वीरगञ्ज नाकामा रहेको हेल्थ डेस्कको हरिबिजोग 


बिरगंज । भारतबाट सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ महिना लागेपछि मात्र भारतबाट फर्किएका तीनजना व्यक्तिमा कोरोना संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर भारत हुँदै अत्याधिक मान्छे भित्रिने पर्साको वीरगञ्ज नाकामा रहेको हेल्थ डेस्कको भने हरिबिजोग छ । सुदूरपश्चिममा प्रदेशका नाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय बनाएपनि वीरगञ्जस्थित हेल्थ डेस्कको आफ्नै परीक्षण गर्नु पर्ने अवस्था देखिन्छ ।

युनिसेफले अनुदानमा दिएको टेन्टभित्र हराएको हेल्थ डेस्क झट्ट हेर्दा फोहोर व्यवस्थापन गर्ने ठाउँ जस्तो भान हुन्छ । प्रहरी चौकीसँगै रुखको आडमा रहेको हेल्थ डेस्कबाटै रोगको संक्रमण फेलिने खतरा देखिन्छ । स्वास्थ्य लाइभका प्रतिनिधि वीरगञ्ज पुग्दा हेल्थ डेस्कको टेन्टभित्र केही स्वास्थ्यकर्मी गुन्गुनाइरहेका देखिन्थे ।  भारतको रक्सौल हुँदै त्यो नाकाबाट भित्रिने कसैको स्वास्थ्य परीक्षण भएको भने थिएन ।

झट्ट हेर्दा आफैं समस्या परेको वीरगञ्ज नाकाको हेल्थ डेस्कले अरुको समस्या र संक्रमण कसरी पत्ता लगाउँछ भन्ने कुरा पनि अहम प्रश्न हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर ठूलो काम गरेर दाबी गर्छ ।

हेल्थ डेस्क स्थापना गर्नु नै ठूलो उपलब्धि ठानेको स्वास्थ्य मन्त्रालयलाई हेल्थ डेस्कको हरिबिजोगको कुनै मतलब छैन । नाम मात्रको हेल्थ डेस्क स्थापना गरेको भनेर जस लिन खोज्ने स्वास्थ्यका उच्च अधिकारीहरुलाई वीरगञ्जको नाकामा रहेको हेल्थ डेस्कले गिज्याइरहेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #वीरगञ्ज नाका, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हरिबिजोग, #हेल्थ डेस्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com