कोरोना महामारीमा स्वास्थ्य लुट्ने ओम्नी निर्वाचनमा इश्वरीमार्फत पुन: सक्रिय


काठमाडौं । कोरोना भाइरस( कोभिड-१९) महामारीमा स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रालय लुटेको ओम्नी ग्रुप निर्वाचन आयोगमा पुन: सक्रिय बनेको छ । अघिल्लो निर्वाचनमा सेकेन्ड ह्यान्ड प्रिन्टर निर्वाचन आयोगलाई बेचेर लुट मच्चाएको ओम्नी समूहका तुलहरि आयुक्त इश्वरी प्रसाद पौडेलमार्फत निर्वाचनमा सल्बलाउन थालेका छन् ।

ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल र आयोगकै उच्च अधिकारीबीच फेरि निर्वाचन आयोगमा ओम्नी समूहले रजगज चलाउन खोजिरहेको हो ।

कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा स्वास्थ्य मन्त्रालय र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई बदनाम गराएको ओम्नी समूहले अहिले हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग र सरकारलाई त्यसैगरी बदनाम गराउन ओम्नीको तुलहरि अदृश्य रुपमा सक्रिय भएको पाइएको छ । ओम्नीले आयोगलाई करिब २५ करोडमा भिडाएको सेकेन्ड ह्यान्ड प्रिन्टर काम नलाग्ने र विभिन्न किसिमका कार्ड, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धी विभिन्न निर्वाचन सामग्री छपाइ गर्ने कम्पनीलाई सूचीकरण हुन आह्वान गरेपछि ओम्नीका तुलहरिको सक्रियता बढेको देखिन्छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छोटो समयमै धेरै छपाइ गर्नुपर्ने भएकाले प्राविधिक कारणले ओम्नीसँग किनेका ती मेसिन अहिले प्रयोग गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिएसँगै तुलहरिसहित ओम्नी समूहका मान्छेहरू आयोगमा चलखेल गर्न अदृश्य रुपमा सक्रिय भएका हुन् ।

पशुपति धर्मशाला, नारायणहिटी दरबार संग्रहालय र मणिपाल शिक्षण अस्पतालमा विवादित बनेको बतास समूहको  व्यवस्थापन कांग्रेस कोटाबाट निर्वाचन आयोग छिरेका इश्वरी प्रसाद आयुक्त  पौडेलसँग साँठगाँठमा आयोगमा ओम्नी समूह सल्बलाएको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगबाट मतदाता परिचयपत्र छपाइका लागि ओम्नी समूहले ठेक्का पाएको थियो । उक्त काम सकिएपछि ओम्नी समूहले मतदाता परिचयपत्र छपाइमा प्रयोग गरिएका छपाइ मेसीन(प्रिन्टर) निर्वाचन आएकालाई नै सेटिङमा महँगो मूल्यमा बेचेको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजन आयोगले ती प्रिन्टर ओम्नीसँग किनेको हो । तर छपाइको काम भने जनशिक्षा सामग्री केन्द्रलाई दिएको थियो । महालेखा परीक्षकको कार्यालयको ५५ प्रतिवेदनले पनि उक्त कुरा औंल्याएको छ ।

निर्वाचन आयोगले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि २०६४ असोजमा करिब २५ करोड हालेर तीनवटा प्रिन्टर खरिद गरेको देखिन्छ । तर अहिले आयोगले ती प्रिन्टर प्रयोग गर्न नसक्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सभाको  उपनिर्वाचन र निर्वाचनमा ती उपकरणबाट मतपत्र छापिने अवस्था नेदेखेपछि जनकशिक्षा सामग्री केन्द्र लिमिटेडबाट मतदाता नामावली र मतपत्र छपाइँको काम गरिएको थियो ।

