उपनिर्वाचनलगत्तै सरकार विस्तारको तयारी, स्वास्थ्यमा को आउँला ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनलगत्तै सरकार विस्तारको तयारी थालेका छन् । उनले मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुनु अगाडि कांग्रेस सांसद नारायणप्रसाद साउदलाई परराष्ट्रमन्त्री बनाएका प्रचण्डले अब स्वास्थ्यसहितका बाँकी मन्त्री नियुक्त गर्ने तयारी थालेको हुन् । कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा संस्थापन पक्ष र शेखर-गगन पक्षको हानथाप छ ।

प्रधानमन्त्री दाहालको जिम्मेवारीमा रहेको स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय व्यवस्था, खानेपानी, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय रहेका छन् । त्यसमध्ये जनता समाजवादी पार्टी (जसपा), नेपालले एउटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय पाउने सम्भावना छ । कांग्रेसले स्वास्थ्यमा मोहनबहादुर बस्नेतलाई पठाउने सम्भावना छ । उनी स्वास्थ्यमन्त्री बन्नेमा ढुक्क देखिन्छन् । यता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रसाद शर्मा प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन चाहन्छन् ।

कांग्रेसको भागमा परेका महत्त्वपूर्ण मन्त्रालय संस्थापन पक्षले लिइसकेकाले उपसभापतित धनराज गुरुङ पनि स्वास्थ्यमा आँखा लगाउन थालेका छन् । मन्त्रीमा नाम पक्का गरेका डिकबहादुर लिम्बू पनि कानूनभन्दा स्वास्थ्य ठीक भन्दै हिँड्न थालेका छन् । त्यसैले कांग्रेसभित्र स्वास्थ्यमन्त्री बनाउने कुरा निकै पेचिलो बन्दै गएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com