फेरी बिरामी नेताको हातमा देश जाने जोखिम, कुन नेतालाई के रोग छ ?


काठमाडौं । स्वास्थ्य नै ठूलो धन हो । यो भनाई हरेकका मुखमा छ । मान्छे स्वास्थ्य भए देश स्वस्थ्य हुन्छ । त्यसका लागि पहिला देश संचालन गर्ने नेताहरु स्वस्थ हुनुपर्छ । तर, हाल निर्वाचनमा होमिएका सबैजसो नाम सुनिएका नेताहरु रोगी छन् । उनीहरुकै हातमा यसपटक पनि देश संचालनको चाबी पर्ने सम्भावनाहरु धेरै देखिएका छन् ।

अधिकारीहरु भन्छन्, ’देश सञ्चालनको जिम्मेवारी बोकेका नेता शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुनुपर्छ । अधिकांश नेताहरुको बास धेरै जसो अस्पतालको शय्यामा हुने गरेको छ । अस्पतालको शय्याबाट देश संचालन गरिरहेका छन् ।’, जसरी नेता बिरामी भएर अस्पतालको शय्यामा छन् देश पनि त्यसैगरी बिरामी भएर कोमामा पुगेको छ । कोमामा पुगेको देशलाई अहिलेका कुनै पनि नेताले बाहिर ल्याउने ल्याकत राख्न सकेका छैनन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२–६३ पछि एक दशकभित्र राज्यले पहुचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो रकमले स्वदेशमै नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो । राज्यको ढुकुटीबाट खर्च गर्नेहरु अहिले पनि राजनीतिक नेतृत्वको वरिपरी छन् । स्वास्थ्यका एक जना अधिकारीले भने, ‘रोगी नेताहरुले देशको नेतृत्व गरेका छन् । स्वास्थ्य उपचार निशुल्क गराउनकै लागि भएपनि शिर्ष नेता शक्ताको पेरिफेरीमा हुन्छन् ।’,

प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, उपेन्द्र यादव, कमल थापा, सुजाता कोइराला, वर्षमान पुनलगायतका शीर्ष नेताहरु पिसाब पोल्दा पनि उपचार गराउन विदेश जाने गरेका छन् । यी र यिनीहरु जस्ता कयौं नेताहरु फेरी पनि प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर हरेकका घर–घरमा पुगेका छन् ।

शेरबहादुर देउवा, प्रधानमन्त्री

तस्विरः सामाजिक संजाल

नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पेट र उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । देउवा सिंगापुरमा पेटको नियमित परीक्षण गराउछन् । पिसाब पोल्दा मात्रै पनि देउवा विदेश उपचारका लागि जाने गरेका छन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रत्यक्ष निर्वाचन लडेर पुनः प्रधानमन्त्री हुने सोचमा छन् ।

केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री

तस्विरः सामाजिक संजाल

ओलीको दुवै मिर्गौलाले काम नगरेपछि उनले मिर्गाैला प्रत्यारोपण गराएका छन् । स्यालुलाइटिस भनिने छालाको संक्रमण र पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढिरहन्छ । ओलीको दश वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यस पछि दोस्रोपटक शिक्षण अस्पताल महाराजगंजमा प्रत्यारोपण गराएका छन् । उनै ओली अहिले नेकपा एमालेका अध्यक्ष छन् । पुनः प्रतिनिधिसभा निर्वाचनमा झापाबाट प्रत्याक्ष चुनाव लड्दैछन् । देशको प्रधानमन्त्री हुने चाहना ओलीमा अझै देखिन्छ । स्वास्थ्य समस्याकै कारण खानामा मुख बार्ने गरेका ओली निर्मलीकरण गरेका भाडामा मात्रै खाना खान्छन् ।

पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री

तस्विरः सामाजिक संजाल

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सककोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण रक्तचाप र सुगर प्रायः नियन्त्रणमै रहन्छ । प्रचण्ड चितवन ३ मा निर्वाचन लड्ने भएपनि राप्रपा नेता बिक्रम पाण्डेले जित्ने देखेपछि गोरखा सरुवा भएका छन् । उनी पनि निर्वाचनपछि प्रधानमन्त्री हुने दाउमा छन् ।

माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री

तस्विरः सामाजिक संजाल

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उनमा उच्च रक्तचाप पनि छ । नियमित योग र व्यायाम गर्छन । बेला–बेलामा निमोनिया र पिसाबको संक्रमणले पनि दुःख दिन्छ । उनलाई हेल्पिङ ह्यान्डस सामुदायिक अस्पतालका चिकित्सक डा गुप्तबहादुर श्रेष्ठले हेर्दै आएका छन् । नेपाल यसपटक पनि निर्वाचन लड्ने भएका छन् ।

झलनाथ खनाल, पूर्वप्रधानमन्त्री

तस्विरः सामाजिक संजाल

चिकित्सकले बताए अनुसार झलनाथ खनाल राति सहयोगीबिना भित्र–बाहिर गर्न सक्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन् । विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो । उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रूपमा आँखा नदेख्ने रोगले गाँज्यो । हाल मिर्गौला प्रत्यारोपण गरिएको छ । उनी अहिले पनि सहज रुपमा हिडडुल गर्न सक्दैनन् । खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित परीक्षण गराउछन् । खनाल यस पटक पनि इलामबाट निर्वाचन लड्दैछन् ।

डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री
डा. बाबुराम भट्टराईलाई उच्च रक्तचापको समस्या छ । रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन् । यसपटक निर्वाचन नलड्ने भएका भट्टराईले छोरीलाई काठमाडौं ७ मा उठाएका छन् ।

उपेन्द्र यादव पूर्व स्वास्थ्यमन्त्री

उपेन्द्र यादव मधुमेहबाट पीडित छन् । उनी दैनिक मधुमेहको औषधि लिन्छन् । व्यायाम र आरामका लागि समय मिलाउन गाह्रो हुने भएकाले उनी खानपिनमा भने विशेष ध्यान दिन्छन् । यादव पुनः सप्तरीबाट निर्वाचन लड्दैछन् ।

रामचन्द्र पौडेल

लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ । यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिन्छ । प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गर्छन । केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए । पौडेल हाल तनहुमा निर्वाचन लड्दैछन् ।

कृष्णप्रसाद सिटौला

मुटुको शल्यक्रिया गराएका सिटौलालाई उच्च रक्तचाप, सुगरका साथै खुट्टा झमझमाउने समस्या छ । अस्वस्थ भएर पनि उनी यस पटक फेरी झापाबाट निर्वाचन लड्दैछन् ।

महन्थ ठाकुर

महन्थ ठाकुरको केही वर्षअघि भारतको दिल्लीमा मुटुमा पेसमेकर राखिएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित ठाकुर पेसमेकर राखेपछि पनि नियमित रूपमा औषधि खान्छन् । उच्च रक्तचाप र मधुमेहको औषधि पनि खान्छन् । उनी पनि निर्वाचनमा होमिएका छन् ।

सुजाता कोइराला
पूर्व परराष्ट्रमन्त्री भएकी सुजाता कोइराला क्यान्सरबाट पीडित छन् । क्यान्सर भएपछि उनको केही वर्ष अगाडि मात्रै स्तनको शल्यक्रिया गरिएको छ । सुजाताको पाठेघर र स्तनको क्यान्सर एकसाथ भएको हो । उनी नियमीत उपचारमा छन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## बिरामी नेता, ##NO NOT AGAIN, ##nonotagain, ##बिदेशमा उपचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com