स्वास्थ्यमा भटाभट राजनीतिक नियुक्ति हुन खोजेपछि स्वास्थ्यकर्मीले गुहारे कांग्रेस नेता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमा भटाभट राजनीतिक नियुक्ति हुन खोजेपछि नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीले कांग्रेसका नेता गुहारेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघका प्रतिनिधिले कांग्रेस नेताहरूलाई भेटेर एकलौटी ढंगले हुन लागेका राजनीतिक नियुक्ति रोक्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले कांग्रेस महामन्त्री गगन कुमार थापा र प्रमुख सचेत रमेश लेखेकलाई भेटेर स्वास्थ्यमा एकलौटी हुन लागेको राजनीतिक नियुक्ति रोक्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस नेताहरूलाई भेट्न संसदीय दलको कार्यालयमा पुगेका नेपाल स्वास्थ्यकर्मी संघका निवर्तमान सह-अध्यक्ष ओमप्रसाद उपाध्यायले स्वास्थ्यमा भइरहेको नियुक्तिको बेथिति रोक्न महामन्त्री थापा र प्रमुख सचेतक लेखकलाई ध्यानाकर्षण गराइएको बताए । उनका अनुसार स्वास्थ्यमा माओवादी केन्द्र निकटलाई मात्र राजनीतिक नियुक्ति दिने गरी भटाभट फायल उठ्न थालेको छ ।

पहिला स्वास्थ्य व्यवसायी परिषद्‌मा एकलौटी राजनीतिक नियुक्ति गरियो । अहिले नेपाल नर्सिङ परिषद्‌मा त्यस्तै गर्न खोजिएको छ’,उपाध्यायले भने, ‘ स्वास्थ्यमा फायल उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेर निर्णय सदर गर्ने काम भइरहेको छ । यसलाई रोक्न हामी कांग्रेस नेताहरूलाई भेट्न गएका हौं ।’, धनगढी उपमहानगरपालिका अन्तर्गका स्वास्थ्यकर्मीले नपाएको तलबको विषय, स्वास्थ्यमा हुँदै गरेको नियुक्ति र बेथितिको विषयमा महामन्त्री थापा र प्रमुख सचेतक लेखकलगायतलाई ब्रिफिङ गरिएको उनले जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दिपक भट्टले यी विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराइसकेका छन् । गठबन्धन सरकार र कांग्रेसले स्वास्थ्य मन्त्रालय पाउने पक्कापक्की भइसकेको अवस्थामा प्रधानमन्त्री कार्यालयबाट एकलौटी नियुक्ति हुन थालेपछि कांग्रेस निकट स्वास्थ्यकर्मी हच्किएका छन् ।

स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गरेर माओवादी निकट स्वास्थ्यकर्मीले एकलौटी लाभ लिन खोजेपछि कांग्रेस निकट स्वास्थ्यकर्मी रुष्ट बनेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #ओम उपाध्याय, #नेपाल स्वास्थ्यकर्मी संघ, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com