नेपालको जनसंख्या सच्याउन स्वास्थ्य मन्त्रालयको अटेरी : अनिल थापा भन्छन्, ‘जनसंख्या घटेको थाहै पाएको छैन’,


काठमाडौं सरकारले नेपालको जनसंख्याको प्रारम्भिक नतिजा तीनदिन अगाडि सार्वजनिक गरेको छ ।

नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ भएको बताइएको थियो । सोही अनुमानका आधारमा राज्यको नीति योजना तर्जुमा हुँदै आएको थियो । तर, १२ माघमा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० देखिएको छ ।

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तथ्यांक भन्दा ११ लाख ८५ हजार ५ सय ७५ जना कम देखिएको छ । जुन निकै ठूलो संख्या हो ।

नेपालको नयाँ जनसंख्या सबै क्षेत्रमा सच्चिसकेको छ । केन्द्रीय तथ्यांक विभागले आफ्नो आधिकारिक वेभसाईटम समेत राखेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई अझै स्वीकार गरेको छैन । मन्त्रालयले यो तथ्यांकलाई अघोषित रुपमा नमानेको जस्तै गरेको छ । यसको पछिल्लो उदाहरण शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टले पनि स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्याउन अटेरी गर्दा करिब ७ लाख मानिस भ्रममा परेका छन् । स्वास्थ्य मन्त्रालयले दैनिक तथ्यांक अपडेट गर्ने सफ्टवेयरमा ६ लाख ८५ हजार ५ सय १ जना आवद्ध छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना रिपोर्ट सार्वजनिक गर्दा पुरानै जनसंख्यालाई उल्लेख गरेको छ । अझै अच्चम्मको कुरा त स्वास्थ्य मन्त्रालय मातहत रहेको एकीकृत स्वास्थ्य व्यवस्थापन तथा सुचना प्रणालीका प्रमुख अनिल थापा नेपालको नयाँ जनसंख्या आफूलाई जानकारी नै नभएको बताउँछन्।

हुन त उनले आफ्नो अफिसको तथ्यांकको ताला चाबी एनजिओ/आइएनजिओलाई सुम्पिएका छन् । त्यसले उपसचिवस्तरका थापालाई नेपालको जनसंख्या जानकारी नहुनु स्वभाविक भएको अधिकारीहरु बताउँछन् । यो तथ्यांक मिलाउने काम एकीकृत स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणालीको हो । महत्वपूर्ण विषयलाई हलुका लिएर अटेरी गर्ने जिम्मेवार कर्मचारीमाथि स्वास्थ्य मन्त्रालयले कारबाही गर्नुपर्ने अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल अहिलेसम्म नेपालको जनसंख्या नसच्चिनुमा आश्चर्य मान्छन् । ‘यो निकै ठूलो विषय हो उनले भने, सबै तिर सच्चिएको तथ्यांक हाम्रोमा किन सच्चिएन ? सम्बन्धित निकाय गम्भीर हुनुपर्ने देखिन्छ ।’,

सार्वजनिक विवरणअनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । वि.सं. २०६८ को जनगणनामा २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।

विभागकाअनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

‘जनसंख्या घटेको थाहै छैन’

अनिल थापा, प्रमुख एचएमआईएस

अघिल्लो दश वर्षको जनसंख्या हामीलाई जानकारी छ । तर, अहिले नयाँ जनसंख्याबारे कुनै जानकारी छैन । अहिलेको कुल जनसंख्या कति हो ?
जनसंख्या घटेकोबारेमा कुनै जानकारी आएको छैन । केन्द्रीय तथ्यांक विभागबाट चिठी आयो भने सच्याउँला ।

क्याटेगोरी : समाचार
ट्याग : ##इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ##डा कृष्ण प्रसाद पौडेल, ##डा रोशन पोखरेल, ##नेपालको जनसंख्या, ##राष्ट्रिय जनगणना–२०७८, #केन्द्रीय तथ्यांक विभाग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com