वायु प्रदुषणले बालबालिकाकाे स्वास्थ्यमा गम्भीर असर, औसत आयुमा कमि


काठमाण्डौं । सेभ द चिल्ड्रेनले वायु प्रदुषणबाट बालबालिका तथा महिलामा पर्ने प्रभावबारे अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेकाे छ । उक्त अध्ययन प्रतिवेदनले बढ्दो वायु प्रदुषणले बालबालिकाको स्वास्थ्य, शिक्षा र मानसिक अवस्था लगायत विविध पक्षमा पार्ने असरकाबारे प्रकाश पारेको छ ।

अध्ययनअनुसार घरभित्र तथा घरबाहिरको वातावरणमा निम्न वायु गुणस्तरले बालबालिका तथा महिलामा विभिन्न प्रकारका स्थास्थ्यसम्बन्धी जोखिम सृजना गरेको छ । दम, फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याहरु, खोकी, छाला रोग, बान्ता हुने तथा टाउको दुख्ने समस्या देखिएको छ।

अध्ययनले बालबालिकाको बृद्धि तथा अंग विकासमा प्रतिकूल असर पुग्ने गरेको, महिलामा गर्भावस्थामा समस्या हुने, साथै समग्रमा औसत आयुकम हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनले युथ अलायन्स फर इन्भाइरनमेन्ट र कायापलट संस्थाहरुसँगको साझेदारीमा नेपालको वायु प्रदुषण अतिप्रभावित जिल्लाहरुमध्ये काठमाण्डौं र सप्तरीमा अध्ययन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै, सेभ द चिल्ड्रेनका आयुष जोशीले भने, “वायु प्रदुषणको प्रभावलाई केवल स्थास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्र हित र विकासको पाटोलाई विश्लेषण गरेर बुझ्नुपर्दछ । हामीले गरेका परामर्शको क्रममा बालबालिकाले वायु प्रदुषणका कारण विद्यालय बन्द हुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्न सक्ने र परिवारको जिविकोपार्जनमा असर पर्न सक्छ ।”

वायु प्रदुषणलाई हामीले रेड कोडको रुपमा लिएका छाैँ किनभने यसले बालबालिका, महिला तथा न्यून–प्रतिनिधित्व भएका समूहहरुको जीवनलाई गंभीररुपमा असर गर्दछ । विद्यमान विकासको अवधारणाले वायु प्रदुषणको हानीकारक प्रभावबारे पूर्वाग्रह सृजना गरिरहेको छ । विशेषगरी बालिबालिकामाथिको सम्भावित खतरालाई नजरअन्दाज गर्ने यस्ता पूर्वाग्रह र मान्यतालाई सम्बोधन गर्न पैरवीका कार्य र अभियानहरु विकास गर्न आवश्यक छ ।
कार्यक्रममा वायु प्रदुषणसम्बन्धी नीतिगत व्यवस्था रहेकोबारे मतैक्यता रहे पनि त्यस्ता नीति तर्जुमा र नीति कार्यान्वयनबीच उल्लेख्य अन्तर रहेको सहभागीहरूले बताएका छन् । यसले त्यस्ता नीतिप्रतिको अपनत्व र कार्यान्वयन प्रतिवद्धतामा कमी रहेको संकेत गर्दछ । अझ, यस्ता नीतिबारे जनमानसस्तरमा सचेतना र सम्प्रेषणमा कमी देखिन गएकोले नागरिक समाज संगठनहरुले सञ्चालन गर्ने पैरवी र अभियान कार्यक्रमहरु फितलो हुन गएको अध्ययनले देखाएको छ ।

प्रतिवेदनले वायु प्रदुषणबारे स्वस्थ व्यवहार प्रवर्धन गर्न समाजमा विद्यमान सामाजिक तथा व्यवहार परिवर्तनसम्बन्धी कारक तत्वहरुको सम्बोधन हुनेगरी कार्यहरु गर्नुपर्नेमा जोड दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com