एनजिओ/आइएनजिओले कोरोना परीक्षण रिपोर्ट पठाउन अटेरी गरेको खुलासा


काठमाडौं । एनजिओ/आइएनजिओले कोरोना भाइरस( कोभिड-१९) परीक्षण गरेको रिपोर्ट पठाउन अटेरी गरेको खुल्न आएको छ ।

स्वास्थ्य क्षेत्रमा छुट्टै साम्राज्य खडा गरेका एनजिओ/आइएनजिओले कोभिड परीक्षणको रिपोर्ट अटेरी गरेर नपठाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट पठाउन अपिल नै गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले एनजिओ/आइएनजिओ लगायतलाई रिपोर्ट पठाउन ढाँचा नै तयार पारेर आज एक अपिलमा जारी गरेका छन् । एनजिओ/आइएनजिओले मात्र होइन नियोगहरुले पनि कोभिड-१९ परीक्षण गरेको रिपोर्ट नपठाएको उनले जारी अपिलबाट प्रस्ट हुन्छ ।

‘संस्थागत सूचीकृत प्रयोगशालाहरुबाहेक पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण हुने गरेकोले यसरी प्रयोगशालाबाहिर गरिएका कोभिड-१९ परीक्षणको नतिजाको सरकारी निकायहरूलाई हालसम्म पनि जानकारी गराउनु भएका संघ, संस्था  निकाय तथा नियोगहरूले परीक्षणको नतिजा निम्न ढाँचाको फर्मेटमा तल दिइएको इमेल तथा कल सेन्टरमा निशुल्क नम्बरमा पठाउनु हुन अपिल गरिन्छ’, महाशाखाका निर्देशक डा. पौडेलले भनेका छन् ।

सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने संघ, संस्था( एनजिओ/आइएनजिओ)ले विवरण नदिएपछि बाध्य भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको हो ।

नेपालमा हाल ओमिक्रोन भेरिएन्टसहितको कोभिड-१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितहरूको एकिन तथ्यांक प्राप्त हुनु अपरिहार्य भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

स्वास्थ्यको डाटामा खेलेर समानान्तर सरकार चलाइरहेका एनजिओ/आइएनजिओले  कोभिड-१९ को डाटा लुकाएर सरकारलाई नै गुमराहमा पार्ने काम गरिरहेको यो घटनाले पुष्टि गर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##डा कृष्ण प्रसाद पौडेल, #एनजिओ/ आइएनजिओ, #एन्टिजिन परीक्षण, #डाटा, #नियोग, #समानान्तर सरकार, #साम्राज्य, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com