बर्खास्त हुन लागेका वीपीका पदाधिकारी आर्थिक चलखेलमा


काठमाडौं । बर्खास्तको सिफारिस भएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी आर्थिक चलखेल र ठेक्कापट्टामा लागेका छन् ।

स्वास्थ्य लाइभले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी आर्थिक चलखेल र ठेक्कापट्टामा लागेको फेला पारेको छ ।

किर्ते प्राध्यापक उपकुलपति ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक गौरीशंकर शाहको मिलेमतोमा  करिब १६ करोड मूल्य पर्ने आइसियू र भेन्टिलेटरको ठेक्का सम्झौता गर्न खोजेको रहस्य खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले बर्खास्त गर्न सिफारिस गरेका वीपीका पदाधिकारी ठेक्कापट्टा र आर्थिक लेनदेन हुने काममा लागेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपीका पदाधिकारीलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्यबाहेक थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न/ नगराउन पटकपटक निर्देशन दिएको छ ।

प्रतिष्ठानको सहकुलपतिस्तरीय निर्णयबाट पदाधिकारीलाई थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न/ नगराउन भनेर पटकपटक निर्देशन दिइएको हो । तर त्यसलाई चुनौती दिँदै  बीपी प्रतिष्ठानका पदाधिकारीहरुले मूल्य अभिवृद्धि करबाहेक १५ करोड ८४ लाख २१ हजार २ सय मूल्यको आइसियू र भेन्टिलेटर खरिदको सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य लाइभले फेला पारेको छ । एमबी मेडिटेक प्रालीलाई उक्त टेन्डर अवार्ड गर्ने प्रक्रिया अस्पताल निर्देशक डा. शाहले अघि बढाएको फेला परेको हो ।

तत्काल सिनेट बोलाएर बर्खास्त नगर्दा वीपीका पदाधिकारीले सरकारको निर्देशनलाई चुनौती दिँदै आर्थिक चलखेलमा लागेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट पुष्टि हुन्छ । वीपी प्रतिष्ठान उच्च स्रोतका अनुसार विवादित पदाधिकारीले अन्य ठेक्कामा पनि आर्थिक चलखेल थालेका छन् । तत्काल पदाधिकारी बर्खास्त नभए ठूलो आर्थिक अनियमितता हुने सम्भावना बढेको प्रतिष्ठान स्रोतको दाबी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com