निर्वाचनको मौका छोपेर आयोगले रंगिन प्रिन्टर मेसिन एक थान र श्याम स्वेत प्रिन्टर मेसिन दुई थानगरी तीन थान उपकरण २४ करोड ६७ लाख २४ हजार २ सय रुपैयाँ हालेर सीधै खरिद गरेको थियो । निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार आयोगले आफूसँग रहेका १३ थान प्रिन्टर मर्मतगरी सञ्चालन गर्न बाधा परेको कारण देखाई बढी क्षमताका रंगिन प्रिन्टर एक थान र श्याम स्वेत प्रिन्टर दुई थान खरिद गर्न २६ करोड रुपैयाँ रकमान्तर गरिएको थियो । निर्वाचन प्रयोजनका लागि उपकरण खरिद गर्नुपर्ने भएपछि तत्काल रकमान्तर गरेर भुक्तानी गरिएको थियो ।

१० रुपैयाँ ५० पैसामा छपाइ गर्न ठेक्का पाएको ओम्नीलाई १४ रुपैयाँ प्रतिकार्ड  भुक्तानी गर्ने काम आयुक्त पौडेल र तत्कालीन सचिव बेगेन्द्रराज शर्मा पौडेलको सेटिङमा भएको आयोगमा चर्चा चल्दै आएको छ ।  ओम्नीसँग सेटिङ मिलाउनै तत्कालीन सचिवहरु शारदा प्रसाद त्रिताल र गोपीनाथ मैनालीलाई छोटो समयमै आयोगबाट सरुवा गरेर सचिव शर्मालाई ल्याइएको पुष्टि भएको छ ।

ओम्नीले यसरी भिडायो सेकेन्ड ह्यान्ड प्रिन्टर 

निर्वाचन आयोगले मतदाता परिचयपत्र छपाइँको ठेक्का विवाप्रतिस्पर्धा ओम्नीलाई दिएको थियो । पाँच रुपैयाँमा हुने कामलाई १३ रुपैयाँ लाग्नेगरी ओम्नीले डेढ करोड भन्दा बढी मतदाता परिचयपत्र छाप्नका लागि आयोगबाट २२ करोडको ठेक्का हत्याएको थियो । मतदाता परिचयपत्र छाप्नका लागि उसले प्रिन्टर खरिद गरेर ल्याएको थियो र त्यही प्रिन्टरबाट परिचयपत्र छापेको थियो । त्यही शिलसिलामा आयोग प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतदाता नामावली र मतपत्र छाप्ने जिम्मा दिने तयारीेमा थियो ।

आयोगका तत्कालीन एक उच्च अधिकारीका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधी यादव र आयुक्त इश्वरीप्रसाद पौडेल र ओम्नीको तुलहरि सिंहको मिलेमतोमा मतदाता परिचयपत्र छपाइँमा प्रयोग गरेको ओम्नीको उपकरण खरिद गर्नेगरी सेटिङ मिलाइयो । छपाइँको जिम्मा जनक शिक्षाले पाएपनि आर्थिक चलखेलको आधारमा ओम्नीले आयोगलाई सेकेन्ड ह्यान्ड प्रिन्टर बेच्यो ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा प्रिन्टर खरिदका लागि आयोगमा दररेटको प्रस्ताव पेश गर्ने कम्पनीहरु ओम्नी विजनेश कर्पोरेट ई. प्रालि, शास्त्र नेटवर्क सोलुसन इन्क र इमाजिन टेक्नोलोजिज प्रालि एउटै ग्रुपसँग आवद्ध रहेकाले सेटिङ मिलाएर नै उपकरण खरिद गरेको देखिन्छ ।

तुलहरि- सुमन

शास्त्र नेटवर्क सोलुसन इन्क ओम्नी विजनेश कर्पोरेट ई. प्रालिकै सहायक कम्पनी हो । शास्त्रमा ओम्नीका मालिक तुलहरि सिंहकी श्रीमती सुमन सिंह र उनका विजनेस पाटर्नर किशोर पन्थकी श्रीमती कन्चना पन्थको मुख्य सेयर रहेको छ । त्यस्तै इमाजिन टेक्नोलोजिज प्रालि ओम्नी ग्रुपमा आवद्ध उत्तम लुइटेलको स्वामित्वमा रहेको कम्पनी हो । लुईटेल अहिलेपनि ओम्नी ग्रुपमा नै कार्यरत छन् ।

