होप फर्टीलीटीद्वारा स्वास्थ्य मन्त्रालयको आँखा अगाडि नै टेस्टट्युब बेबीको अवैध धन्दा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखा अगाडि नै होप फर्टीलीटी एण्ड डायग्नोष्टिक प्रालिले टेस्टट्युब बेबी धन्दा चलाइरहेको तथ्य फेला परेको छ ।

आफूलाई नेपाल कै नम्बर वान आईभीएफ सेन्टर दाबी गर्ने होप फर्टीलीटीले स्वास्थ्य मन्त्रालयसँग आईभीएफ सेवा सञ्चालनको अनुमति नै नलिई टेस्टट्युब बेबीको अवैध धन्दा चलाउँदै आएको पाइएको छ ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आईभीएफ सेवा सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयसँग निश्चित प्रक्रिया पूरा गरेर सञ्चालन स्वकृति लिनुपर्ने हुन्छ । तर होप फर्टीलीटीले स्वास्थ्य मन्त्रालय कै आँखा अगाडि रहेको बबरमहलमा स्वास्थ्य मन्त्रालयलाई चुनौती दिँदै बिनाअनुमति टेस्टट्युब बेबी धन्दा चलाएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले निजी स्वास्थ्य संस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र सरकारीमा प्रसूति गृहले मात्र आईभीएफ सेवा सञ्चालन गर्न अनुमति लिएका छन् । तीबाहेकका सबै आईभीएफ अवैध रूपमा सञ्चालनमा रहेका छन् । त्यसमध्ये पनि होप फर्टीलीटी राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, जिल्ला प्रशासन कार्यालय , अदालत, प्रहरी र स्वास्थ्य मन्त्रालयकोबीचमा अवैध धन्दा चलाउन मस्त छ ।

आफ्नै आडमा अवैध रुपमा चलेको आईभीएफ अनुगमन गरेर कारबाही गर्न नसकेको स्वास्थ्य मन्त्रालयले त्यहाँ भन्दा बाहिरका आईभीएफको अवैध धन्दा बन्द गर्छ भन्ने आधार देखिँदैन ।

को को छन् होपमा ?

नि:सन्तानपन सम्बन्धी सबै उपचार गर्ने भनेर सञ्चालित होप फर्टीलीटीमा फर्टीलीटी विशेषज्ञ डा. स्वस्ती शर्मा मुख्य भूमिकामा रहेको पाइएको छ । उनले १२ वर्षदेखि आईभीएफको अवैध धन्दा चलाइरहेको होपको वेबसाइटबाट खुल्न आउँछ । डा. शर्माले अल्का अस्पताल, भेनस अस्पताल,  किस्ट मेडिकल कलेज, नोबेल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र शंकरापुर अस्पतालमा फर्टीलीटी विशेषज्ञको रुपमा काम गरेको उल्लेख छ ।  प्रसूतिबाहेक सबै अस्पतालमा टेस्टट्युब बेबीको अवैध धन्दामा समेत उनको संलग्नता रहेको होपको वेबसाइटले पुष्टि गरेको छ ।

त्यस्तै रेडियोलोजिष्ट डा. निरज श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. मालिन चौधरी, क्लिनिकल इम्ब्रोलोजिष्ट डा. प्रत्युंशा बराल र नर्स पार्वती कडेरिया टेस्टट्युब बेबीको अवैध धन्दा चलाउने विशेष भूमिकामा रहेको होप फर्टीलीटीको वेबसाइटमा देख्न सकिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाचार बन्दा यस्ता अवैध धन्दा खुलेआम चलिरहेका छन् ।

आईभीएफ सेवा सञ्चालन गर्न अनुमति लिनुपर्छ भनेर कानुन ल्याउने स्वास्थ्य मन्त्रालय कानुन कार्यान्वयनमा मात्र लाचार देखिएको छैन टेस्टट्युब बेबीको अवैध धन्दालाई थप प्रोत्साहन दिइरहेको छ । 

स्वास्थ्यका जिम्मेवार अधिकारीले अख्तियारको दुरुपयोग गर्दा नेपालमा त्यसमा पनि काठमाडौं उपत्यकाका स्वास्थ्य संस्थामा टेस्टट्युब बेबीको अवैध धन्दा फस्टाइरहेको छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि उत्तिकै जिम्मेवार छन् ।

टेस्टट्युब बेबीको अवैध धन्दाको अनुगमन गरेर कारबाहीको दायरामा नल्याउने स्वास्थ्यका सम्बन्धित कर्मचारीमाथि कानुनले गर्नु भनेको काम नगरी अख्तियारको दुरूपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्न जरुरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #२०७७, #एनेस्थेसियोलोजिष्ट डा. मालिन चौधरी, #क्लिनिकल इम्ब्रोलोजिष्ट डा. प्रत्युंशा बराल, #जनस्वास्थ्य सेवा नियमावली, #टेस्टट्युब बेबी, #नर्स पार्वती कडेरिया, #फर्टीलीटी विशेषज्ञ डा. स्वस्ती शर्मा, #रेडियोलोजिष्ट डा. निरज श्रेष्ठ, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #होप फर्टीलीटी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com