डब्ल्युएचओ नेपाल: महामारीको रणनीतिमा भन्दा राजनीतिक कार्यकर्ता भर्तीमा रमाउँदै 


काठमाडौं । विश्व कोभिड-१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को चपेटमा छ । दक्षिण अफ्रिकाबाट सुरु भएको यो भेरिएन्ट, युरोप, अमेरिका, एसिया हुँदै अष्ट्रेलियासम्म तीब्र गतिमा फैलिरहेको छ । छिमेकी राष्ट्र भारतमा ‘ओमिक्रोन’ भेरिएन्टका संक्रमित फेला परिसकेकाले नेपाल उच्च खतरामा देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपाल पनि ‘ओमिक्रोन’ भेरिएन्टको उच्च जोखिममा रहेको चेतावनी दिँदै सतर्कता अपनाउन भनेको छ । तर, डब्ल्युएचओले नेपालमा पठाएका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव भने महामारीमा स्वास्थ्यको रणनीति बनाउन भन्दा पनि राजनीतिक कार्यकर्तालाई डब्ल्युएचओमा भर्ती गर्न केन्द्रीत देखिन्छन् ।

डब्ल्युएचओले विज्ञलाई भन्दा पाण्डव जस्ता राजनीतिज्ञलाई नेपाल प्रमुखको हैसियतमा पठाएर महामारीको अवस्थामा नेपालमाथि मजाक गरेको छ । डब्ल्युएचओ प्रमुखको भूमिकामा स्वास्थ्य र महामारीसम्बन्धी प्राविधिक सहयोग (टेक्निकल सपोर्ट) गर्नुपर्ने दायित्व बोकेका पाण्डव नेपालमा राजनीतिक दलका कार्यकर्तालाई जागिर खुवाउने धन्दामा व्यस्त छन् ।

भारतीय मुलका पाण्डव अहिले डब्ल्युएचओको माथिल्लो निकाय भन्दा नेपालस्थित भारतीय राजदूतावासप्रति उत्तरदायी बनेको आरोप लागेको छ । स्वास्थ्य लाइभले डब्ल्युएचओका नेपाल प्रमुखमा पाण्डव आएपछि गरेका गतिविधि नियाल्दा उनी नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिक सहयोग गर्न होइन राजनीतिक भर्ती केन्द्र खोल्न आएको प्रस्ट हुन्छ ।

दक्ष, अनुभवी, योग्य र विज्ञलाई लिएर स्वास्थ्यमा प्रविधिक सहयोग उपलब्ध गराउने दायित्व बोकेका पाण्डवले अयोग्य, असक्षम र राजनीतिक दल तथा नेताका आसेपासेलाई भर्ती गरेर डब्ल्युएचओ र नेपाललाई बद्नाम, अपमान र मजाक बनाएको देखिन्छ ।

यी विषयमा स्वास्थ्य लाइभले डब्ल्युएचओ, नेपालका प्रतिनिधि पाण्डवसँग पटकपटक जवाफ मागेपनि उनी स्वास्थ्य लाइभको सम्पर्कमा आउन चाहेका छैनन् ।

डब्ल्युएचओ नेपाललाई पाण्डवले यसरी बद्नाम गरे

डब्ल्युएचओकोतर्फबाट सातवटै प्रदेशको संयोजकमा राजनीतिक नियुक्ति गरेर यो विज्ञहरूको होइन राजनीतिक कार्यकताको जागिर खाने ठाउँ हो भन्ने पहिचान पाण्डवले स्थापित गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भएकाबेला फोकल पर्सनका नाममा राजनीतिक कार्यकर्ता राखेको देखिन्छ । सेटिङ मिलाएर डब्ल्युएचओले सन् २०१९ को डिसेम्बरमा सातै प्रदेशमा संयोजक तोकेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

एमालेको कोटाबाट प्रदेश नम्बर एकको संयोजकमा हरिकृष्ण भट्टराई छन् । उपेन्द्र यादवको कोटाबाट प्रदेश दुईको संयोजकमा रमेश यादव, बागमती राजकुमार महतो र सुदुरपश्चिम प्रदेशमा कृष्णकुमार देवले राजनीतिक नियुक्ति खाएकाे खुलेको छ । त्यस्तै गण्डकी प्रदेश संयोजकमा एमाले कोटाबाट भानु योङदेन लुम्बिनी प्रदेशमा हरि भुषाल र कर्णाली प्रदेशमा  प्रेदीप अधिकारी छन् ।

