भ्यू टावरबाट देखिने दृश्य

आधारभूत अस्पताल हैन, पीडाले छटपटाएका नागरिक हेर्न अग्ला टावर तयार भए


घटना १

एकहप्ता अगाडि बाजुरा जिल्ला हिमाली गाउँपालिकाकी एक महिला बाटोमै सुत्केरी भएको फोटो सामाजिक सञ्जालभरी फैलिएको छ । नजिकै अस्पताल नभएपछि उनी गाउँपालिकाकै रुघिन स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा जन्माएकी हुन् । राज्यले आमा सुरक्षाका नाममा हरेक वर्ष ठूलो रकम खर्च गर्दै आएको छ । तर, यस्ता दृश्यले सो रकम पनि भोज भतेरमै ठिक्क हुने गरेको अनुमान लगाउन सकिन्छ ।

घटना २

गत फागुनमा बाजुराको बिच्छा वडा नम्बर १ मा एक महिला सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा जाँदै थिइन् । जाँदाजाँदै बिच बाटोमा व्यथाले च्यापेपछि उनी ढुंगाको पर्खालमा अडेस लागेर बसिन् । फिल्डमा निस्केकी अनमी सरिता घिसिङले बाटोमा सुत्केरी भएको देखेपछि त्यही कोठाबाट आवश्यक स्वास्थ्य सामग्री ल्याएर सेवा गरेकी थिइन् । उक्त स्थानमा अस्पताल नभएकाले घिसिङ दिन बिराएर गाउँगाउँ सेवाका लागि जानेगरेकी छिन् ।

संविधानले नै प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा आफ्नो नगरपालिकामा नभएकै कारण अहिले पनि दुर्गमका महिलाहरु जोखिमपूर्ण रुपमा बच्चा जन्माउन बाध्य भएका छन् । स्वास्थ्य सस्था जान सडक छैन, बाटैमा बच्चा जन्माउनु परेको छ । तर स्वास्थ्य सस्था बनाउन छाडेर वल्लो घरबाट पल्लोघर हेर्न छ्यापछ्याप्ती भ्यूटावर बनाइएको छ ।

दिदीबहिनीहरु बाटोमा सुत्केरी भएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीलाई यस विषयमा खोजबिन गर्नु पर्छ भन्नेसम्म ज्ञान छैन । यी दुई सुत्केरी भन्दा अघि र पछि पनि गर्भवती महिला यसैगरी ज्यान जोखिममा राखेर सेवा लिन दौडिरहेका छन् ।

बाजुराकी सुत्केरी महिला त एउटा उदाहरण मात्र हो, देशैभर स्वास्थ्यचौकी र औषधि बिना सर्वसाधारणको जीवन कष्टकर बनेको छ । तर, आधारभूत स्वास्थ्य सुविधाको पर्खाइमा रहेका नागरिकप्रति कुनै जिम्मेवारीबोध बिना स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका र देशकै नेतृत्व गरेका र गर्न तम्सिएका नेताहरू करोडौंका भ्यू टावर उद्घाटन गर्न जिल्ला दौडाहामा निस्किएका छन् ।

रोल्पामा जनयुद्ध स्मृति भ्यु टावर(फोटोफिचर) | Outline News Serviceस्वास्थ्य लाइभले गरेको एक अध्ययनले भ्यू टावर भएका धेरै पालिकामा आधारभूत अस्पताल समेत छैन । बाजुराको हिमाली गाउँपालिकामा आधारभूत अस्पताल छैन । १० शय्याको आधारभूत अस्पताल बनाउन बजेट विनियोजन भएको छ तर, अस्पतालभन्दा भ्यू टावरमा सबैको ध्यान गएको छ । बाटामा सुत्केरी हेर्नै भ्युटावर बनाए जस्तो अनुभूति जनताले गरेका छन् ।

