धेरै बेरुजु हुनेमा स्वास्थ्य मन्त्रालय ‘टप टेन’भित्र


काठमाडौं । धेरै बेरुजु हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  ‘टप टेन’भित्र परेको छ । महालेखाको साठीऔँ वार्षिक प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय धेरै बेरूजु हुने मन्त्रालयमा ‘टप टेन’भित्र परेको हो ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले बेरुजुको हिसाबले स्वास्थ्य मन्त्रालय दशौं स्थानमा रहेको देखाएको छ । स्वास्थ्यले बेरुजुमा शिक्षालाई उछिनेको हो ।

महालेखाको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयको बेरुजु ८७ करोड ७४ लाख रहेको छ । उक्त बेरुजु नवौं स्थानमा रहेको खानेपानी मन्त्रालयभन्दा ११ लाख मात्र कम हो । खानेपानीको बेरुजु ८७ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।  अर्थको बेरुजु ३३ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ रहेको छ । त्यसपछि दोस्रोमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ८ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ रहेको देखिन्छ ।

बेरुजुका हिसाबले तेस्रो स्थानमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु २ अर्ब ७० करोड ५८ लाख रहेको महालेखाले औंल्याएको छ । त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको २ अर्ब ५३ करोड ७१ लाख, गृह मन्त्रालयको १ अर्ब ५७ करोड ८ लाख र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बेरुजु १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

महालेखाको प्रतिवेदन अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बेरुजु १ अर्ब २९ करोड ७२ लाख र सहरी विकास मन्त्रालयको १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बेरुजु रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु पनि सहरी विकास, ऊर्जा, भूमि व्यवस्था र गृह जस्तै अर्बमाथि चढ्ने तरखरमा देखिन्छ ।

महालेखाले ९ खर्ब ६० अर्बको बेरुजु देखाएकोमा स्वास्थ्य मन्त्रालय दशौं स्थानमा परेको हो । यो वर्ष मात्र १ खर्ब २० अर्ब बेरुजु थपिएको छ । बेरुजुको पारो हेर्दा स्वास्थ्यको उक्लदो देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #बेरुजु, #महालेखा परीक्षकको कार्यालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com