बालुवाटार काण्डमा जस्तै कोरोनाकालको धोबीखोला काण्डमा वडाध्यक्ष कुश ढकाल तानिने निश्चित


काठमाडौं । ललिता निवास बालुवाटार जग्गा काण्डमा भीआईपीहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भीआईपी समात्न सुरु गरेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङदेखि पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह सीआईबीको फन्दामा परेका छन् । अनुसन्धानको लहरो पूर्वमुख्यसचिव लिलामणि पौडेल हुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि बाबुराम भट्टराईसम्म पुग्ने देखिन्छ ।
ललिता निवासको सरकारी जग्गा नक्कली पशुपति टिकिन्छा गुठी र मोही खडा गरी किर्ते काम गरेको अभियोगामा पूर्वमुख्यसचिव पौडेल समेत सीआईबीको अनुसन्धानमा तानिने उच्च सम्भावना छ । सीआईबीले यो लहरो तान्दा पहरो खस्ने अवस्था आएको छ ।
२०६९ मा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो । उक्त कार्यमा पौडेलसहितको संलग्नता रहेको पाइन्छ ।
यस्तै प्रकारको काण्ड धोबीखोलामा घटेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल १२ रोपनी बढी धोबीखोलाको सरकारी जग्गा नक्कली गुठी र मोही खडा गर्न संलग्न भएको खुलासा भइसकेको छ । उनले बालुवाटार काण्डलाई ‘सेकेण्ड’ पार्ने गरी धोबीखोलाको सरकारी जग्गामा नक्कली गुठी र मोही लगाउन सिफारिस गरेका हुन् ।
वडाध्यक्ष ढकालले धोबीखोलाको सरकारी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम मौजा अन्तर्गत लगेर मोही खडा गर्न बाटो खुलाइदिएका हुन् । बालुवाटार काण्डभन्दा खतरनाक सिंहदरबार अगाडिको धोबीखोला काण्डमा सीआईबीले तत्काल वडाध्यक्ष ढकालमाथि छानबिन गर्नुपर्ने देखिन्छ ।
तत्कालीन प्रधानमन्त्री भट्टराईले बालुवाटारको ३ रोपनी सरकारी जग्गा नक्कली गुठीमा लगेर मोही खडा गरेका थिए । यता कोरोनाकालमा वडाध्यक्ष ढकालले १२ रोपनी बढी सरकारी जग्गा नक्कली गुठीमा लगेर मोही खडा गरी बिताएका छन् । उनले जग्गाको स्रोत नै किर्ते गरेको खुल्न आएको छ ।
सीआईबीले बालुवाटारको सरकारी जग्गा किर्ते काण्डमा जस्तै कोरोनाकालको धोबीखोला काण्डमा वडाध्यक्ष ढकालमाथि तत्काल छानबिन थाल्न जरुरी छ । संलग्नताको हिसाबले ‘साना माछा’ परेपनि धोबीखोला काण्ड बालुवाटार काण्डभन्दा ठूलो हो । यो विषयमा सीआईबीले हेक्का राख्नुपर्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #कामनपा वडाध्यक्ष कुश ढकाल, #धोबिखोला, #नक्कली मोही र गुठी, #ललिता निवास बालुवाटार जग्गा काण्ड, #सीआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com