कोरोनाकालमा काष्ठमण्डप ठड्याउन भूमिका खेल्ने मगैया काठमाडौं बनाउने योजनामा


काठमाडौं । शुक्रबार हुने स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको उपमेयरमा उठेका उम्मेदवारमध्ये सुनीता डंगोलको सबैभन्दा बढी चर्चा छ । मेयरको स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत गरेर नेकपा एमालेबाट उपमेयरमा उठेपछि उनको चर्चा चुलिएको छ ।

गठबन्धनको तर्फबाट सिर्जना सिंहको टिमबाट कलम चिन्ह लिएर उठेका अर्का उम्मेदवार रामेश्वर श्रेष्ठको पनि हल्का चर्चा छ । तर भूकम्पले भत्किएको काष्ठमण्डपलाई पुरानै स्वरूपमा फर्काएर काठमाडौंको संस्कृति र सभ्यताको जगेर्ना गर्ने एजेण्डा बोकेकी उपमेयर उम्मेदवार बिनिता मगैयाको भने खासै चर्चा भएको छैन ।

सामाजिक सञ्जालको भीडमा काठमाडौंको सभ्यता, संस्कृति, प्रथा, संस्कार र परम्परालाई जगेर्ना गर्ने अठोटका साथ अघि बढेकी मगैया छायाँमा परेको देखिन्छ । राप्रपाबाट मदनदास श्रेष्ठको उपमेयर बनेर उठेकी मगैया खोप इन्जिनियरिङ कलेज भक्तपुरबाट स्नातक तहको आर्किटेक्चर गरेर ३ वर्ष काठमाडौंमै योगदान पुर्‍याएकी छिन् ।

पशुपति जयवागेश्वरीको रैथाने नेवार परिवारमा जन्मिएकी मगैयाले हुवावे टेक्नोलोजीजमा प्रोजेक्ट आर्किटेक्टको रुपमा काम गरेको अनुभव पनि छ । हुवावेमा काम गर्दा गर्दै नेपालमा महा भूकम्प गयो । भूकम्पका कारण ठूल्ठूला संरचनाहरू पूर्ण रुपमा ध्वस्त भए । यो बेला काठमाडौंको रामकोटमा खटिएकी मगैया डरलाग्दो अनुभव सुनाउँछिन् । त्यही शिलशिलामा भूकम्पले क्षति भएका मुख्य सम्पदाहरु कसरी पुनर्जीवित गर्न सकिन्छ भनेर उनले सक्रियापूर्वक काम गर्न थालिन् ।

भूकम्पले भत्किएका सम्पदा संरक्षण गर्ने अभियान थालेकी मगैयाले त्रिपुरेश्वरको कालमोचन घाटमा भएको ‘जंग–हिरण्य–हेम नारायण मन्दिर पुनर्निर्माणका लागि स्वयंसेवकको रुपमा खटिएको मगैया सुनाउँछिन् । उक्त मन्दिरमा रहेको पुरातात्विक महत्त्वका सामानहरुको लेखाजोखा गर्ने काममा उनको मुख्य भूमिमा रहेको थियो । आफूहरूले तयार पारेर बुझाएको उक्त कागजातको अवस्थाको विषयमा भने अहिलेसम्म जानकारी पाउन नसकेको मगैयाको भनाइ छ ।

मगैया बेल्जियमबाट यसै विषयमा मास्टर्स गरेर उनी नेपाल फर्किएपछि काष्ठमण्डप पुनर्निमाण गर्ने अभियानमा जुटिन्। रानीपोखरी लगायतका सम्पदामा कंक्रिट संरचना बन्न थालेपछि सेभ हेरिटेज मुभमेन्टमार्फत उनले काष्ठमण्डप संरक्षण अभियामा सामेल हुन थालिन् ।