आधारभूत अस्पताल नबनाएर धमाधम भ्यू टावर बनाएको देखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्तिको संज्ञा दिदै एकै दिन एकै पटक ०७७ मंसिर १५ गते ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर, पहिलोपटक सबैलाई ६० लाख देखि १ करोडसम्म डिपिआर तयार गर्नका लागि रकम विनियोजन गरिएको थियो । तर जनतालाई स्वास्थ्य सेवा दिने आधारभूत अस्पताल बनेनन् बरु बिरामी पीडाले छटपटाएका नागरिक हेर्न अग्ला भ्यू टावर तयार भए ।

देशभर ७५३ पालिका रहेका छन् । उक्त पालिकामध्ये आधारभूत अस्पताल नभएका पालिकोको संख्या ६५५ वटा रहेको छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ३९६ र दोस्रो चरणमा २५९ वटा गरी दुई वर्षमा सबै निमार्ण गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म अधिकांश स्थानमा निर्माण सुरु भएको छैन । बरु भ्यू टावर बनिरहेका छन् । भ्यू टावर भएका तर, आधारभूत अस्पताल नभएका केही उदाहरण हामीले प्रस्तुत गरेका छौं ।

तनहुँ शुक्लागण्डकी नगरपालिका

तनहुँ शुक्लागण्डकी नगरपालिकामा आधारभूत अस्पताल निर्माण भएको छैन । तर, त्यहाँ सेतो भ्यू टावर ठडिएको छ । उक्त नगरपालिकामा अघिल्लो वर्षनै स्वास्थ्य मन्त्रालयले १५ शय्याको आधारभूत अस्पताल बनाउने भनेर रकम पठाएको छ । डिपिआर तयार पार्न भनेर १ करोड रुपैयाँ लगेको छ । विवरण हेर्दा पैसा लगेर अहिलेसम्म सम्पर्कमा आएको छैन ।

तनहुँ भानु नगरपालिका

तनहुँको भानु नगरपालिकामा पनि १५ वेडको आधारभूत अस्पतालका लागि स्वीकृत भएको छ । फलामै फलामको भ्यू टावर बनेको छ तर, अस्पताल बनेको छैन । तथ्यांक हेर्दा काम भइरहेको देखिएको छ ।

दैलेख गुराँस गाउँपालिका

दैलेख गुराँस गाउँपालिकामा पनि भ्यू टावर तयार भएको छ तर, आधारभूत अस्पताल निर्माण भएको छैन । १५ वेडको आधारभूत अस्पताल निर्माण गर्न अघिल्लो वर्ष १ करोड गाउँपालिकाले लगेको स्वास्थ्य मन्त्रालयको रेकर्डले देखाउँछ । तर, त्यसपछि दैलेख गुराँस गाउँपालिकाले कुनै प्रगतिको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई दिएको छैन । आधारभूत अस्पताल निर्माणका लागि भन्दै बजेट समेत लगेको गाउँपालिकाले बरु भ्यू टावर बनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका

मोरङको मिक्लाजुङ गाउँपालिकामा आधारभूत अस्पताल छैन । सरकारले यस गाउँपालिकालाई आधारभूत अस्पताल बनाउँनका लागि अघिल्लो वर्ष ७० लाख रुपैयाँ दिएको थियो । १० वेडको अस्पताल बनाउन ८ करोड ५८ लाख बढी लागत अनुमान गरिएको छ । दोस्रो किस्ता लगेको गाउँपालिका अहिले आधारभूत अस्पताल होइन भ्यू टावर बनाउनमा व्यस्त देखिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका

उदयपुरको चौदण्डीगढी नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने हो । यो कार्यक्रम यसै वर्ष अर्थात् २५९ आधारभूत अस्पतालको योजनाभित्र परेको हो । चौदण्डीगढीले डिपिआरका लागि २ करोड रुपैयाँ लगेको छ । तर यहाँ पनि जनताको आधारभूत आवश्यकतालाई पछाडि पारेर भ्यू टावर निर्माण गरिएको छ । यो नगरपालिकामा अस्पतालभन्दा भ्यू टावर निर्माणले प्राथमिकता पाएको छ ।

