचारीको भनाइ छ ।

✍️उपकुलपति र रजिष्ट्रारको अस्पतालमा चिकित्सक आकर्षण गर्नेतर्फ कुनै पहल छैन । बरु सामान्य सुधार गर्न सक्ने कामहरु पनि रोकेर संकट उत्पन्न गराई सरकारसँग बजेट माग्ने र उपकरण खरिद गर्ने काम मात्र भएको देखिन्छ । त्यहाँका स्थानीयलाई सामान्य उपचार गर्न तुलसीपुरलगायतका अस्पताल धाउन वाध्य बनाइएका छन् ।

✍️उपकुलपति र रजिष्ट्रारले मिलेमतोमा फजुल सामग्रीहरुको खरिद गरेको पाइएको छ । जस्तै २० वटा कम्प्युटर र प्रिन्टर, १० वटा माइक्रोस्कोप, डिजिटल क्यामरा, ४० वटा ए. सी. खरिद गरिएको छ । त्यस्तै उपकुलपतिले सरकारी बजेटबाट आफ्नो घरमा प्रयोग हुँने सामग्री खरिद गरेको आरोप छ । मासिक ४५ हजार भाडाको दाङको उपकुलपति निवास खरिद गरिएका सामग्रीसमेत थन्क्याउने स्थान बनेको छ । जथाभावी सामग्री खरिद गरिएको छ तर राख्ने स्थान छैन ।

✍️३० वटा सटरबाट मासिक ५ लाख भाडा आउने देखिन्छ तर भण्डारीले मासिक ५१ हजार मात्र लिनेगरी प्रतिष्ठानको करिब ७ कठ्ठा जग्गा भाडामा लगाएको देखिन्छ ।

✍️पहिला प्रतिस्पर्धामा दिनेगरी टेन्डर आह्वान गरेको प्रतिष्ठानले प्रतिस्पर्धाबाट भाडामा दिँदा उपकुलपति भण्डारीले सेटिङ गरेको व्यापारीले नपाउने अवस्था आएपछि टेन्डर रद्ध गरेर सीधै भाडामा दिने सम्झौता गरेको पाइएको हो ।

✍️उपकुलपति डा. भण्डारीले कार्याकाल सकिनै लाग्दा ११ करोड मूल्यमा एमआरआई मेसिन खरिद गर्ने निर्णय गरेकी छन् । कोरोना महामारीको एक वर्ष कुनै काम नगरी बसेकी भण्डारीले कार्यकाल सकिनु ५ महिना अगाडि कमसल मेसिन मँहगो मूल्यमा किन्नेगरी लुम्बिनी हेल्थ केयर प्रालीलाई ठेक्का दिएकी हुन् । उक्त एमआरआई मेसिनको ठेक्कामा ठूलो आर्थिक चलखेल भएको उपकुलपति भण्डारीमाथि आरोप लागेको छ ।

✍️करोडौं मूल्य हालेर हेल्थ केयर प्रालीसँग खरिद गरिएको अक्सिज प्लान्ट सञ्चालनमा ल्याएको छोटो समयमा बन्द भएको । प्रतिस्पर्धाबाट खरिद गरिएको अक्सिजन प्लान्ट नलिई मिलेमतोमा कमसल चिनीयाँ अक्सिजन प्लान्ट खरिद गरेको खुल्न आएको छ ।

✍️पदको पूरा अवधि वित्न लाग्दासमेत केहि सुधार हुनुको सट्टा संस्था पुरै अधोगतिमा जानुलाई अवश्यनै उक्त पदमा रहन असक्षम रहेकाले उपकुलपति र रजिष्ट्रार उपर छानविन समिति गठनगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकाश दिनुपर्नेमा राप्ती प्रतिष्ठान सुधार हुनुपर्छ भन्ने माग राख्ने कर्मचारीहरुको जोड छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com