जनगणनाको बाछिटा

बच्चा उत्पादन गर्ने क्षमता बढाउन परिवार नियोजनका साधनमा प्रतिबन्ध लगाउन तीव्र लबिइङ


काठमाडौं ।  नेपालको जनसंख्या अनुमान गरे अनुसार नबढेपछि अहिले एउटा बहस पेचिलो बनेको छ । सरकारले ०७८ सालको जनगणनाले नेपालको कुल जनसंख्या तीन करोड बढी हुने अपेक्षा गरेको थियो । तर, नतिजा सोचेको भन्दा धेरै फरक आएको छ ।

अधिकारीहरुले जनसंख्या अपेक्षा अनुसार नबढ्नुलाई परिवार नियोजनका साधनको प्रयोगमा जोडेका छन् । सरकारी चिकित्सकहरुनै जनसंख्या कम बृद्धि भएको भन्दै परिवार नियोजनका साधन प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने अभिव्यक्ति दिन थालेका छन् ।

बच्चा उत्पादन गर्ने क्षमता बढाउन अहिले केही चिकित्सक खुलेर लागेका छन् । यसले स्वास्थ्य क्षेत्र त्यसमा पनि परिवार कल्याण महाशाखामा एक किसिमको तरंग ल्याएको छ । स्वास्थ्य मन्त्रालयका पूूर्व प्रवक्ता तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक डा. जागेश्वर गौतम परिवार नियोजनका साधनको प्रयोगले जनसंख्या नियन्त्रण हुँदै गएको तर्क गर्छन् । यसलाई समयमै रोक्न सकिएन भने भोलिका दिनमा गम्भीर समस्या आउने बताउँछन् ।

प्रजनन क्षमता बढाउन परिवार नियोजनका साधन प्रयोगमा रोक लगाउन नमिल्ने स्वास्थ्य सेवा विभागका कर्मचारीहरु बताउँछन् । प्रजनन क्षमता भन्नाले बच्चा उत्पादन गर्ने क्षमतालाई बुझिन्छ । जनसंख्यामा प्रजनन कुनै व्यक्ति, दम्पत्ति वा महिलाको समूहले जीवित बच्चा जन्माउने उपलब्धि हो ।

प्रजनन क्षमता बढाउने हो भने, राज्यले बच्चाको उचित रेखदेख गर्नुपर्छ । ‘परिवार कल्याण महाशाखाका एक जना अधिकारीले भने, ‘उपभोग गर्दै आएको महिला वा पुरुषको सेवा बन्द गर्नु न्यायोचित हुँदैन । यदी बच्चा धेरै जन्माउन बाध्य पारिन्छ भने विदेशमा जस्ता बच्चाको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ ।’ स्वास्थ्य, शिक्षामा राज्यले विशेष प्राथमिकता दिन सक्नुपर्छ । सम्पन्न परिवारले एउटा बच्चा जन्माएर बस्ने तर, एउटा बच्चा समेत राम्रोसँग हुर्काउन नसक्नेहरुलाई जतिसक्दो धेरै जन्माउने बनाउनु पक्कै राम्रो होइन ।

काम गर्ने मानिसहरु छैनन् भन्दै जनसंख्या बढाउन परिवार नियोजनका साधनमा प्रतिबन्ध लगाउने कुरा गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुँदै हैन । २१ औं शताब्दीमा काम गर्न प्रविधि भित्र्याउनु पर्ने अवस्थामा अझै महिलाले काम गर्दिने बच्चा जन्माउँन भन्ने सोच राख्नु आश्चर्य छ । यस्ता सोच राखेर नीति निमार्णमा बस्नेहरुले देशको विकास कसरी गर्छन् गम्भीर प्रश्न छ ।

 

स्वास्थ्य लाइभलाई आएको जानकारी अनुसार पछिल्लो समय पालिकाहरुमा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्ने खालका जनचेतनामूलक कार्यक्रम गर्नै रोक लगाउन थालेका छन् । राज्यले प्रतिबन्ध हैन परिवार नियोजनका साधनको प्रयोगदर बढाउँन सम्बन्धित निकाय लाग्नुपर्छ ।

के छ परिवार नियोजनको प्रयोगदर ?

चिकित्सकले नै यस्तो अभिव्यक्ति दिन थालेपछि हामीले केही तथ्यांकहरु खोज्न थाल्यौं । तर, जसरी अधिकारीहरुले अभिव्यक्ति दिएका छन् तथ्यांकले त्यस्तो अवस्था कतै देखाउँदैन ।

२००६ देखि २०१६ कोबिचमा प्रजनन क्षमता घटेको थियो । उक्त समयमा २५ प्रतिशत घटेको छ । यसरी प्रजनन क्षमता घट्नुमा दम्पतीको विदेश यात्रा र विवाह गर्ने उमेर बढ्दा घटेको छ । त्यस्तै गर्भपतले पनि घटाएको देखिएको छ । २५ प्रतिशत प्रजनन क्षमता घट्नुमा ४ प्रतिशत मात्रै परिवार नियोजनले गर्दा भएको छ । बाँकी २१ प्रतिशत अन्य कारण रहेको छ ।

