कोरोनाको मौका छोप्दै इन्द्र चाम्लिङले सरकारी जग्गा हडपेको पुष्टि


काठमाडौं । कोभिड-१९ (कोरोना)को मौका छोप्दै भूमाफिया इन्द्रकुमार चाम्लिङले बानेश्वर देवीनगरस्थित सरकारी जग्गा हडपेर संरचना बनाएको पुष्टि भएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नम्बर १० का प्रतिनिधिहरुको उपस्थितिमा प्राविधिकहरुले गरेको रेखाङ्कनमा चाम्लिङले सरकारी जग्गा हडपेर संरचना खडा गरेको पुष्टि भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको रेखाङ्कनमा चाम्लिङलगायतले हडपेको सरकारी जग्गा छुट्याउने काम भएपनि महानगरले डोजर लगाउन सकेको छैन । उनी उल्टै सरकारी जग्गामा बनाएको अवैध संरचना भाडामा लगाउन सक्रिय छन् ।  जिल्ला प्रशासन कार्यालय,  काठमाडौंले स्मार्ट लकडाउन गरेको मौका छोप्दै भूमाफिया इन्द्रकुमार चाम्लिङले बानेश्वर देवीनगरस्थित सार्वजनिक जग्गा कब्जा गरी सटर हालेका थिए । उक्त विषयमा जिल्ला प्रशासन कार्यालयले समेत चासो दिएको थियो । तर वडा कार्यालयको असहयोगका कारण सरकारी जग्गामा अनधिकृत संरचना बन्न रोकिएन ।

काठमाडौं महानगरपालिकाले नापी कार्यालयसँगको समन्वयमा गरेको रेखाङ्कनमा भूमाफिया चाम्लिङले कित्ता बानेश्वर देवीनगरको  सार्वजनिक/ सरकारी उल्लेख भएको कित्ता नम्बर ४०९, ५४९, १०७, ६५, ५५३, ५४७, ७७१,७७२ कब्जा गरेर सटर हालेर संरचना बनाएको देखाएको छ । उनले ती सरकारी जग्गामा ८ वटा अनधिकृत संरचना बनाएर भाडा खाइरहेका छन् ।  यो विषयमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पटकपटक जानकारी गराइसकेका छन् । तर महानगरले अहिलेसम्म डोजर लगाएको छैन ।

सँगैको सुकुम्बासी बस्तीमा समेत ३ वटा घर बनाएर भाडा खाइरहेका चाम्लिङ दसैँ गयो, तिहार पनि जान्छ, चुनाव पनि जान्छ त्यसपछि बालेन आफैं जान्छ  कसैले केही गर्न सक्दैन भनेर हिँड्न थालेको स्थानीयहरू बताउँछन् । खुकुरी र बन्दुक देखाएर सरकारी जग्गा हडप्ने चाम्लिङ राजनीतिक दलका नेताहरूलाई आफ्नो रजगज कायम राख्न आर्थिक प्रलोभन समेत दिन थालेका छन् ।  उनी प्रायजसो उम्मेदवारलाई मेरो पक्षमा उभिदिनु पर्यो चुनावमा कति खर्च लाग्छ म बेहोर्छु समेत भन्न थालेका छन् । स्वास्थ्य लाइभले खोजी गर्दा उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने अधिकांश उम्मेदवारलाई चाम्लिङले उक्त प्रस्ताव गरेको खुल्न आएको हो ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## इन्द्र चाम्लिङ, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com