औषधिको गुणयुक्त तुलसीको पूजा गरेर एकादशी मनाइँदै


काठमाडौं । आज हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिने गरिएको छ । कार्तिक शुक्ल एकादशीमा औषधिको गुणलेयुक्त तुलसीको पूजा आराधना गरी देशभर हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आज नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको मेला लाग्ने गर्छ । पवित्र अरुणतिर संखुवासभाको मनकामना, भोजपुरको चम्पे बजारमा परपरगत मारूनी नाचसहितको मेला लाग्ने गर्दछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुतेका विष्णु ब्युँझिने मान्यताअनुसार आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ। तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ। यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। कुनै विषालु कीराले टोकेमा तुलसीको पात माडेर लगाउँदा विष कम हुने मान्यताले परम्परागत औषधिको रुपमा यसको प्रयोग हुँदै आएको छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक गंगा प्रसाद ढकाल बताउँछन्। तुलसी धार्मिकसँगै वैज्ञानिक कारण पनि लुकेको छ तुलसीले चौविसैं घण्टा अक्सिजन दिने प्रमाण भेटिन्छ । विश्वव्यापी कोरोना कालमा संक्रमितलाई तुलसी पानी र पञ्चतुलशी औषधि अचुक औषधि कार्यबाट तुलशी थप गुणीलो साबित हुन्छ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। किसानले उखु, बास वा सिमालीको लिङ्गो तुलसीको मठमा गाडी वैद्धिक विधिबाट पूजा गरी माला ढकमक्क पारी पूजा गर्ने चलन छ । आजको दिन अन्न खान नहुने भएकाले फलफूल, सखरखन्ड, पिँडालु र तरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त साथै भगवान विष्णु खुशी भई सुख प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै व्रत बस्दा र फलफूल खाँदा स्वास्थ्यका लागि निकै लाभदायी हुने चिकित्सकहरु बताउँछन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