६ मेडिकल कलेजका लागि ५ वर्षे एमबिबिएस काेर्षकाे “गीता” तयार हुँदै


काठमाडौं । एमबिबिएस पठनपाठन सुरु गर्न लागेका ६ प्रतिष्ठानले ५ वर्षे एमबिबिएस पाठ्यक्रमको गीता तयार गर्न थालेका छन् । चिकित्सा विद्याका हस्तिहरुकाे उपस्थितिमा ५ वर्षे एमबिबिएस पाठ्यक्रमको गीता तयार पार्नेकाम भइरहेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाठ्यक्रम तयार पार्नेकाम भइरहेको छ ।

सरकारले ३०० शय्या माथिको अस्पतालमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्न दिने नीति लिएपछि ६ सरकारी प्रतिष्ठानले पठनपाठन सुरु गर्न नयाँ पाठ्यक्रम तयार पार्न थालिएको डा अशेष ढुङ्गानाले बताए । देश र भूगोलकाे आवश्यकता हेरेर प्रतिष्ठानले सोही अनुसारको पाठ्यक्रम निर्माण गर्ने ढुङ्गानाले बताए ।

अधिकारीहरूका अनुसार देशको आवश्यकता र मागलाई पूर्ति गर्ने चिकित्सक उत्पादन गर्ने विषयमा पनि कार्यक्रममा व्यापक बहस भएको छ । कस्ता चिकित्सक निकाल्ने त्यहीँ अनुसारको पाठ्यक्रम बनाउनु पर्ने देखिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्राध्यापक डा भुपेन्द्र बस्नेतका अनुसार एमबिबिएस पठनपाठन सुरु गर्न ६ प्रतिष्ठान तयार भएकाले सहजताका लागि संयुक्त छलफल गरि नयाँ पाठ्यक्रम तयारी गर्न थालिएको हो ।

एमबिबिएसका लागि कस्तो पाठ्यक्रम आवश्यक पर्छ भनेर चिकित्सा शिक्षा आयोगले खाका तयार पारेको छ, त्यहीँ भित्र रहेर आवश्यकताको पहिचानका आधारमा थपघट गरिने छ ।

प्रतिष्ठान आफूले तयार पारेकाे पाठ्यक्रममा विज्ञको थप राय सुझावलाई समेटेर पाठ्यक्रमलाई अन्तिमरूप दिइने छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसको पाठ्यक्रम अहिलेको समय सापेक्ष तयार हुने बताए । उनले एउटा एमबिबिएस अध्ययन गरेको चिकित्सकले बेसिक कुरा जान्नु पर्छ भन्ने उद्देश्य राखेर पाठ्यक्रम तयार हुने बताए ।

६ प्रतिष्ठानबाट १ सय भन्दा बढी विज्ञहरूले राय सुझाव दिएका छन् । सरकारले नयाँ ६ वटा प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्दा ४ सय ५० गरिब तथा जेहनदार विद्यार्थीले निशुल्क डाक्टर बन्न पाउने छन् ।

राज्यले नयाँ मेडिकल कलेज खोलेर खर्ब बढि लगानी गर्नु भन्दा १० – २० करोड खर्च गरेर ६ प्रतिष्ठानमा चाडै एमबिबिएसको पठनपाठन सुरु गर्नु राम्रो हुने अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