किशोर-कन्चन

प्रिन्टर खरिदका लागि मिलेमतोमा ओम्नीले २४ करोड ६७ लाख २४ हजार २ सय रुपैयाँ , शास्त्र नेटवर्क सोलुसन इन्कले २६ करोड ४२ लाख ७५ हजार ३ सय ६० र इमाजिन टेक्नोलोजिज प्रालि २६ करोड १३ लाख ६९ हजारमा आपूर्ति गर्नगरी प्रस्ताव हालेको देखिन्छ । ओम्नीग्रुपसँगै जोडिएका शास्त्र र इमाजिनले हालेको प्रस्तावमा २९ लाखको फरक रहेका छ भने ओम्नीले हालेको प्रस्ताव दुवै कम्पनीको भन्दा करिब दुई करोड कम छ।

खरिद ऐनको दफा ६२ मा उल्लेख भएको बोलपत्रदाताको आचरणविपरीत प्रस्ताव हाल्ने कम्पनीलाई कालोसूचिमा राख्नुपर्नेमा संवैधानिक आयोगले नै सार्वजनिक खरिद कानुनविपरीत सेटिङ र मिलेमतोमा अयोग्य कम्पनीसँग उपकरण खरिद गरी राज्य कोषमाथि हानी नोक्सानी पुर्याएको खुल्न आएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ मा उल्लेख भएको बोलपत्रदाता वा प्रस्तावदाताको आचरणविपरीत फर्म/कम्पनीहरुबीचको मिलेमतोमा प्रस्ताव हालेको भएपनि आयोगले उल्टै कमसल उपकरण खरिद गरी अनियमितता गरेकोे हो ।

आयोगको २०७४ असोज १९ गतेको निर्णयले मुल्य अभिबृद्धि करसहित २६ करोड ७६ लाख ८८ हजार लागत अनुमान राखेर प्रिन्टिङ मेसिन खरिद गर्ने र प्राविधिक स्पेसिफिकेसन्स स्वीकृत गर्ने निर्णय देखिन्छ । शास्त्र र इमाजिनले निर्वाचन आयोगले गरेको लागत अनुमान हाराहारीमा नै प्रस्ताव हालेको र ओम्नीले त्यो भन्दा कममा प्रस्ताव हालेर ठेक्का हत्याएको खुलासा भएको छ । आयोगको सम्बन्धित महाशाखाले उठाएको टिप्पणीमा प्रिन्टर खरिद गर्नका लागि दररेट पेश गर्ने कम्पनी/फर्म मध्ये ओम्नीबाट दररेट सबैभन्दा कम रहेको र उपकरण खरिद गर्न उपयुक्त उल्लेख सो उपकरण खरिदका लागि प्रस्ताव पेश गरेको देखिन्छ ।

आयोगले निर्वाचन सामग्री छपाइसम्बन्धी अधिकांश काम समाप्त भइसकेपछि निर्वाचनको उत्तरार्धमा रंगिन प्रिन्टर एक थान र श्याम स्वेत प्रिन्टर दुई थान उपकरण खरिद गरेको महालेखाले जनाएको छ । मेसिनको पार्टस, टोनर खरिद र जडान गर्ने कार्य बिलम्बगरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराएको महालेखाले ५८ औं वार्षिक प्रतिवेदनले औँल्याएको छ । महालेखाले पनि आयोगले प्रिन्टर खरिद गर्दा प्रतिस्पर्धाको प्रयास नै नगरी सीधै खरिद गरेको ठहर गरेको पाइन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #इश्वरी प्रसाद पौडेल, #ओम्नी, #किशोर पन्थ, #तुलहरि, #निर्वाचन आयोग, #प्रिन्टर, #सेटिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com