असोज लागेपछि ७ सहसचिव दिए राजीनामा


काठमाडौं। असोज लागेपछि ७ सहसचिव राजीनामा दिएका छन्। ३० वर्ष बढी सेवा अवधि पुगेका सहसचिवहरू शंकरहरि आचार्य, योगेन्द्रप्रसाद पाण्डे, जनार्दन गौतम, केदारनाथ शर्मा, उद्धवप्रसाद रिजाल, झनककुमार खत्री र चन्द्रप्रसाद भुसालले राजीनामा दिएका हुन्। उनीहरूको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगिसकेको छ।

३०-५५ लागू हुनेगरी कानुन आउन लागेपछि पछिल्लो एक हप्तामा ७ जना सहसचिवले राजीनामा दिएका हुन्। राष्ट्रिय राष्ट्रिय समावेशी आयोगको सचिवको जिम्मेवारी सम्हाले लगत्तै सहसचिव शंकरहरि आचार्यले राजीनामा दिएका हुन्। ५८ वर्ष पूरा हुन एक वर्ष बाँकी रहेका आचार्यले ३० वर्ष बढीको पेन्सन जोगाउने उदेश्यले राजीनामा दिएका छन्। आचार्यको जागिर २०८४ कार्तिक ६ गतेसम्म थियो। ३०-५५ तत्काल लागू भए गुम्न सक्ने पेन्सन जोगाउन आचार्यले हतारहतार राजीनामा दिएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्रप्रसाद पाण्डेले पनि राजीनामा दिएका छन्। पाण्डे र आचार्यको जागिर अर्को वर्ष कार्तिकसम्म मात्र हो। एकैपटकका सहसचिव आचार्य र पाण्डेले एकैचोटी जागिरबाट राजीनामा दिएका हुन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी सिडिओ) सहसचिव जनार्दन गौतमले पनि केही दिन अगाडि राजीनामा दिएका हुन्। बैशाख पहिलो हप्तासम्म जागिर रहेका गौतम पेन्सन जोगाउन राजीनामा दिएका छन्।

त्यस्तै कोशी प्रदेशको योजना आयोगका सचिव उद्घवप्रसाद रिजालले समेत राजीनामा दिएका छन्। ३ वर्ष बढी जागिर बाँकी छँदै सहसचिव रिजालले राजीनामा दिएका हुन्। रिजाल माघ १० मात्र ५५ वर्ष पूरा हुँदै थिए। ३० वर्ष बढीको पेन्सन जोगाउन हुनसक्छ उनले पनि राजीनामा दिएका छन्।

फागुनमा ५८ वर्ष पूरा हुन लागेका ठूला करदाता कार्यालयका प्रमुख केदाननाथ शर्मा राजीनामा दिएर हिँडेका छन्। ५८ वर्ष पूरा हुनुभन्दा ५ महिना अगाडि नै सहसचिव शर्माले राजीनामा दिएपछि ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा अर्थ मन्त्रालयले ४६ वर्षका सहसचिव प्रेमप्रसाद आचार्यलाई खटाइसकेको छ।

सहसचिव भएको एक वर्ष नपुग्दै झनककुमार खत्री र चन्द्रप्रसाद भुसालले राजीनामा दिएका छन्। एक वर्षबाट ओरालो जागिर लागेका दलित आयोगका सचिव खत्रीले पेन्सन जोगाउन राजीनामा दिएका हुन्। सहसचिव खत्रीको जागिर आगामी भदौ १६ गतेसम्म रहेको थियो। ११ महिना जागिर छँदै उनले राजीनामा दिएका हुन्।

खत्रीसँगै चैतमा सहसचिवमा बढुवा भएका चन्द्रप्रसाद भुसालले ६ महिनामै राजीनामा दिएका छन्। सहसचिव भएपछि घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका भुसाल साउनमा मात्र हाजिर भएका थिए। दुई महिना घोराहीमा काम गरेपछि उनले राजीनामा दिएका हुन्। लेखाको उपसचिवबाट सहसचिवमा बढुवा भएका भुसालको ६ महिना पनि जागिर बाँकी छैन। पेन्सन गुम्ने टेन्सनले भुसालले पनि खत्रीसँगै राजीनामा दिएर बाटो तताएका छन्।

अहिले ३०-५५ पूरा भएका अधिकांश सहसचिवहरू काम गर्ने मुडमा देखिँदैनन्। पद ओगटेर बस्नुभन्दा यसरी राजीनामा दिँदा व्यक्ति स्वयं र राज्यलाई फाइदा पुग्ने देखिन्छ। काम गर्ने इच्छा मरिसकेका कर्मचारीले मार्ग प्रसस्त गर्नु नै जगतको भलो हो।

क्याटेगोरी : समाचार
ट्याग : #उद्धवप्रसाद रिजाल, #केदारनाथ शर्मा, #चन्द्रप्रसाद भुसाल, #जनार्दन गौतम, #झनककुमार खत्री, #योगेन्द्रप्रसाद पाण्डे, #शंकरहरि आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