भारतीय प्रियागोल्ड ब्रान्डको बिस्कुट नेपालमा प्रतिबन्ध


काठमाडौं। भारतीय प्रियागोल्ड ब्रान्डको बिस्कुटमा नेपाल सरकारले प्रतिबन्ध लगाएकाे छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका भारतीय प्रियागोल्ड ब्रान्डका सबै बिस्कुट तत्काल फिर्ता गरी नष्ट गर्न पनि निर्देशन दिएको हो। मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको विभागको दाबी छ।

प्रियागोल्ड सबै ब्याच र उत्पादन मितिका बिस्कुट बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न सम्बन्धित आयातकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्णरूपमा स्थगन गर्ने निर्णय गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले पनि उक्त निर्णय गरेको विभागले जनाएको छ। भारतमा उपभोक्ताको उजुरीपछि प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखाना निरीक्षण गर्दा गम्भीर लापरबाही फेला पारेको थियो। उक्त बिस्कुटलाई नेपालमा पनि प्रतिबन्ध लगाइएको हो।

विभागको निर्देशनलाई बेवास्ता गरी बिस्कुटको बिक्री वितरण जारी राखेमा वा जनस्वास्थ्यमा असर पर्ने कार्य गरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले सूचना निकालेर चेतावनी दिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