कामपा-१० का वडाध्यक्ष केसी सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय


काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल र वडा सदस्य अनिल श्रेष्ठ सरकारी जग्गा हडप्न संलग्न रहेको पुष्टि भएको छ । वडाध्यक्ष ढकाल सरकारी जग्गा समाप्त पार्न र सदस्य श्रेष्ठ अतिक्रमण गर्न संलग्न रहेको पाइन्छ ।

धोबीखोला करिडोरको २९ नम्बर तर्फ वडाका जनप्रतिनिधिहरु सरकारी जग्गा हिनामिना गर्न लाग्दा १० नम्बरका जनप्रतिनिधि भने जोगाउन लागिपरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी अहिले भटाभट सरकारी जग्गामा भएको अतिक्रमण हटाउन लागेका हुन् । वडाध्यक्ष केसी र त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेश दिपेन्द्र श्रेष्ठ मिलेर थापागाउँ पुलदेखि देवीनगर पुलसम्मको दशौं रोपनी सरकारी जग्गा जोगाउन लागिपरेका छन् ।

दुईदिन अगाडि मात्र वडाध्यक्ष केसीको निर्देशनमा विनायक नगर मदन भण्डारी कलेजसँगैको सरकारी जग्गामा बनेको अनधिकृत संरचनामा डोजर लगाइएको छ । नगर प्रहरीले उक्त ठाउँको अतिक्रमित संरचना हटाएको छ ।

स्वास्थ्य लाइभमा बार्दली रेष्टुरेन्टदेखि मदन भण्डारी कलेजसम्म झन्डै ३ रोपनी सरकारी जग्गा हडपिएको तथ्य सार्वजनिक भएपछि उक्त क्षेत्रका जनप्रतिनिधिहरू अतिक्रमण हटाउन तातिएका हुन् । यो जग्गाको अवस्था पत्ता लगाउन प्रदेशसभा सदस्य श्रेष्ठ आफैं मालपोत कार्यालय डिल्लीबजार पुगेका थिए ।

वडाध्यक्ष केसीले बार्दली रेष्टुरेन्टदेखि जिल्ला निर्वाचन कार्यालय रहेको ठाउँसम्मको सरकारी जग्गाको प्रमाण संलकन गरिसकेका छन् । उनलाई त्यो कार्यका लागि स्वास्थ्य लाइभको समेत सहयोग रहेको छ । अब त्यो ठाउँमा रहेका सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने तयारीमा वडाध्यक्ष केसी सक्रिय रुपमा लागिपरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को प्रशासनिक भवन वरिपरी भएको अतिक्रमण पनि केही हप्ता अगाडि वडाध्यक्ष केसीले हटाएका छन् । सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय हुनेमा केसी काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूमध्ये सबैभन्दा अगाडि देखिन्छन् ।

भूमाफिया इन्द्रकुमार चाम्लिङ, हेमराज घिसिङ, डा. राजेश झा अहिराजलगायतले अतिक्रमण गरेको संरचना हटाउन पनि वडाध्यक्ष केसी र प्रदेश सांसद श्रेष्ठ एक ठाउँमा उभिएका थिए । वडा नम्बर २९ को धाबीखोला करिडोरको एक इन्च पनि सरकारी जग्गा संरक्षण नहुँदा वडा नम्बर १० तिरको १० रोपनी बढी सरकारी जग्गामा भएको अतिक्रमण हटाइएको छ । सरकारी जग्गामा भएको अतिक्रमण हटाउने विषयमा वडाध्यक्ष केसीको भूमिका सन्तोषजनक नै देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com