अहिले सानो परिवार बनाउने चाहना जो कसैलाई भएको छ । यदी परिवार नियोजनका साधनको प्रयोगलाई कडाइका साथ लागू नगर्ने हो भने, पनि दम्पती गर्भपतनको बाटो रोज्न तयार हुनेछन् । गर्भपतनलाई राज्यले कानुनी मान्यता दिएको छ ।

जनसंख्या परिवर्तन जन्मदर मृत्युदर र बसाईसराईका कारणले हुन्छ । अहिले जनसंख्या कम हुनुमा प्रजनन क्षमतालाई देखाइएको छ । केही व्यक्तिहरुले कतिपय जिल्लामा माइनस ० मा प्रजनन क्षमता पुग्यो भनेका छन् जुन सम्भवनै नहुने कुरा हो । अहिले जसले प्रजनन क्षमता घट्नुमा परिवार नियोजनका साधनको प्रयोगलाई देखाएको छ उहि व्यक्तिको छोराछोरी दुई जनाभन्दा बढी छैनन् ।

यस्तो छ विगतको अवस्था

१९९६ मा दुर्गममा एक महिलाले ४ दशमलब ८ अर्थात ५ जना बच्चा जन्माउथे । सहरी क्षेत्रमा उक्त समयमा २ दशमलब ९ अर्थात ३ जना बच्चा जन्माउथे । सन् २००१ मा घटेर ४ दशमलब ४ मा पुग्यो । सोही समयमा सहरमा २ दशमलब १ मा पुगेको देखिन्छ । सन् २००६ मा ग्रामिणमा ३ दशमलब ३ पुगेको थियो । सहरमा भने २ दशमलब २ मा नै रहेको थियो ।

सन् २०११ मा ग्रामिण क्षेत्रमा बच्चा जन्माउने दर केही बढेर २ दशमलब ८ मा पुग्यो । सहरमा पनि उक्त समयमा १ दशमलब ६ मा पुगेको देखिन्छ । सन् २०१६ मा ग्रामिण क्षेत्रमा बसोबास गर्ने एक महिलाले २ दशमलब ९ अर्थात ३ जना र सहरमा बस्नेले २ जना जन्माउने गरेका थिए । यो तथ्यांकलाई हेर्दा बच्चा जन्माउने क्रम निरन्तर घटबढ भइरहेकाले परिवार नियोजनका साथनमा रोक लगाउने भन्दा पनि यसलाई थप प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।

परिवार नियोजन सेवामा नेपालको सफलता

सन् १९७६ देखि २०१६ कोबिचमा कुल प्रजनन दर ६.३ बाट २.३ मा झरेको छ । परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ५३ प्रतिशतमा पुगेको छ । सन् १९९६ देखि २०१६ कोबिचमा परिवार नियोजन साधनको अपरिपुर्त माग ३१ देखि २४ मा झरेको छ ।

हालसम्म ८ वटा आधुनिक परिवार नियोजनको साधन/विधि उपलब्ध छ । त्यस्तै दुर्गम स्थानमा लामो अवधिको परिवार नियोजनको साधनको पहुँचमा बृद्धि भएको छ ।

नेपालमा कुल प्रजनन् दर घट्नुको कारण

नेपालमा पछिल्लो समय कुल प्रजनन् दर घट्नुको मुख्य कारण दम्पति साथमा नहुनु र बिबाहको उमेर बढ्नु रहेको छ । गर्भनिरोधक साधनको प्रहुँच र प्रयोगमा कमि आएमा कुल प्रजनन्दर घट्ने होईन वरू अनिच्छित गर्भ बढ्ने र असुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भई महिलाको स्वास्थ्यमा जोखिम बढ्ने अधिकारीहरु बताउँछन् । जुन तथ्यांकले पनि स्पष्ट पारेको छ ।

नेपालमा सन् २००६ देखि २०१६ कोबिचमा कुल प्रजनन् दर ३ दशमलब १४ बाट २ दशमलब ३५ अर्थात् २५ दशमलब १ प्रतिशत घटेको थियो । यसरी घट्नुमा दम्पति साथमा नरहनु १० दशमलब ८४ प्रतिशत, विवाहको उमेर बढ्दै जानु १० दशमलब ५५ प्रतिशत, गर्भपतन गराउनु ५ दशमलब २१ प्रतिशत र गर्भनिरोधक साधनको प्रयोग ४ दशमलब ४० प्रतिशत रहेको छ ।

बच्चा जन्माउने चाहना भएमा गर्भधारण गर्न सक्ने व्यवस्था छ

कुनै एनजीओ, आइएनजीओको स्वार्थमा परिवार नियोजनका साधनको प्रयोगमा प्रतिबन्ध लगाउने कुरा चिकित्सक गर्दैछन् त्यस विषयमा हामी खोज्ने नै छौैं । तर, परिवार कल्याण महाशाखाले बताए अनुसार एक दशक यता स्थायी बन्ध्याकरण सेवाको प्रतिशत घटेको छ भने लामो अवधिको अस्थायी गर्भनिरोधका साधनहरूको प्रयोग बढेको छ ।

