अवैध टेलिभिजनपछि अवैध दिव्य फार्मेसीको धन्दामा रामदेव


काठमाडौैं । भारतीय योगगुरु रामदेवले नेपालमा अवैध रुपमा फार्मेसीको धन्दा चलाईरहेका छन् । औषधि व्यवस्था विभागले बन्द गराएको अवैध दिव्य फार्मेसीलाई वैध बनाउन रामदेव सक्रिय भएका छन् ।

सूचना तथा प्रसारण विभागमा दर्ता नगरी अवैध पतञ्जली र आस्था टेलिभिजन च्यानल सञ्चालनमा ल्याउन सफल रामदेवले यसरी नै दिव्य फार्मेसीमार्फत पनि नेपालमा औषधिको अवैध धन्दा चलाइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवामार्फत अवैध टेलिभिजन च्यानल उद्‌घाटन गराई सञ्चलनमा ल्याएर राज्य संयन्त्रलाई पंगु बनाउन सफल रामदेवको दोस्रो टार्गेट अवैध रूपमा चलिरहेको दिव्य फार्मेसी भएको सरकारी अधिकारीहरू बताउँछन् । दिव्य फार्मेसीको अवैध धन्दालाई निरन्तरता दिन योगगुरू रामदेव र आचार्य बालकृष्ण लागिपरेको पाइएको छ ।

दिव्य फार्मेसी नेपालमा अवैध रुपमा खुलेर बन्द गरिएको थियो । भारतीय ब्राण्डको उक्त फार्मेसीलाई सञ्चालन स्वीकृति दिन योगगुरू रामदेव र आचार्य बालकृष्ण चलखेलमा लागेका हुन् ।

नेपालमा २०६५ भारत उत्तराखण्डस्थित दिव्य फार्मेसीको शाखा खुलेको हो । औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर खुलेको दिव्य फार्मेसी २०७५ सालमा आएपछि अवैध भएको पुष्टि भएको थियो । दिव्य फार्मेसीले सबै कागजपत्र नक्कली बनाएर विभागमा पेश गरी अनुमति लिएको पाइएपछि विभागले बन्द गराएको हो ।

दिव्य फार्मेसी

२०७५ सालमा नवीकरणका बेला दिव्य फार्मेसीले नक्कली डकुमेन्ट पुष्टि भएपछि औषधि व्यवस्था विभागका तत्कालीन् महानिर्देशक नारायणप्रसाद ढकालले बन्द गरेका थिए । उक्त दिव्य फार्मेसी हालसम्म पनि बन्द रहेको छ । तर, दिव्य फार्मेसीको अवैध धन्दा भने बन्द हुन सकेको थिएन । अवैध रुपमा भित्रभित्रै धन्दा चलाइरहेको दिव्य फार्मेसीलाई रामदेव नेपाल आएसँगै स्वीकृति दिन राजनीतिक तहबाटै चलखेल सुरु भएको स्वास्थ्य लाइभले फेला पारेको छ ।

स्वास्थ्य मन्त्रालयमाथि अवैध फार्मेसीलाई स्वीकृति दिन उच्च राजनीतिक तहबाटै दबाब सुरु भएको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालमार्फत स्वीकृतिको कुरा उठेको छ । यसमा प्रधानमन्त्री देउवा पनि सकारात्मक छन् ।

पहिला मन्त्री बिरोध खतिवडा र पार्टी अध्यक्ष नेपाललाई प्रयोग गरेर रामदेवका नेपालस्थित व्यवसायिक साझेदार मेडिसिटी अस्पतालका सञ्चालकसमेत रहेका उपेन्द्र महतोले दिव्य फार्मेसी सञ्चालनको अनुमति दिलाउन चलखेल सुरू गरेका थिए । अहिले रामदेव नेपाल आएपछि देश नै अवैध दिव्य फार्मेसीको पछाडि लागेको छ । अवैध फार्मेसीलाई वैध बनाउन सवै दलका शीर्ष नेतालाई प्रयोग गरिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार नक्कली कागजपत्रका आधारमा दिव्य फार्मेसी सञ्चालनको अनुमति लिएको ०७५ सालमा पुष्टि भएसँगै कारबाही स्वरुप बन्द गरिएको हो । अहिले पुनः स्वीकृतिका लागि निवेदन दिएको सूचना अधिकारी केसीले स्वास्थ्य लाइभलाई पुष्टि गरे ।

 पाँच वर्षदेखि बन्द रहेको अवैध दिव्य फार्मेसीलाई सञ्चालन स्वीकृतिका लागि निवेदन दिएर स्वास्थ्यमन्त्री खतिवडा र पार्टी अध्यक्ष नेपाल, अन्य राजनीतिक दलका उच्च अधिकारीहरुसँग रामदेवका कर्मचारी पुग्न थालेका थिए । अहिले रामदेव र बालकृष्ण नेपाल आएसँगै फेरि अवैध दिव्य फार्मेसीलाई वैध बनाउन चलखेल सुरू भएको हो ।

दिव्य फार्मेसीबाट उत्पादित ६ वटा औषधिलाई गुणस्तरहीन रहेको बताउँदै बजारबाटसमेत सरकारले २०७४ सालमा तुरुन्त फिर्ता लिन निर्देशन दिएको थियो । सन् १९९५ मा दिव्य फार्मेसी र २००६ मा पतञ्जली आयुर्वेद खोलेर रामदेवले व्यापार गर्दै आएका छन् ।

नेपालमा अवैध टेलिभिजन च्यानल सञ्चालनमा ल्याउन सफल रामदेवको अवैध दिव्य फार्मेसीमा ध्यान गएकाले यसमा पनि उनी सफलता नजिक रहेका छन् । राज्य संयन्त्र नै आफूअनुकूल घुमाउन सफल रामदेवको नेपालमा अवैध धन्दा जारी रहने देखिन्छ ।

नेपालमा पतञ्जली योग तथा आयुर्वेद विश्वविद्यालय खोल्न सरकारबाट सित्तैमा जग्गा लिन रामदेव लागिपरेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com