दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। मन्त्रालयले दसैँ बिदामा नागरिकले सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन तथा अस्पतालका अत्यावश्यक सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन आग्रह गरेको हो।

मन्त्रालयले अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न भनेको छ। त्यस्तै, आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवासहितका अत्यावश्यक सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न निर्देशन दिएको छ।

दसैँ बिदाका अवधिमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न पनि मन्त्रालयले आग्रह गरेको छ। आकस्मिक अवस्थामा तत्काल सेवा दिन तयारी अवस्थामा रहन र अस्पताल पूर्ण रूपमा बन्द नगर्न मन्त्रालयले भनेको छ।

सेवा प्रवाहका क्रममा देखिन सक्ने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि अस्पतालहरूले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। ती व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले दसैँ बिदाभर स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन भए–नभएको अनुगमन गर्न र नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