मेडिकल काउन्सिलका सदस्यलाई डाटा चाेरीकाे आराेप !

ई-सेवामा कसरी पुग्यो १५ हजार चिकित्सकको व्यक्तिगत नम्बर ?


काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि दुई उमेदवारले डाटा दुरुपयोग (चोरी) गरेर भोट मागेको आराेप लागेकाे छ । काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उमेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुलाई भोट मागेको आरोप लागेको छ ।

डाटा चोरीको मुख्य योजनाकार डा. खत्री भएको उनीहरुको बुझाइ छ । डा. खत्री काउन्सिल सदस्य हुन् । तर, खत्रीले आफूले डाटा चोरी नगरेको बताएका छन् । किन डाटा चोरी गरेको भन्ने स्वास्थ्य लाइभको प्रश्नमा डा खत्रीले भने, ‘मैले काउन्सिलको डाटा चोरी गरेको छैन । ई-सेवालाई चिकित्सकको फोन नम्बर दिएको थिए, उसले एसएमएस पठाउँदा काउन्सिलले प्रयोग गर्ने नम्बर परेको हो ।’

कानुनले बिनाअनुमती अरुको डाटा प्रयोग गर्नुलाई अपराध मान्छ । डाक्टर खत्री र डाक्टर कार्कीले भोट मागेको नम्बर र काउन्सिलले आफ्ना सदस्यलाई सूचना पठाउने नम्बर ३७८८८ हो । काउन्सिलको आधिकारीक नम्बर बरको दुरुपयोग गरी – सबैलाई इमेल पठाउनु गम्भीर गल्ति हो ।

काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि उपत्यकाबाहिर मंसिर ३ र ४ गते र उपत्यकामा १० र ११ गते निर्वाचन हुदैछ । यही निर्वाचनका लागि डा. खत्री र कार्कीले डाटा चोरी गरेर दुई जनालाई मात्रै भोट मागेको कुरा सामाजिक सञ्जालभर छरपस्ट छ ।

डा.खत्रीले आफूसँग नियमित सम्पर्कमा रहेका साथीहरुलाई भोटका लागि म्यासेज गरेको बताए । उनले बताएअनुसार करिब १५ हजारलाई म्यासेज गरेका छन् । उनले १५ हजारलाई म्यासेज पठाउने नम्बर कसरी पाए र सबैसँग दोहोरो संवाद थियो भन्ने प्रश्न उनीमाथि तेर्सिएको छ ।

बरिष्ठ चिकित्सक डाक्टर रामेश कोइराला सामाजिक सञ्जालमा लेख्छन्, ‘चिकित्सकलाई अनुशासित गराउने मेडिकल काउन्सिलमा चिकित्सकहरुले दर्ता गर्दा बुझाएको मोबाइल नम्बर आउँदो चुनावमा ग्रुप एसएमएस गर्नलाई त्यहीँ कार्यारत डाक्टरको हात कसरी लाग्यो ? कि स्रोत बताउँनु पर्यो कि अख्तियारको दुरुपयोग गरेको स्विकार्नु पर्यो ।’

चिकित्सकहरुले डा. खत्री र डा. कार्कीमाथी छानबिन गर्न माग गरेका छन् । गोप्य डाटा चोरी गर्ने दुवैको उमेदवारी खारेज गर्न माग गरेका छन् । सबै चिकित्सकहरुलाई ३७८८८ नम्बरबाट म्यासेज गएको छ ।

नेपाल मेडिकल काउन्सिलबाटै डाटा चोरी भएको विषयमा काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले तत्काल छानबिन गर्ने स्पष्ट पारे । डाटा चोरी गरेको भए कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । ’आफूसँग सबैभन्दा बढी ६ हजार नम्बर सेभ छ ’, रजिष्ट्रार अधिकारीले भने, ’कसरी १५ हजारलाई एसएमएस गयो यो गम्भीर विषय हो ।’, उनले यो गम्भीर विषय भएकाले यसमा छानबिन गरी कारबाही गरिने बताए ।

ई–सेवामा कसरी पुग्यो चिकित्सको व्यक्तिगत नम्बर ?

डाटा दुरूपयोग (चोरी)मा संलग्न डा. खत्रीले स्वास्थ्य लाइभसँग ई–सेवामलाई चिकित्सकको फोन नम्बर दिएको र उसले एसएमएस पठाउँदा काउन्सिलले प्रयोग गर्ने नम्बर परेको पुष्टि गरेका छन् ।

एउटा प्रयोजनका लागि चिकित्सकहरूसँग लिइएको नम्बर ई–सेवामा पुग्नु दुरूपयोग मात्र होइन काउन्सिलले गरेको अपराध हो । यो अपराधमा काउन्सिल, डा. खत्री तथा डा. कार्की र ई–सेवासमेत सजायको भागिदार हुने देखिन्छ ।

डाटाको व्यापार गर्ने एक्सटेन्सो डाटा कम्पनीसमेत खोलेको ई– सेवालाई यसरी डाटा उपलब्ध गराउँदा दुरुपयोग र व्यापार गर्ने निश्चित छ । यो गम्भीर विषय भएको चिकित्सकहरुको आरोप छ ।

तीन वर्षसम्म कैद हुनसक्छ

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १२ मा सार्वजनिक निकाय वा सङ्गठित संस्थाले सम्बन्धित व्यक्तिको मञ्जुरी लिई सङ्कलन गरेको तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन गरिएको हो सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ भन्ने प्रस्ट व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा वा शान्ति सुव्यवस्थाको प्रयोजनको लागि त्यस्तो तथ्याङ्क उपलब्ध गराउन सकिन्छ । तर मेडिकल काउन्सिलमा एउटा प्रयोजनका लागि लिइएको डाटा ई–सेवामा पु¥याएर चुनावका लागि दुरुपयोग गरेको पाइएको छ ।

उक्त ऐनले एउटा प्रयोजनका लागि लिइएको डाटा अर्को प्रयोजनमा प्रयोग गर्नुलाई अपराध मानेको छ । त्यो बमोजिमको कसूर बापत तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ व्यवस्थासमेत उक्त ऐनमा छ ।

 

डाटा दुरूपयोग गरेको विषयमा गम्भीर आरोप लागेकाले काउन्सिल र संलग्न व्यक्ति तथा संस्थामाथि छानबिन हुन आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com