भोजपुर अरुण गाउँपालिकाको अध्यक्ष भएर चलाउने पूर्व स्वास्थ्यमन्त्री गगन थापाको रहर


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अरुण गाउँपालिकाको अध्यक्ष भएर गाउँपालिका चलाउने रहर गरेका छन् । भोजपुर जिल्ला अरुण गाउँपालिकाको केन्द्र प्याउली पुगेका पूर्व स्वास्थ्यमन्त्री थापाले आफू अरुण गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने स्पष्ट पारे ।

स्वास्थ्यमन्त्री हुँदा प्याउलीको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा डाक्टर पठाएका थापाले अरुण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार शालिकराम खत्रीलाई जिताए आफूले अरुण गाउँपालिकाको अध्यक्ष भएर चलाउने इच्छा व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले प्याउलीमा पुगेर विकासको बिगुल फुकेका छन् ।

अरुण गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार हरेक क्षेत्रको विकास र विस्तारमा आफूले केन्द्रबाट पहल गर्ने उनको भनाइ छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई साथमा लिएर भोजपुरको अरुण गाउँपालिकाको केन्द्र प्याउली पुगेका थापाले अरुण गाउँपालिकाको हरेक विकास र व्यवस्थापनमा आफूले भूमिका खेल्ने विश्वास दिलाए ।

अरुण गाउँपालिकालाई अयान्तै माया गर्ने भएकाले थापाले अरुण गाउँपालिकाको विकासमा साझेदारी खोजेको नेपाली कांग्रेस अरुण गाउँपालिकाका उपाध्यक्ष डिल्ली सापकोटाले जनाए । थापाले अरुण गाउँपालिकालाई देशकै नमूना गाउँपालिकाको रुपमा विकास गर्न चाहेको सापकोटाको भनाइ छ । अरुणको विकास र समृद्ध अरुणको सपनामा थापाले नयाँ ऊर्जा थपेको उनले बताए ।

शालिकराम खत्रीलाई अरुण गाउँपालिकाको अध्यक्षमा जिताउनु आफूलाई जिताए सरह भएको थापाको उद्‌घोषले अरुण गाउँपालिकालाई नयाँ उचाईमा पुर्‍याएको सापकोटाको तर्क छ । गगन थापाको भोजपुर आगमनले अरुणवासीहरु निकै उत्साहित भएको उनले बताए । यो अरुणलाई देशकै नमूना गाउँपालिका बनाउने अवसर समेत रहेको सापकोटको धारणा छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की नेपाली कांग्रेसको भावी सभापति र भावी प्रधानमन्त्रीको सम्भावना बोकेका गगन थापाको उपस्थितिले अरुण गाउँपालिकाले विकासमा नयाँ मोड लिएको बताउँछन् । स्वास्थ्य, शिक्षा, रोजगारीलगायत सबै क्षेत्रमा थापाले विशेष पहल लिने डा. कार्कीले सुनाए । भोजपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि लिएर सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका डा. कार्कीले अरुण गाउँपालिका र भोजपुरको विकासका लागि पूर्व स्वास्थ्यमन्त्री थापालाई लिएर भोजपुर गएका हुन् ।

गगन थापाको पछिल्लो प्रतिबद्धताले अरुणलाई केन्द्रको पहुँच र विकाससँग जोडेको अरुण गाउँपालिकामा चर्चा चल्न थालेको छ । थापाको घोषणा अनुसार अब कांग्रेसबाट अरुण गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका शालिकराम खत्री गगन थापाकै रुपमा उदाएका छन् । अरुण गाउँपालिकामा शालिकराम खत्रीलाई जिताउनु गगन थापालाई जिताए सरह हो भन्ने अरुणवासीले हेक्का राख्नु पर्ने सापकोटाको धारणा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अरुण गाउँपालिका, #अरुण गाउँपालिका भोजपुर, #डा. लोचन कार्की, #डिल्ली सापकोटा, #नेपाल चिकित्सक संघ, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #विकास, #शालिकराम खत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com