स्वास्थ्यका ‘अब्बल’ महिला नेतृत्व 


काठमाण्डौं । दश वर्ष अगाडिसम्म राज्यको नीति निर्माण तहमा पुग्ने महिला पाउन ‘सिला’ खोज्नु पर्थ्यो। तर, अहिले त्यति बेलाको जस्तो अवस्था छैन । पछिल्लो समय राज्यको नीति निर्माण तहमा महिलाको संख्या उल्लेख्य छ । पुरुषको संख्या क्रमश घट्दै गएको देखिन्छ भने, महिलाको उपस्थिति बाक्लिदो क्रममा देखिन्छ ।

महिलाको नेतृत्व स्वीकार्न नसक्ने पुरुष र राज्य सत्ता बिस्तारै महिलाको कामप्रति आकर्षित बन्दै जान थालेका छन् । जसले गर्दा नेतृत्व सम्हाल्ने महिलाहरु बढ्न थालेका छन् । यता स्वास्थ्य क्षेत्रमा नेतृत्व गर्ने महिलाको संख्या उल्लेख्य नभएपनि समग्रमा महिलाको आकर्षण सन्तोषजनक रहेको देखिन्छ ।

स्वास्थ्यको विभिन्न जिम्मेवारी सम्हालेका महिलाको कार्यसम्पादन मूल्याङ्कन उत्कृष्ट रहेको छ । यसको मतलब पुरुषहरुले सम्हालेको जिम्मेवारीमा राम्रो काम भएन भनेको हैन । जुन रुपमा महिला नेतृत्वलाई स्वीकार्ने अवस्था थिएन तर, त्यो अवस्थालाई महिलाले कामको माध्यमबाटै उत्तर दिएका छन् भन्ने मात्रै हो ।

कोशी प्रदेशको स्वास्थ्य सचिव चिकित्सा सेवाकी डा. सुधा देवकोटा छन् । उनले कोशी प्रदेशमा डाक्टर त्यसमा पनि महिलाले सचिव चलाउँन सक्छन् भन्ने गलत सोचलाई ‘बुजो’ लगाई दिएकी छन् । उनको नियुक्तिमा खिसिट्युरी गर्नेहरु अहिले जिब्रो टोक्दै हिँड्ने भएका छन् ।

त्यस्तै स्वास्थ्य सेवा विभागको नेतृत्व पनि महिलाको हातमा छ । पुरुषको हातमा हुँदा धेरै विवाद देखिएको विभाग महिलाको हातमा पुगेपछि  विवादरहित बन्दै गएको छ । पुरुषले काम नगरेको भन्ने हैन । नियम कानुनलाई तिलान्जली दिएर पनि काम गर्ने परिपाटीको महिला नेतृत्वले अन्त्य गरेकाे छ । डा. संगिता कौशल मिश्राले विभागको हरेक काम नियम कानुनको परिधिभित्र रहेर मात्रै गर्दै आएकी छन् । हक्की स्वभावले गर्दा जो कसैले नियम र कानुनभन्दा बाहिर गएर काम गर्न दबाव दिन पनि उनलाई सकेका छैनन् ।

संविधानको धारा ३८ को उपधारा १ ले महिला पुरुष समान भनेर बोलेको छ । काम समान गर्ने भनेर लेख्ने तर जिम्मेवारी दिन हिच्किचाउने परिपाटीको विकास भएको छ । महिलाहरु जोखिम लिन्छन् तर, ऐन, नियम, कानुनभन्दा बाहिर गएर जोखिम मोल्ने आँट उनीहरु गर्दैनन् । उनीहरु पुरुषले जस्तो साम, दाम, दण्ड भेदको नीति र शैली अपनाउँदैनन् । पुरुषमा भन्दा स्वास्थ्यमा नेतृत्व सम्हालेका महिलामा पारदर्शिता धेरै देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेल महिला कर्मचारीसँग काम गर्न र पुरुष नेतृत्व सँग काम गर्नुमा खासै फरक नभएको बताउँछन् । ‘अहिले महिला पनि राज्यको नीति निर्माण तहमा पुगेका छन्’ सचिव डा. पोखरेलले भने, ‘उनीहरुले सम्हालेको नेतृत्व पुरुषले सम्हालेभन्दा कम छैन ।’, अधिकारीहरु महिला नेतृत्वलाई कमजोर ठान्न नहुने बताउँछन् ।

महाशाखाको नेतृत्व कम भएपनि शाखाहरुको नेतृत्वमा महिलाको उपस्थिति मनग्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखमा हिरा कुमारी निरौला छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जेसी शाखा प्रमुखमा उपसचिव रोशनी कार्की छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डा. रुणा झा छन् । कोरोना कालमा ऐतिहासीक काम गरेकी उनको केही समय अगाडि मात्रै सरुवा भएको हो ।

डा. रुणा झा कोरोनाको चरम विन्दु त्यसमा पनि रंगन ढंगका सचिव लक्ष्मण अर्यालको अन्डरमा बसेर कुशलतापूर्वक काम गरेकी अब्बल महिला कर्मचारी हुन् । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय ‘अवार्ड’ समेत जितिसकेकी छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुई छन् । उनले ०७५ देखि ०७८ सम्म नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व गरेकी थिईन् । तुईतुईले महाशाखको नेतृत्व सम्हाल्दा शुन्य बेरुजुमा संस्थालाई राखेको त्यहाँका अधिकारीहरु बताउँछन् । शून्य बेरुजु बनाउने कर्मचारी सिला खाेज्नु पर्छ ।

त्यस्तै नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाको जेरेयाट्रिक शाखाको नेतृत्व कविता अर्यालले गरेकी छन् । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखामा डा. निष्ठा श्रेष्ठ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना शाखामा सकुन्तला प्रजापती, स्वास्थ्य शिक्षा सुचना तथा स सञ्चार केन्द्रमा शिला श्रेष्ठ, पोमावती थापा, आयुर्वेद व्यवस्था विभागमा डा. जया सत्याल, क्षयरोग केन्द्रमा थुमा पुन, वीर अस्पतालमा संगिता श्रेष्ठ, कोशी प्रदेशमा आस्था थापा, मधेश प्रदेशमा सुनिता गुप्ता, लुम्बिनी प्रदेशमा दुर्गा श्रेष्ठले स्वास्थ्य क्षेत्रको बागडोर सम्हालेका छन् ।

दुर्गा श्रेष्ठलाई सरकारले लुम्बिनीको स्वास्थ्य सचिव समेत नियुक्त गरेको थियो । उनको इमान्दारीताको फाइदा लिँदै केही घण्टामै सचिवको कार्ड खोसिएको थियो । यता कर्णाली प्रदेशमा दिपा भट्टराई छन् । यी स्वास्थ्य क्षेत्रको शाखा महाशाखा र अस्पतालको नेतृत्व सम्हाल्ने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । स्वास्थ्यमा आवद्ध भएका कयौं महिला नेतृत्वको हातबाट काम भइरहेको छ । भविष्यमा यो संख्या बढ्दै जाने सहजै आंकलन गर्न सकिन्छ । 

क्याटेगोरी : समाचार
ट्याग : ##डा संगिता कौशल मिश्रा, #डा. सुधा देवकोटा, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com