‘घूस’ प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव बसौलामाथि अख्तियारको अनुसन्धान
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘घूस’ प्रकरणमा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि अनुसन्धान सुरू गरेको छ। तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलसहित स्वास्थ्य सचिव बसौलामाथि पनि अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो। अख्तियारको पोखरा कार्यालय र टंगालले उक्त प्रकरणमा संयुक्त टोली खटाएर अनुसन्धान गरिरहेको पाइएको हो।
पोखराको पद्य नर्सिङ होमलाई ५० स्तरवृद्धि गरी १०० शय्याको अनुमति दिँदा २५ लाख रुपैयाँ घुस दिएको काण्ड मच्चिएपछि प्रदेश सरकारले छानबिन गरिरहेको छ। स्वास्थ्य सचिवको भूमिकामा रहेका बसौलालाई उक्त प्रकरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर प्रदेश सरकारले अनुसन्धान गरिरहेको हो। प्रदेश सरकारले उक्त प्रकरण छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ। उक्त प्रकरणमा उजुरी पर्नासाथ अनुसन्धान सुरू गरिएको अख्तियार स्रोतले बतायो। उक्त प्रकरणमा तीव्र अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाई छ।
यसैबीच नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित छानबिन समितिले उक्त प्रकरणमा संलग्न देखिएको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही सिफारिस गरेको छ। पोखराको पद्म नर्सिङ होमलाई १ सय शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव पौडेल माथि कारबाही सिफारिस भएको हो।
नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको हो। पार्टीले नै कारबाही सिफारिस गरेपछि उक्त प्रकरणमा भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेर गएको छ। सो प्रकरणमा तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, पाण्डेका स्वकीय सचिव यादव पौडेलसहित स्वास्थ्य सचिव बसौलामाथि अख्तियारले अनुसन्धान गरिरहेको हो। पार्टीले त कारबाही नै सिफारिस गरिसकेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस