स्वास्थ्य मन्त्रालय सिंहदबारभित्रै सार्ने प्रस्ताव


काठमाडौं । सरकारले गुरुयोजना नै बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्रै सार्ने प्रस्ताव गरेको छ ।

सिंहदरबारबाहिर रहेको एक मात्र मन्त्रालय स्वास्थ्यलाई  नयाँ भवन बनाएर सिंहदरबारभित्रै सार्ने खाका तयार पारिएको छ । रामशाहपथमा अवस्थित स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्रै लानुपर्ने कुरा गुरुयोजनामा समेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्ने गरी गुरूयोजना तयार पारेको हो । उपसमितिले नयाँ भवन बनाएर स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र ल्याउनु पर्ने गुरूयोजनाको खाका मुख्य सचिव एवं सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन समितिका निर्देशक शंकरदास बैरागी खनालसमक्ष प्रस्तुत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

झन्डै १० अर्ब रुपैयाँ बजेटको प्रक्षेपण गरिएको सिंहदरबार नयाँ रुपमा लाने गुरुयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सहरी विकास मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि नयाँ भवन बनाउन प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार नियोजन संघको भवन रामशाहपथमा रहेको छ ।

शितल निवासमा रहेको परराष्ट्र मन्त्रालय नारायणहिटी हाल राहदानी विभाग भएको भवन हुँदै सिंहदरबार छिरेको हो । गृह मन्त्रालय पुरानो भवन छोडेर पहिला स्थानीय विकास(हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छाडेर गएको भवन कब्जा गरेर बसेको छ । त्यो भवनमा सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालय सार्न खोजिए पनि गृहले ओभरटेक गरेको चर्चा हुँदै आएको छ । देशभरका भवन बनाउने सहरी विकास मन्त्रालयल पनि पुरानो पाराको भवनमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ती चारवटै मन्त्रालयका लागि नयाँ भवन बनाउने गरी सिंहदरबार फेर्ने गुरूयोजनाको खाका तयार पारिएको हो । यसले मुर्त रुप लिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिंहदरबार छिर्ने यात्रा तय हुने छ । रामशाहपथमा एक्लिएको स्वास्थ्य मन्त्रालय सिंहदरबारमा जाने कुरा सकारात्मक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरुको टिप्पणी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र छिरेसँगै  कम्पाउण्डभित्रै राज्यका तीन अंग कार्यापालिका न्यायपलिका र व्यवस्थापिका रहने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #नयाँ भवन, #रामशाह पथ, #सिंहदरबार भित्र सार्ने, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com