स्वास्थ्य मन्त्रालयमा रहेको संघीय संयोजकमा भने माओवादी केन्द्रमा आस्था राख्ने स्वास्थ्य मन्त्रालयका  पूर्व कर्मचारी गिरीराज सुवेदी रहेका छन् । एक वर्षका लागि भनेर राखिएका ती कर्मचारी अहिलेसम्म पनि राजनीतिक पहुँचका आधारमा टिकिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार उनीहरूको अहिले कुनै काम र आवश्यकता छैन । तर, राजनीतिक पहुँच र प्रभावको आधारमा पाण्डवले मासिक रूपमा २ लाख ८३ हजारको जागिर खुवाइरहेको स्वास्थ्यका अधिकारीहरुको आरोप छ ।

पाण्डव र  कम्युनिकेसन कन्सल्ट्यान्ट सुनूर वर्माको कर्मचारी र नेताका मान्छेलाई जागिर दिँदै बटालियन तयार पार्दै गरेको स्वास्थ्यमा चर्चा छ । यिनीहरुले नेपालमा बसेर महामारीको क्षेत्रमा कुनै काम नगरी शंकास्पद गतिविधि सञ्चालन गरिरहेको स्वास्थ्यका उच्च अधिकारीहरुको दाबी छ । दुबैजनाले कर्मचारी र नेताका नातेदार तथा आसेपासेलाई जागिर खुवाएर सम्बन्ध विस्तार तथा चलखेलमा लागेको पुष्टि हुन्छ ।

पाण्डव र वर्माको साँठगाँठमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रेस सल्लाहकार सुदन ज्ञवालीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीसम्मलाई डब्ल्युएचओमा जागिर खुवाएका छन् । त्यस्तै स्वास्थ्य क्षेत्रकाे आइएनजिओ माफियाका रुपमा परिचित स्वास्थ्य विमा बोर्डका सदस्य डा. सुरेश तिवारीकी छोरी सुभेक्षा तिवारी, पूर्व अर्थमन्त्री युवराज खतिवडाको छोरा दिपेन्द्र खतिवडालाई पनि डब्लुएचओमा जागिर मिलाईदिएका छन् ।

डब्ल्युएचओका कम्युनिकेसन कन्सल्ट्यान्ट वर्मामाथि भारतीय दूतावासका लागि सूचना व्यवस्थापन गर्ने काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।

एसआरएचआरमा अर्को ताण्डव

पाण्डवको डिजाइनमा प्रदेशस्तरीय यौन प्रजनन् स्वास्थ्य र अधिकारको लागि विषय विज्ञता, अनुभव र योग्यता नै नभएका व्यक्तिहरूलाई अधिकृतस्तरको (एसआरएचआरमा) राजनीतिक भर्ती गरिएको छ । क्षमता र योग्यता भएका कर्मचारीलाई पाखा लगाएर राजनीतिक पहुँच र प्रभावका आधारमा ८ जनालाई एसआरएचआरमा नियुक्त गरेको  हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार स्पेशल सर्भिस एग्रिमेन्ट भनेर ४ महिनाका लागि सन् २०२० को जुलाई २६ मा विज्ञापन गरेको थियो । अगष्ट ५ गते विज्ञापनको म्याद सकियो तर, चार महिनाको अवधि भनेर राखिएको कर्मचारीलाई अहिलेसम्म पनि एसआरएचआरको पदमा जागिर खुवाइरहेको छ ।

डब्ल्युएचओका एकजना उच्च अधिकारीअनुसार एसआरएचआरको पदमा ६ वटा पदको लागि विज्ञापन निकालेर ८ जना भर्ती गरिएको छ । ४ महिना को अवधि राखेर विज्ञापन निकालेकोमा नियुक्ति दिँदा एक वर्षको लागि दिएको हो ।  प्रदेशस्तरीय एसआरएचआरमा नीति तथा नियम बनाउने विषयमा प्राविधिक सहयोग गर्न नसक्ने व्यक्तिलाई भर्ती गरिएको  आरोप लागेको छ ।