संखुवासभा मादी नगरपालिका

संखुवासभाको मादी नगरपालिकामा आधारभूत अस्पताल निर्माण गरिएको छैन तर, भ्यु टावर निमार्ण भइरहेको छ । १५ वेडको आधारभूत अस्पताल निमार्णका लागि ८५ लाख रकम लगिसकेको छ । यस वर्ष निर्माण सम्पन्न हुनुपर्नेमा अहिलेसम्म काम अगाडि बढेको छैन ।

बाग्लुङ जैमिनी नगरपालिका

बाग्लुङ जैमिनी नगरपालिकामा आधारभूत अस्पताल छैन । अस्पताल नभएपछि यस वर्ष निर्माण गर्ने उदेश्यले कार्यक्रम अगाडि बढेको छ । १५ बेडका लागि १८ करोड भन्दाबढी रकम पाउने भएको छ । यो नगरपालिकामा पनि अस्पताल नहुँद नहुँदै भ्यू टावर भने खडा भएको छ ।

अर्घाखाँची फणिनी गाउँपालिका

आधारभूत अस्पताल नभएको गाउँपालिकामध्ये अर्घाखाँचीको फणिनी गाउँपालिका पनि एक हो । १५ वेडको आधारभूत अस्पताल बन्न लागेको फणिनी गाउँपालिकामा आधारभूत अस्पतालभन्दा पहिला भ्यू टावर खडा भएको छ ।

काभ्रेको रोशी गाउँपालिका

काभ्रेको रोशी गाउँपालिकामा आधारभूत अस्पताल बनेको छैन । १० वेडको अस्पताल निमार्ण गर्न अघिल्लो वर्षनै ८५ लाख रकम परेको थियो । तर, त्यसको हिसाब अहिलेसम्म देखिएको छैन । तर, अस्पतालभन्दा भ्यूटावर बनाउँदा फाइदा हुने भएपछि अधिकारीहरु त्यसैतर्फ लागेका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका

बर्दिया ठाकुरबाबा नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने क्रममा छ । उक्त पालिकामा अस्पताल नभएपछि सरकारले १५ शैय्याको बनाउने भनेर दुई किस्ता रकम लगिसकेको छ । तर, यहाँ पनि आधारभूत अस्पतालभन्दा पहलिा भ्यू टावर ठडिएको छ ।

कञ्चनपुर वेदकोट नगरपालिका

कञ्चनपुर वेदकोट नगरपालिकापनि आधारभूत अस्पताल नभएको पालिका हो । अघिल्लो वर्ष ओली सरकारले १५ वेडको अस्पताल बनाउँन १ करोड डिपिआरका लागि दिएको थियो । रकमको सुनिश्चितता भएपनि काम नगरेकाले अहिलेसम्म दोस्रो किस्ता पाएको छैन । बरु ५ तलाको सुरिलो भ्यू टावर ठडिएको छ ।

नुवाकोट वेलकोटगढी नगरपालिका

नुवाकोटको वेलकोटगढी नगरपालिका पनि आधारभूत अस्पताल बिहीन भएको छ । बरु भ्यू टावल तयार भएको छ, अस्पतालको कुनै सुरसार छैन । १५ वेडको वेलकोटगढी नगरपालिकाले अहिलेसम्म रकम पाएको छैन ।

स्वास्थ्य लाइभले प्रस्तुत गरेका आधारभूत अस्पतालभन्दा भ्यू टावरलाई प्राथमिकता दिने यी केही स्थानीय तह मात्र हुन् । देशैभर अस्पताल नबनाएर भ्यू टावर बनाउने स्थानीय सरकार धेरै छन् ।

अस्पताल बनाउँदा कमिसन नपाउने भ्यू टावर बनाउँदा सीधै कमिसन खल्तीमा पर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको ध्यान भ्यू टावरमा गएको देखिन्छ । भ्यू टावरले जनप्रतिनिधहरुको चेत र राज्यको प्राथमिकता के हो भन्ने उदांगो भएको छ । कमिसनको चक्करमा धमाधम भ्यू टावर बन्दा आधारभूत अस्पताल निर्माणको काम मृत्यु शय्यामा पुगेको छ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्यकर्मी, ##पालिका, ##भ्यु टावर, ##शिशु, ##सुत्केरी महिला, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com