हप्तामा दुई दिन विदाले स्वास्थ्य क्षेत्र ‘सत्यनास’, सरकारी सुके निजी फुके


काठमाडौं ।  सरकारले १४ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन ( शनिबार र आइतबार) विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका थिए । उक्त निर्णय १ जेठबाट लागू समेत भएको छ । तर, स्वास्थ्य क्षेत्रमा भने यो निर्णयले अत्यन्तै ठूलो असर पारेको छ ।

सरकारले शनिबार र आइतबार विदा दिएको भन्दै चिकित्सकहरुले ठूला सरकारी अस्पतालमा ओपीडी नहेर्दा बिरामी निजी अस्पतालतर्फ आकर्षित भएका छन् । त्रिवि शिक्षण अस्पतालमा ओपीडी संचालन गरिएपनि वीर अस्पतालमा ओपीडी संचालन गरिएन ।

देशभरका गरिब बिरामी उपचारका लागि आउँने वीर अस्पतालमा ओपीडी सेवा लिन आउँनेहरुको आइतबार बिहान ठूलो भिड थियो । तर, विदा भन्दै सेवा बन्द हुँदा झण्डै २५ सय बिरामी निरास भएर निजी अस्पतालमा जान बाध्य भए ।

वीर अस्पतालको रेकर्ड अनुसार दैनिक १५ देखि २ हजार बिरामी अस्पतालमा सेवा लिनका लागि जाने गरेका छन् । अस्पतालका अनुसार शनिबार विदा भएकाले आइतबार २५ सय बढी बिरामी ओपीडी सेवा लिनका लागि अस्पताल पुग्ने गरेका थिए । तर, अहिले शनिबार र आइतबार दुई दिन विदा हुँदा ओपीडी सेवा लिनेदेखि अन्य उपचारको पालो पाउँनै बिरामीलाई मुस्किल परेको छ ।

सरकारी अस्पतालमा शल्यक्रियाको समय महिनौं पर धकेलिएको छ । सिटी स्क्यान, एमआरआई, एक्सरे सेवा लिन महिनौं कुर्नुपर्ने अस्पतालले जनाएको छ । सरकारले गरेको दुई दिन विदा दिने निर्णयले स्वास्थ्य क्षेत्र ‘सत्यनास’ भएको छ । उक्त निर्णयले चिकित्सक सरकारी अस्पतालमा बिरामी हेर्न छाडेका छन् । तर सरकारी चिकित्सकहरु भने निजीमा गइरहेका छन् । यसले सरकारी अस्पताल सुक्न देखिएको छ भने, निजी अस्पताल निजी फुक्न थालेका छन् । अहिले निजी अस्पतालमा ओपीडी सेवा लिने बिरामीहरु बढेका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनी दुई दिन विदा दिने निर्णयले अस्पताल विकास समितिको आयमा निकै असर पर्ने बताउँछन् । ‘स्वास्थका कर्मचारीले पनि यो सुविधा पाउनुपर्छ’, उनले भनेका छन्, ‘तर यसले अस्पताल विकास समितिको आयमा निकै असर पर्ने देखिन्छ ।’, डा. मरासिनीले यो निर्णयले अस्पतालहरुमा शल्यक्रियाको व्यवस्थापन झन कठिन हुने उनको तर्क छ । सरकारी अस्पताल बन्द हुने र निजी अस्पताल सन्चालन हुँदा सरकारी अस्पताल प्रतिको आकर्षण झन घट्दै जाने डा. मरासिनी बताउँछन् ।

चिकित्सकहरुले स्वास्थकर्मिलाई पनि बिना थप सेवा सुविधा अतिरिक्त काम गराउनु न्यायोचित नहुने बताएका छन् । स्वास्थकर्मिहरुलाई एक वर्षमा (५२ हप्ता) दुई महिना बराबरको थप तलब दिएर अस्पतालको नियमित सेवा आइतबार पनि चलाउदा सबैभन्दा उपयुुक्त हुने देखिन्छ । डा. मरासिनीको बिचारमा अधिकाशं चिकित्सक सहमत देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा अतिरिक्त ओपीडी र शल्यक्रिया सेवा आइतबार संचालन गर्दा निकै राम्रो हुने सुझाव दिन्छिन । वरिष्ठ स्वास्थ्यकर्मी ओमप्रसाद उपाध्याय यो विषयलाई सबैले गम्भिर रुपमा लिन जरुरी भएको बताउँछन् । डा. मनि प्रसाद गौतमको विशिष्ट सेवा को घोषणासहित दशै/तिहार विदाबाहेक अन्य विदाको दिन र आइतबार पनि ओपीडी खोल्ने, तर अन्य सरकारी विदाको हकमा सट्टा विदा लिन पाउने शर्तमा अहिलेको तलब स्केलमा १००% विशिष्ट सेवा भत्ता दिनु राम्रो हुने तर्क गर्छन् ।  यता डाक्टर दिपेन्द्र पाण्डे भन्छन्, ‘ दुई महिना बराबरको तलब दिन्छु भनी घासपनि हाल्लान तर दिनेवाला छैनन् । एक चिकित्सक एक अस्पताल नारा लागू गराएर अलपत्र पारेको घाऊ अझै दुख्छ । बरु २ दिन विदा लिऔं, परिवारलाई समय दिऔं ।’, उनी भन्छन् ।

स्वास्थ्य सेवा विभागका पूर्व उमहानिर्देशक चुडामणी भण्डारी अब ३६५ दिन नै पालो मिलाएर सेवा संचालन गर्नुपर्ने सुझाव दिन्छन् । स्वास्थ्यकर्मीलाई सुविधा दिएर सेवा सुचारू गर्नु पर्ने उनको तर्क छ ।

सरकारी चिकित्सक संघका महासचिव कीर्तिपाल सुवेदी केही सिनियर चिकित्सकको सरकार निकट हुने प्रयासबाहेक केही नभएको बताउँछन् । उनले लेखेका छन्, ‘आफूअन्तर्गत चिकित्सक ओवर वोक्र्ड भएको कुरा कहिले महसुस नगरेको यसले देखाउँछ । यो एउटा मौका थियो जुन उहाहरुको लहडले गर्दा गुमाउने भयो । अब हाकिमहरुले कहिले पनि अरु चिकित्सकहरुको चिन्ता गरे जसरी नबोले नि भयो ।’,

क्याटेगोरी : समाचार
ट्याग : ## नेपाल सरकार, #किर्तिपाल सुवेदी, #दिपेन्द्र पाण्डे, #मरासिनी, #स्वास्थ्य क्षेत्र, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हप्ताको दुई दिन विदा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com