यौन प्रजनन् स्वास्थ्य र अधिकारको क्षेत्रमा काम गर्न आठ जना अधिकृत नियुक्ति गर्ने डब्ल्युएचओका  डा. विनोद गुप्ता, अमृता कञ्चकल, नर्भु र योगेश राजभण्डारी भएको खुल्न आएको छ । अमृता कञ्चकल भारतीय दुतावासकी मान्छे हुन् भने नर्भु भुटानका नागरिक हुन् । यिनीहरुको सेटिङमा कम ज्ञान , अनुभव र योग्यता नै नपुगेका व्यक्तिलाई मासिक दुई लाख खाने गरी एसआरएचआरमा नियुक्ति गरिएको डब्ल्युएचओ स्रोतको दाबी छ ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दबाबमा एक नम्बर प्रदेशमा प्रतिक्षा दाहाल एसआरएचआर बनेकी हुन् ।विज्ञापनमा विपिएच गरेको कम्तिमा पनि तीनवर्ष भएको हुनुपर्ने र सम्बन्धित प्रदेशको व्यक्तिलाई प्राथमिकता दिने उल्लेख थियो । तर प्रदेश नम्बर दुईमा गण्डकीका विनय बाँस्तोलालाई एसआरएचआर नियुक्त गरिएको छ । उनले विपिएच सन् २०१८ मा सकेका हुन् । लुम्बिनी प्रदेशको एसआरएचआरमा नियुक्त प्रगति जोशीको पनि विज्ञापनअनुसार एसआरएचआर बन्न योग्यता पुग्दैन । मनमोहन कलेजमा विपिएच गरेकी जोशी सन् २०१९ मा पास आउट हुन् ।

बाग्मती प्रदेशका लागि एसआरएचआरमा विज्ञापन नगरिए पनि कुनै ज्ञान नभएका एमालेको कार्यकर्तालाई नील धिताललाई भर्ती गरिएको छ । गण्डकी प्रदेशको एसआरएचआरमा यसबारे कुनै ज्ञान र जानकारी नभएका शुरेस देवकोटालाई नियुक्त गरिएको छ ।

कर्णाली प्रदेशको एसआरएचआरमा यसमा अनुभव नै नभएको मनमोहन कलेजमा पढाउने सबिता जिसीलाई राजनीतिक भर्ती गरिएको देखिन्छ । सूदूरपश्चिम प्रदेशको एसआरएचआरमा आइपासमा कार्यरत शंकर धामीलाई डा. गुणराज अवस्थिको दबाबमा नियुक्त गरिएको हो । एसआरएचआरमा कुनै पनि छनौट प्रक्रियामा भाग नलिएकी अलिजा सिंह काठमाडौंमा नियुक्त गरिएको छ ।

डब्ल्युएचओमा कमजोर क्षमताका स्वास्थकर्मी त्यसमा पनि ९३ प्रतिशत बंगलादेश, थाइल्याण्ड, इन्डोनेसीया, चीन, फिलिपिन्समालगायतका देशमा पढेर आएका भर्ती भएका छन् । कमजोर व्यक्ति डब्ल्युएचओमा आवद्ध हुँदा स्वदेशका बीपी कोइराला धरान, शिक्षण अस्पताल महाराजगञ्ज जस्ता अन्तर्राष्ट्रियस्तरका मेडिकल कलेजमा पढेकाले ठाउँ पाएका छैनन् ।  नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा सबैभन्दा बढी फेल हुने डब्ल्युएचओमा भर्ती भएकाले सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउनेमा आशंका गरिएको छ ।

अयोग्य र कमजोर क्षमता भएका जनशक्तिले भरिएको डब्ल्युएचओ, नेपालले सरकारलाई दिइएको सुझाव र सहयोगको प्रभावकारितामाथि नै प्रश्न उठ्ने अवस्था आएको छ ।

यता पाण्डवले ‘टेक्निकल सपोर्ट’ गर्न छाडेर सचिव खुसी पार्न ल्यापटपदेखि टिभीसम्म उपहार दिने गरेका छन् । तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालले ती कतिपय सामान निजी बनाएर लगेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

कोरोना जस्तो महामारीमा खोप, परीक्षण उपकरण र अन्य प्राविधिक सहयोगमा भूमिका खेल्नु पर्ने पाण्डवले ल्यापटप, टिभी, स्पीकर, मिक्सर, एम्पलीफायर, माइक्रोफोन,ऐन्टिना, फ्टवेयरको लाइसेन्स, पार्केटिङसहित ६० लाख मूल्य बराबरको अनावश्यक सामान बाँड्दै हिँडेका हुन् ।

डब्ल्युएचओ, नेपालका प्रमुख पाण्डवको भूमिका र क्षमतामाथि प्रश्नै प्रश्न उठेकाले उनीमाथि डब्ल्युएचओले एक्सन लिन आवश्यक देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com