वीपी प्रतिष्ठानमा अख्तियारको छानबिन तीब्र

‘किर्ते प्रा’ उपकुलपतिको खरिद लागत अनुमान पनि ‘किर्ते’ हुने गरेको महालेखाको ठहर


काठमाडौं । ‘किर्ते प्रा’ उपकुलपतिको खरिद लागत अनुमान पनि ‘किर्ते ‘ हुने गरेको महालेखाको ठहर रहेको छ । उक्त विषय अहिले अख्तियारको समेत छानबिनमा पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई “लखनऊ लूट” बनाएर करोडौं कुम्ल्याउन उद्दत पदाधिकारीहरूको उपकरण खरिद सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको हो । अख्तियारबाट केही दिन पहिला प्रतिष्ठानलाई गरिएको पत्राचारमा १६ करोडको आईसीयू उपकरण खरिद सम्बन्धमा ७ दिनभित्र विवरण माग गरिएको छ । उक्त खरिद कार्यमा हाल अख्तियार द्वारा “किर्ते प्राध्यापक” रहेको ठहर गरि विशेष अदालतमा मुद्दा दायर गरि निलम्बित अवस्थामा रहेका तत्कालीन उपकुलपति ज्ञानेन्द्र गिरी मुख्य भूमिका रहेको पाइन्छ ।  इलेक्ट्रोनिक इन्जिनियर भएर पनि गिरीको उपकरण खरिद बापत कमिसन सेटिङमा मुख्य भूमिका खेल्ने गरेको कारण बायोमेडिकल इन्जिनियरको जिम्मेवारी दिइएका राहुल मिश्रको विशेष भूमिका रहेको चर्चा छ । उन  हरेक खरिद कार्यमा कमिसन हिसाब गर्न र व्यापारीसँग वार्गेनिङ गर्न करार सेवामा राखिएका चार्टर्ड एकाउन्टेन्ट अमित यादव संलग्न रहेको प्रतिष्ठानमा चर्चा छ ।

“किर्ते” प्राध्यापकको खरिद लागत पनि किर्ते रहेको महालेखाको ठहर

यसैबीच महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा बीपी प्रतिष्ठानमा खरिद लागत नै अनियमित प्रकारको रहेको निष्कर्ष निकालिएको छ ।  स्मरण रहोस्, खरिद लागत अनुमान आफु अनुकुल गरे पछि नै ठेक्का रकममा चलखेल गर्ने बलियो आधार बन्दछ । “आफू अनुकूल व्यापारीको घरमा बसेर सल्लाह गरेर लागत अनुमान बनाउने चलन छ यो प्रतिष्ठानमा, त्यसैले यतिसम्म अनियमितता हुने गरेको छ” प्रतिष्ठानका एक वरिष्ठ कर्मचारीले स्वास्थ्य लाइभसँग भने ।

 

महालेखाको प्रतिवेदन अनुसार “प्रतिष्ठानले मेसिन उपकरण, सर्जिकल सामान औषधी खरिदको लागत अनुमान तयार गर्दा फरक फरक आधार लिएको छ ।  एक मात्र आपुर्तकको दररेट पेश भएकोमा त्यसैलाई लागत अनुमान मानी स्वीकृत गरेको छ । कतिपय ठेक्कामा आपूर्तकको दररेट र अघिल्लो वर्षको ठेकेदारको आधारमा औसत दररेट निकाली लागत अनुमान तयार गरेको छ । डेन्टल मेडिकल सामान खरिदको ठेक्कामा प्राप्त ३ आपूर्तकको दररेटको औसत दररेट ननिकाली सबैभन्दा घटी दररेटलाई लागत अनुमान स्वीकृत गरेको छ । लिक्विड अक्सिजन स्टोरेज ट्यांक खरिद ठेक्कामा एकमात्र प्राप्त आपूर्तक दररेटलाई लागत अनुमान स्वीकृत गरेको छ ।

ग्लोव्स (अस्पतालको पन्जा) खरिद ठेक्कामा ४ आपूर्तकको दररेट र अघिल्लो वर्षको ठेक्का दररेटको औसत दररेट निकाली लागत कायम गरेको पाइएको महालेकाले औंल्ययाएको छ ।