यदि दम्पतिलाई बच्चा जन्माउने चाहना भएमा अस्थायी विधि प्रयोग गर्न छाडेको केही समयमै गर्भधारण गर्न सक्दछन । परिवार नियोजनलाई जनसंख्या नियन्त्रणका लिएका मुलकमा अस्थायी भन्दा स्थायी विधिमा बढि जोड दिईन्छ भने नेपालमा स्थायी विधि र अस्थायी विधिको साधन ६ वटा रहेको छ ।

प्रजननदर बढाउन बच्चा जन्माउन प्रोत्साहन गर्नुपर्छ

डा. जागेश्वर गौतम
वरिष्ठ प्रसूति रोग विशेषज्ञ
नेपालमा अब परिवार नियोजनाले धेरै प्राथमिकतामा राख्नुभन्दा परिवार संयोजनलाई प्राथमिकतामा राख्नुपर्छ । यो कुरा मैले विगत दश वर्षदेखि भन्दै आएको छु । राज्यले बच्चा धेरै जन्माए भनेर रोक्ने हैन, बच्चा नभएका मानिसहरुलाई कसरी बच्चा दिने भन्ने कार्यक्रम पनि सरकारले ल्याउनु पर्छ । अहिले बच्चा नभएकाहरुको उपचार, इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टर अर्थात् टेस्टट्यूब बेबी सरकारी अस्पतालमा चलाउने योजना हुनुपर्छ । मुस्लिम समुदाय र पहाडतीर बच्चाको संख्या धेरै देखिएको छ, त्यहाँ घटाउँन लाग्नुपर्छ ।

सहरमा बस्नेहरुको बच्चा एउटा मात्रै हुन्छ । धनि मानिसहरुले बच्चा पाउँन छाडेका छन् । त्यसैले पढाउन लेखाउँन सक्नेहरुले बच्चा पाउँनु पर्छ । ३० वर्ष अगाडी जापानमा जे समस्या थियो अहिले हामी त्यही अवस्थामा आएका छौं । यदी हामीले बच्चा नपाएको खण्डमा अब विद्यालय, कलेजहरु बन्द गर्नुपर्ने हुन सक्छ । अहिले विदेशमा नेपाली काम गर्न भएका छन् भोलिको दिनमा नेपालमा बाहिरबाट मान्छे ल्याउनुपर्ने हुन्छ । त्यस बेला निकै महँगो हुने छ । अब परिवार नियोजन मात्रै भनेर बस्ने बेला भएको छैन ।

४६ प्रतिशत मात्रै योग्य जोडिले परिवार नियोजनका साधनको प्रयोग गरेका छन् । तर, अब यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउँछु भन्ने बेकारको कुरा हो । जसलाई चाहिन्छ उसलाई परिवार नियोजनका साधनको प्रयोग गर्न दिने तर, जसले बच्चा जन्माउन चाहन्छ उसलाई अलि बढी हौसला दिनुपर्छ । देश चलाउन प्रजनन दर बढाउनु पर्छ ।

प्रजननदर बढाउने भए शिक्षा र स्वास्थ्यमा राज्यले ध्यान दिओस्

कविता अर्याल,
वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक

प्रजननदर बढाउँन स्वस्थ्यले मात्र काम गरेर सम्भव हुँदैन । यसका लागि बहुक्षेत्रीय रुपमा नीतिहरु आउन आवश्यक छ । महिलालाई रोजगारीका साथै अन्य वृत्ति विकासका अवसरको सुनिश्चित गर्नु पर्छ । बच्चा जन्माउने विषयमा हुन सक्ने विभेद र बाधा हटाउनु पर्छ । सुत्केरी बिदा सुत्केरी भत्ता बढाउनु पर्ने हुन्छ ।

बच्चा जन्मेपछि उनिहरुको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खर्चलाई कसरी धेरैभन्दा धेरै कम गराउँन सकिन्छ यसमा पहिला गृह कार्य गर्नपर्ने छ । यतिले मात्रै सम्भव हुँदैन स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेशीने अवस्थालाई कसरी कम गर्न सकिन्छ र गर्ने भनेर योजना सहित लागु गराउनुपर्छ ।

अहिले केही व्यक्तिहरुले जनसंख्या अपेक्षा अनुसार बढेन त्यसको मुख्य कारण परिवार नियोजनका साधनहरुको बढी प्रयोग हो भनेर अभिव्यक्ति दिएको सुन्नमा आएको छ । तर, हाम्रो कयौं तथ्यांकहरुले यसलाई कुनै पनि कोणबाट पुष्टि गरेको छैन र गर्ने आधार पनि देखिएको छैन । त्यसैले जनसंख्या बढाउने हो भने, परिवार नियोजनका साधनमा प्रतिबन्ध हैन, पहिला विदेश गएका नेपाली रोकौं, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरौं अनि यस्ता कुराको वकालत गरौं ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##कविता अर्याल, ##गर्भपतन, ##जनगणना, ##डा जागेश्वर गाैतम, ##नेपालको जनसंख्या, ##प्रजनन दर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com