स्वास्थ्य मन्त्रालयमा दबाव बढाउँदै शेखर-गगन समूह


काठमाडौं । सरकारमा सहभागी हुने विषय कांग्रेसभित्र थप पेचिलो बन्दै गएको छ । कांग्रेसले पाएको ८ मन्त्रालयमा शेखर-गगन समूहले ३ वटा दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार नै प्रभावित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका ४ मन्त्रीलाई मात्र समथ खुवाएका छन् ।
शेखर-गगन समूहले ३ मन्त्रालयको अडान राख्दै नाम नदिएपछि मन्त्रिपरिषद् विस्तार नै प्रभावित बनेको हो । उक्त समूहले अहिले ३ मन्त्रालय आफूहरूले जसरी पनि पाउनु पर्ने र त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुनुपर्ने दबाव बढाउन थालेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेललाई पठाउन सभापति शेरबहादुर देउवासमक्ष दबाव बढाएका छन् ।
शेखर-गगन समूहबाट उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बु मन्त्री बन्ने निश्चित जस्तै छ । तेस्रो व्यक्तिमा महामन्त्रीद्वय विश्व, गगनले प्रदीपलाई अगाडि सारेका छन् । धनराज उपसभापति भएकाले स्वभाविक दाबेदार हुन् । डिगबहादुर शेखरको चाहना हो । महामन्त्रीद्वय विश्व, गगनले प्रदीपलाई स्वास्थ्यमन्त्री बनाउन खोजेका छन् ।
सभापति देउवा पक्षले अर्थ, उद्योग, सहरी विकास, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालय लिइसकेको छ । अब बाँकी रहेको मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र रहेको छ । त्यसपछि कानुन र युवा तथा खेलकुद छ । धनराजले सहरी विकास खोजेका थिए । तर, उक्त मन्त्रालयमा देउवाले सीता गुरुङलाई पठाएका छन् । अब धनराजको चाहना परराष्ट्र वा कानून रहेका छ ।
शेखर-गगन समूहले ३ मन्त्रालयको अडान लिएपछि देउवाले प्रधानमन्त्री प्रचण्डसँग खानेपानी मन्त्रालय थपदिन आग्रह गरेका छन् । उक्त मन्त्रालय पाए हिसाब मिल्ने देउवाको तर्क छ । खानेपानी थप भए देउवा समूहबाट एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्नेछन् । मन्त्रालय थपिएन भने साउदले बाजी मार्ने देखिन्छ । त्यसो त किशोरसिंह राठौर पनि मन्त्री खान ज्यान दिएर लागेका छन् ।
यता राष्ट्रपति रामचन्द्र पौडेल र शशांक कोइराला भने दीपक खड्कालाई मन्त्री बनाउनु पर्ने पक्षमा देखिएका छन् । रामचन्द्र र शशांकले दीपकलाई मन्त्री बनाउन सभापति देउवालाई दबाव दिँदै आएका छन् ।

अहिले १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो विषयमा टुंगो लगाउने सम्भावना छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गगन- शेख र, #पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापा, #प्रदीप पौडेल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com