सिंहदरबार नजिकै स्वास्थ्य भवन वरिपरीको ३ रोपनी जग्गा भूमाफियाको कब्जामा


काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकै स्वास्थ्य भवन वरिपरीको ३ रोपनी जग्गा भूमाफियाको कब्जामा परेको छ । सिंहदरबारबाट आधा किलोमिटर नजिकै रहेको झन्डै ३ रोपनी जग्गा भूमाफियाले कब्जा गरेर भाडा खाइरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने उक्त जग्गा हडपेर भूमाफियाले रजाइँ गर्दा पनि नजिकै रहेको जिल्ला प्रशासन कार्यालय रमिते बनेको छ ।

अनामनगर र थापागाउँ जोड्ने पुल नजिकै रहेको धोबीखोला करिडोरको बार्दली रेष्टुरेन्टदेखि मदनभण्डारी मेमोरियल कलेजसम्म करिब ३ रोपनी सरकारी जग्गा भूमाफियाको कब्जामा रहेको छ । त्यो ठाउँमा ठूला भवन नबने पनि ५/७ वटा टहरा निर्माण गरेर भाडा खाइरहेको स्वास्थ्य लाइभको खोजीमा फेला परेको छ ।

स्वास्थ्य लाइभले खोजी गर्दा मालपोत कार्यालय डिल्लीबजारको रेकर्डमा ती जग्गाको धनी नेपाल सरकार रहेको फेला परेको छ । नगर १० सिट नम्बर १०२११४६o६ को कित्ता नम्बर ६, ८, २३, १६८, २६४, २८९ र ४१२ उल्लेख भएको जग्गा नेपाल सरकारको नाममा रहेको छ ।

मदन भण्डारी कलेजसँगैको ६ नम्बर कित्तामा रहेको करिब १ रोपनी सरकारी जग्गाभित्र एउटा टहरो बनाएर मान्छे बसिरहेका छन् । त्योसँगै जोडिएको १६८ को अर्को सरकारी जग्गा एकजना मारवाडीले टहरा बनाएर मोटरसाइकल वर्कशपलाई भाडामा लगाएका हुन् । काठमाडौं महानगरपालिकाले यो जग्गामा तत्काल डोजर लगाएर सुन्दर पार्क बनाउन सक्ने अवस्था देखिन्छ ।

अझ रोचक त वडा नम्बर १० ले स्वास्थ्य भवन बनाउने भनेको कित्ता नम्बर ८ र २३ को १० आना जग्गा लिला देसार भन्ने कांग्रेस कार्यकर्ताले कब्जा गरेर फर्निचर पसल चलाइ रहेकी छिन् । आफ्ना परिवारका सदस्यको वरिपरि ठूल्ठूला घर र जग्गा भएपनि देसारले वडा स्वास्थ्य भवनको जग्गा कब्जा गरेर बसेकी हुन् । उनलाई राजनीतिक संरक्षण हुँदा वडा स्वास्थ्य भवन शिलान्यासमै सीमित भएको छ । सरकारी जग्गा हडप्ने देसारको काठमाडौंको ललितपुरमै जग्गा रहेको र वरिपरी देवर जेठाजुको घर रहेको स्थानीयहरू बताउँछन् । तर, उनले सरकारी जग्गा छोड्न मानेकी छैनन् ।

त्यस्तै कित्ता नम्बर २८९ मा करिब आधा रोपनी र ४१२ मा ४ आना सरकारी जग्गामा पनि ४/५ वटा टहरा बनाएर भाडा खाइरहेको पाइएको छ । भाडामा लाउनेले बालेनले नथाहापाउन्जेल केही हुँदैन भनेर भाडा असुली रहेको पसल सञ्चालन गर्नेहरुको प्रतिक्रिया छ ।

सिंहदरबारको आँखै अगाडि यत्रो सरकारी जग्गामा भूमाफियाले रजाइँ गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका बेखबर देखिन्छन् । सरकारी / सार्वजनिक जग्गा संरक्षणमा लागेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यी अनधिकृत संरचनामा डोजर लगाउन तत्काल कदम चाल्नु पर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #मदन भण्डारी कलेज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com