पूर्वस्वास्थ्य सचिव र मन्त्रीले नै तिरेनन् राज्यबाट खाएको पैसा


काठमाडौं । पूर्वस्वास्थ्य मन्त्री र सचिवले नै राज्यबाट खाएको पैसा नतिरेको पाइएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका बुद्धीमान तामाङले स्वास्थ्य मन्त्रालयको खाताबाट चलाएको ४५ हजार ३ सय ८० रुपैयाँ नतिरेको पाइएको छ ।२० वर्ष अगाडि उनले पेश्की अहिलेसम्म तिरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०६०/६१ मा तामाङको नाममा उक्त पैसा बेरुजु रहेको हो । तर, २० वर्ष हुँदा समेत उनले त्यो पैसा फिर्ता गरेनन् ।

पाँचपटक मन्त्री बनेका तामाङ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेता छन् । उनको पार्टीका नेता ज्ञानेन्द्र शाही सदनमा सधै सुशासनको विगुल फुक्छन् । संसदीय दलका नेता राजेन्द्र लिङ्देन राज्यको ढुकुटी ब्रह्मलुट मच्चाउनेविरुद्ध सदनमा खरो उत्रिन्छन् । तर, उनीहरूकै लहरमा बस्न तामाङले २० वर्ष अगाडि राज्यको ढुकुटीबाट खाएको पैसा तिरेका छैनन् । तामाङको बेरुजुले लिङ्देन र शाहीलाई समेत खिल्ली उडाइरहेको छ । के तमाङले उक्त पेश्की फछ्र्योट गर्नु पर्दैन भन्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको प्रश्न छ ।

स्वास्थ्य मन्त्रालयको खाताबाट पैसा चलाएर नातिर्नेमा पूर्वकामु स्वास्थ्य सचिव दिर्घसिंह बम रहेका छन् । उनले तिर्न बाँकी १८ सय रुपैयाँ नतिरेर सचिव पदकै गरिमामा आँच पुर्‍याएको चर्चा छ ।

स्वास्थ्य मन्त्रालयका तत्कालीन शाखा अधिकृत रमेशकुमार शाहले ११ हजार रुपैयाँ र डा. केशवराज सुवेदीले ७ हजार रुपैयाँ पेश्की खर्च लगेर अहिलेसम्म फिर्ता गरेका छैनन् । आर्थिक वर्ष २०६०/६१ मा लगेको पेश्की अहिलेसम्म फछ्र्योट नगर्नु लाजमर्दो कुरा हो ! २०६५ कार्तिक ९ गतेदेखि २०६६ बैशाख ८ गतेसम्म स्वास्थ्य मन्त्रालयको कामु सचिव रहेका बमले १५ वर्ष अगाडि खाएको पैसा तिरेको देखिँदैन । उनको नाममा १८ बेरुजु रहेको छ ।

तत्कालीन सहसचिव दिपेन्द्र थापाले खाएको १ लाख ६१ हजार १५ रुपैयाँ तिरेका छैनन् । तात्कालीन मन्त्री तामाङकै पालामा थापाले स्वास्थ्य मन्त्रालयबाट खाएको उक्त पैसा नतिरेका हुन् । तत्कालीन सहसचिव विनोद ज्ञवालीले १ हजार ८६ रुपैयाँ, हरिबहादुर खड्काले ७५ हजार रुपैयाँ, वेदप्रसाद खरेलले ३० हजार र रुपैयाँ र राम थापाले ७ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट खाएको पैसा तिरेका छैनन् ।

त्यस्तै प्रेमलाल खड्काले २५ सय रुपैयाँ, शंकरराज अधिकारीले २५ सय ५३ रुपैयाँ र नासु शिवहरि थापाले ५ सय रुपैयाँ र डा. श्याममणि अधिकारीले १ हजार ५० रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई नतिरेर लाजमर्दो स्थिति पारेका छन् ।स्वास्थ्य मन्त्रालयलाई नासु विशेश्वर प्रमाद चौधरीले २३ सय ५१ रुपैयाँ, रवीन्द्र केसीले ८ सय रुपैयाँ र झविन्द्र पाण्डेले ४ सय रुपैयाँ तिर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयको खराब रेकर्डमा उनीहरु दर्ज भएका छन् । स्वास्थ्य मन्त्रालयबाट पेश्की लिएर नतिर्ने सूचीमा मन्त्री र सचिव नै पर्नु देशका लागि समेत लाजमर्दो कुरा हो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ज्ञानेन्द्र शाही, #पूर्व का.मु. स्वास्थ्य सचिव दिर्घसिंह बम, #पूर्वस्वास्थ्यमन्त्री बुद्धिमान तामाङ, #बेरुजु पेश्की, #राप्रपा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com