हेमोड़ाईलाईसीस मेटेरियल ठेक्का अघिल्लो वर्षको ठेक्का दररेट र दुईवटा स्थानीय बजारको दररेट लिई औषत डर निकाली लागत अनुमान कायम गरेको छ । यसरी लागत अनुमान तयार गर्दा फरक फरक आधार लिएको छ ।

प्रतिष्ठानको ग्लोब्स. गज र ब्यान्डेज को ठेक्कालाई दुई भागमा विभाजन गरेर खरिद गर्ने गरिएको देखाएको छ । ठेक्का पार्न आफ्नो अनुकूल व्यापारीले कम मूल्य राख्यो भने उक्त ठेकेदारबाट अनेक बहानामा खरिद नगर्ने वातावरण बनाएर टुक्रे खरिदमार्फत खरिद गर्ने गरिएको र आफ्नो अनुकूल ठेकेदारलाई फाइदा हुने एबं राम्रो कमिसन पाउने अवस्था आएमा एकैपटक दुई आर्थिक वर्षलाई पुग्ने गरि अत्यधिक खरिद गर्ने गरिएको प्रतिष्ठान श्रोत बताउँछ ।

कमिसनको लोभमा अनियमित “सोझै खरिद”

महालेखाको प्रारम्भिक प्रतिवेदनमा बीपी प्रतिष्ठानका पदाधिकारीहरूले निर्माण कार्यमा पटक पटक गरि गैर कानूनी तवरले ७० लाख ७५ हजारको निर्माण खरिद भुक्तानी गरेको समेत औँल्याएको छ ।

“बोलपत्र गर्यो भने प्रतिष्पर्धाले परल मूल्य कम हुन् गई कमिसन खान मुस्किल हुन्छ, यसरी मनपरी टुक्रे खरिद गर्यो भने ठेकेदारले ४० प्रतिशत सम्म कमिसन दिन्छ, त्यसैले यस्तो हाकिम साबहरूले यस्तो गर्नु भएको हो” प्रतिष्ठानको इन्जिनियरिंग शाखाका एक प्राविधिकले बताए ।

५१ लाख बढी कबोल गरेकोसँग सम्झौता गरि अनियमितता

महालेखा कै प्रारम्भिक प्रतिवेदनमा ठेक्का न. ०३८/०७८/०७९ को डेन्टल मेटेरियल खरिद गर्न आव्हान गरिएको बोलपत्रमा दुई जना बोलपत्रदाता रहेकोमा बोलपत्रदाताहरूको मिलेमत्तो रहेको भनी मिति २०७८/११/१० मा बोलपत्र रद्द गरिएको तर मिलेमतो पुष्ट्याई पर्याप्त नभएको उल्लेख छ ।

प्रतिष्ठानले यो बलापत्र रद्द गरे पश्च्यात दोस्रोपटक बोलपत्र प्रकाशित गर्दा एक मात्र बोलपत्रदाता सहभागी भएको र विगतमा भन्दा सो बोलपत्रदाताले रू ५०.९५.१२५|० बढी कबोल गरेको र सोही बोलपत्रदातासंग मिति २०७८/१२/२९ मा खरिद सम्झौता गरि मेटेरियल खरिद गरिएको उल्लेख छ । ‘यो जसरी पनि आफुसंग आर्थिक सेटिङ भएको व्यापारीलाई ठेक्का दिने प्रपन्च हो’ प्रतिष्ठानका डेन्टल कलेजका एक कर्मचारीले भने, प्रतिष्ठान व्यापारीको र्याकेटले चलाएको छ, सोही र्याकेटको योजना अनुसार खरिद शाखा, मूल्यांकन समिति, गुणस्तर समितिमा आदिमा मान्छे राखिन्छ र अस्पताल निर्देशक अनी उपकुलपतिबाट योजनावद्ध अनियमितता हुन्छ ।’,

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## किर्ते प्राध्यापक, ## निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com