काष्ठमण्डपसँग जोडिएको गुठियारहरुसँग भेटेर मगैयाले भूकम्पले ढलेको काष्ठमण्डपकोबारेमा अनुसन्धान सुरु गरिन् । काष्ठमण्डप पुनर्निर्माण अभियानमार्फत उनी काष्ठमण्डपलाई पुनर्निर्माण गर्ने काममा जोडिन् । काष्ठमण्डप पुनर्निर्माणका लागि ड्रोइन, डिजाइन स्टिमेट निकाल्ने काममा मगैयाको महत्त्वपूर्ण भूमिका रह्यो ।

नवीन्द्रराज जोशी नेतृत्वको एउटा समूहले काष्ठमण्डप पुनर्निमाणको अभियान चलाइरहेको बेला काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएको र उक्त नेतृत्वले काष्ठमण्डपलाई राष्ट्रिय गौरवको आयोजना भएकाले आफै गर्न खोजेको उनले बताइन् । पुनर्निर्माण प्राधिकरणबाट महानगरपालिकाको हातमा काष्ठमण्डप पुनर्निर्माणक  जिम्मा पुगेलगत्तै उनले काम छाड्ने विचार गरेकी थिइन् । तर काष्ठमण्डप पुनर्निर्माण त्यो कामका लागि मगैयालाई नै खोज्यो । काष्ठमण्डप पुनर्निर्माण समितिको मातहतमा रहेर काष्ठमण्डप पुनर्निर्माण जिम्मा उनले लिइन् ।

मगैयाको नेतृत्वमा हनुमानढोकाको मसानचोकमा थुपारेर राखेेको हरेक काठको डिजाइन, बट्टादेेखि हरेक विषयमा अध्ययन गरेर पहिलाकै जस्तो बनाउने काम भयो । काठलाई केलायर जोडिने ठाउँ पत्ता लगाएर पुरानै शैलीमा काष्ठमण्डप ठड्याउँने काममा उनी निरन्तर लागि परिन् । काष्ठमण्डप बज्रयान पद्धतिबाट बनाउन निकै मेहनत गर्नु परेको मगैया सुनाउँछिन् । कोरोनाकालमा निर्माण क्षेत्र खुला रहेकाले काष्ठमण्डप छिटो बनेको उनको दाबी छ ।

कोभिडको समयमा अनुभवै नभएका कामदार ल्याएर दक्ष बनाएर काममा लगाउन सफल भएकोमा मगैया खुसी व्यक्त गर्छिन् । कोभिडको समयमा काष्ठमण्डप पुनर्निर्माणको काम रफ्तारमा बढेको उनको भनाइ छ । काष्ठमण्डपलाई पुर्जीवित गर्ने नेतृत्व गरेकी मगैया काठमाडौं महानगरपालिकाको उपमेयर बनेर काठमाडौंका सम्पदाहरु जोगाउन चाहन्छिन् । काठमाडौंमा व्यवस्थापन गर्न सके धेरै कुरा सुधार हुने उनको विश्वास छ ।

अस्पतालमा स्वच्छ पानी मात्र दिन सक्यो भने जनस्वास्थ्यमा राम्रो हुने मगैया बताउँछिन् । बोत्तलको पानी पिउँदा स्वास्थ्य र वातावरण दुबै बिग्रिने भएकाले सानो कुरा व्यवस्थापन गर्न सके ठूलो योगदान पुग्ने उनको तर्क छ ।

आफ्नो विषय सम्पदा भएकाले काठमाडौंको सम्पदा संरक्षण गर्नका लागिनै आफू उपमेयरमा उठेको मगैयाको दाबी छ । सम्पदा देखिने र आकर्षणको कुरा भएकाले यसको संरक्षण गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ । गुठी प्रथालाई प्रोत्साहन गर्दै सम्पदा संरक्षणमा लगाउन सके सम्पदा र संस्कृतिको संरक्षणमा धेरै ठूलो योगदान पुग्ने मगैयाको ठम्याइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उपमेपर उम्मेदवार, #काठमाडौं महानगरपालिका, #काष्ठमण्डप, #बिनिता मगैया, #राप्रपा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com