बालबालिकालाई दिने कोरोना विरुद्धको खोप जेष्ठ २५ मा आउने, पहिलो मात्रा असार ९ देखि लगाउन सुरु (कहाँ कहाँ लगाइन्छ )


काठमाडौं । लामो प्रयास पछि नेपालले बालबालिकालाई दिने कोरोना विरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोप ल्याउने टुङ्गो लागेको छ । खोपमा नेपालले गरेको प्रगति पछि विश्व समुदायले नेपाललाई सम्मान स्वरुप निःशुल्क ‘पेडियाट्रिक’ फाइजर खोप पठाउने निर्णय गरेका थिए ।

कोभ्याक्स सुबिधा मार्फत ८४ लाख मात्रा खोप जेष्ठ २५ गते आउने भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पहिलो चरणमा २५ जेष्ठ अर्थात ‘जुन ८’ मा २० लाख मात्रा खोप आउने छ ।

नेपालले ९६ प्रतिशत पहिलो मात्रा र ८५ प्रतिशतमा दोस्रो अर्थात पुर्णमात्रा खोप लगाएपछि विश्व समुदायले बालबालिकालाई दिने ‘पेडियाट्रिक’ फाइजर खोप निःशुल्क दिएको हो । यस अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

स्रोतका अनुसार जेष्ठ २५ गते बाट खोप आउन सुरु हुनेछ । बालबालिकालाई दुई चरणमा खोप अभियान संचालन गरिने अधिकारीहरुले बताएका छन् । पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गते सम्म । त्यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको छ ।

अधिकारीहरुका अनुसार बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म संचालन हुने छ । त्यस्तै दोस्रो चरण भाद्र २७ देखि असोज १ गते सम्म संचालन हुने बताईएको छ । सरकारले ‘पेडियाट्रिक’ फाइजर खोप संचालन गर्न आवश्यक पर्ने सबै तयारी पुरा गरेको छ । स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा रुद्र प्रसाद मरासिनीका अनुसार नेपालले खोपमा राम्रो काम गरेपछि कोभ्याक्स सुविधा मार्फत ५ देखि ११ वर्ष उमेर समूहलाई लगाउने फाइजर खोप निशुल्क प्राप्त भएको हो । ‘पेडियाट्रिक’ फाइजर खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो ।
५ देखि ११ वर्षका बालबालिकाका लागि ० दशमलब २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ । १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ० दशमलब ३ एमएलका दरले दुई डोज लगाइएको थियो ।

फाईजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

९ असारमा संचालन हुने जिल्लाहरु

झापा, मोरङ्, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डडेल्धुरा ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com