विकलसँगको सेटिङमा तुलहरि र अकबरले राउटर खरिदमा यसरी गरे गोलमाल


काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले करिब ६ वर्ष अगाडि खरिद गरेको राउटरमा राज्यकोषलाई १ करोड बढीको नोक्सनी भएको छ । विकल पौडेलसँगको सेटिङमा केन्द्रले कम कबोल्ने अकबर हुसेनको म्याक्स इन्टरनेसनलसँग नभइ १ करोड बढी कबोल्ने तुलहरिको शास्त्र कम्पनीसँग उक्त राउटर खरिद गरेको पाइन्छ । यसले राज्यकोषमाथि १ करोड बढी हानी नोक्सानी पुगेको देखिन्छ ।

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा थिए । त्यो बेला केन्द्रले ५ करोडको राउटर खरिद गऱ्यो । उक्त राउटर खरिदमा प्रस्ताव हाल्ने आपूर्तिकर्ता कम्पनी म्याक्स इन्टरनेसनलले ४ करोडभन्दा कम कबोल्यो तर त्यो ठेक्का ५ करोड बढी कबोल्ने शास्त्रले पायो । विकलको योजनामा सुनिलले १ करोड बढी कबोल्नेलाई ठेक्का दिने शास्त्रलाई उक्त राउटरको ठेक्का दिइएको केन्द्रका अधिकारीहरु बताउँछन् ।

राउटरको ठेक्का हत्याउने शास्त्र कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद विवादमा मुछिएको ओम्नीको भगिनी कम्पनी हो । ओम्नीको मालिक तुलहरिकी श्रीमती सुमन सिंहको नाममा रहेको शास्त्र राउटर मात्र होइन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जडान गरिएको भिडिओ कन्फेरेन्सिङ सिस्टमदेखि निर्वाचन आयोगको झन्डै २५ करोडको प्रिन्टर खरिदमा समेत जोडिएको छ ।

विकल सुनिल, तुलहरि र अकबरको सेटिङमा राउटर खरिदका लागि कम कबोल गर्न म्याक्सले केन्द्रलाई ‘प्रस्ताव बमोजिमको काम गर्न सक्दिनँ’ भन्न लगाई १ करोड बढी आर्थिक प्रस्ताव हाल्ने शास्त्रसँग उक्त राउटर खरिद गरेको देखिन्छ । कम कबोल्ने आपूर्तिकर्ताले राउटर आपूर्ति नगरेपछि केन्द्रले सार्वजनिक खरिद कानुनबमोजिम कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने हो । तर, सेटिङ अनुसार काम भएकाले म्याक्सलाई कालोसूचीमा नराखी केन्द्रले अन्य आइटी उपकरण खरिद गर्न दिएको पाइन्छ । यसले पनि केन्द्रले गरेको राउटर खरिदमा घोटाला भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्थापना गरेको ३ अर्बको विद्यालय ल्याब म्याक्स र ओम्नीसहितका कम्पनीले सेटिङमा ठेक्का हत्याएका छन् । म्याक्स र ओम्नी मिलेरै ठेक्का हत्याउने गरेका छन् । राउटरमा पनि म्याक्सका अकबरलाई ‘ब्याक’ गराई १ करोड रुपैयाँ बढी कबोल्ने ओम्नीको भगिनी कम्पनी शास्त्रलाई ठेक्का दिएको देखिन्छ । उक्त १ करोड विकल, सुनिल, अकबर र तुलहरिको खल्तीमा पुगेको चर्चा छ ।

राउटर खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन  गरी राज्यकोषमाथि हानीनोक्सानी पुऱ्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्न जरुरी छ । मिलेमतोमा कसरी घोटाला हुन्छ भन्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रको राउटर खरिद गतिलो उदाहरण हो ।

विकल र सुनिलसँगको सम्बन्धका कारण राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकांश ठेक्का मिलेमतोमा म्याक्स, ओम्नीले पाउँदै आएका छन्। उक्त सूचीमा अहिले नेक्स्ट जेन पनि जोडिएको छ । शास्त्रकी मालिक्नी सुमन सिंहको सिंगापुरमा रहेको ब्याङ्कोटेकमा सुनिल र विकल कन्सल्ट्यान्टको हैसियतमा काम गर्ने गरेको अख्तियार कै अनुसन्धानबाट पुष्टि भइसकेको छ । सुरक्षण मुद्रण केन्द्रको झन्डै ४१ करोडको उपकरण खरिदमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँगै आपूर्तिकर्ता म्याक्सका अकबर हुसेनलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यसले अझै पनि म्याक्स र ओम्नीका डिफ्याक्टो मालिक विकल नै हुन भन्ने देखाउँछ । अकबर र तुलहरि त देखाउन दाँत मात्र भएको टिप्पणी हुँदै आएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत म्याक्स र ओम्नीको सम्पत्ति समेत जाँचबुझ गर्न आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अकबर हुसेन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #ओम्नी, #ओम्नी समूह तुलहरि, #म्याक्स इन्टरनेशनल, #राउटर, #राष्ट्रिय सूचना प्रविधि केन्द्र, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि, #सुमन सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