जनैपूर्णिमा रक्षा सूत्र र यसको महत्त्व


“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे माचल माचल ।।”
“जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहि आएको छ । खसआर्य परम्परा अनुसार चुडाकर्म गरि जनै धारण गरेपश्चात मात्र पितृको काजकिरीया गर्ने अधिकार प्राप्त हुने चलन रहेको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँध माथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।

सांस्कृतिक महत्त्व:
धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई  ब्रह्य‚ बिष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (काश्यप‚ अत्री ‚भारद्वज‚ गौतम‚ जमदग्नि‚ बशिष्ट र बिश्वमित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ। ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलार्इ तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलार्इ शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ।

परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।


धार्मिक महत्त्व:
धार्मिक किंवदन्तीअनुसार रक्षाबन्धनमा एकपटक देवता र दैत्यहरूका बीचमा १२ वर्षसम्म युद्ध भएछ। तर त्यस युद्धमा न दैत्यहरूले जित्न सके, न देवताहरूले नै जित्न सके। युद्ध गर्दागर्दा देवताका राजा इन्द्र पनि थाकेछन्। दैत्यहरूलाई किन हराउन सकिएन भनी इन्द्र आश्चर्यमा परेछन्। के गर्दा जित्न सकिन्छ भन्ने विचारले इन्द्र आफ्ना गुरु वृहस्पतिकहाँ गएर उपायका लागि सल्लाह लिन पुग्छन्। हामीले जति युद्ध गर्दा पनि दैत्यहरूलाई हराउन सकेनौँ। हजुरले कृपा गरेर हामीले जित्न सक्ने उपाय बताइदिनुहोस्। मैले के गरेमा युद्ध जित्न सफल हुने छु ?’ भनी इन्द्रले गुरु वृहस्पतिसँग अनुनय विनय गर्छन्। अनि गुरु वृहस्पतिले भन्नुहुन्छ – ‘हे इन्द्र, सबै देवताहरू साथमा लिई इन्द्रणीकहाँ गएर देवताहरू सबैलाई र आफूलाई पनि रक्षाका लागि व्रत गर्नुप¥यो भनेर इन्द्राणीलाई व्रत गराउनू। जब व्रत समापन हुन्छ, त्यस समयमा जुन धागो प्राप्त हुन्छ त्यही धागोले इन्द्रको दाहिने हातमा बाँधी दिनाले तपार्इंहरूको अवश्य नै युद्धमा विजय हुनेछ।
गुरु वृहस्पतिको यस्तो आज्ञा पाएपछि सम्पूर्ण देवतासहित इन्द्राणी कहाँ गएर इन्द्रले सबै कुरा बताउँछन्। इन्द्राणीले पनि सम्पूर्ण देवताका रक्षाका लागि विधिपूर्वक व्रत बस्छिन्। व्रत सकिने बित्तिकै इन्द्रको दाहिने हातमा रक्षा सूत्र धागो बाँधेर निधारमा टीका प्रसाद लगाईदिँदै भन्नुहुन्छ, ‘निर्धक्क भएर युद्धमा जानुहोस्। अवश्य पनि विजयी हुनुहुनेछ। यसरी इन्द्रले रक्षा सूत्र बाँधेर युद्धमा जान्छन्। फेरि देवता र दैत्यको बीचमा युद्ध हुन्छ। यसपटक इन्द्रले यति पराक्रम र साहसपूर्वक युद्ध लड्छन् कि दैत्यहरू नै चकित हुन्छन्। अन्ततः देवताहरूकै विजय हुन्छ। उही समयदेखि विजयको प्रतीकको यो पर्व मनाइँदै आइरहेको हो।
त्यस्तै अर्को किंवदन्तीअनुसार प्राचीनकालमा श्रावण महिनामा ठूलाठूला ऋषिहरू गाउँगाउँ र नगरमा गएर मानिसहरूमा प्रेम, सद्भाव र आत्मीयता फैलाउन उपदेश दिन जाने गर्दा रहेछन्। श्रावणी अर्थात् जनै पूर्णिमाका दिन रक्षा बन्धन गर्ने ती ऋषिहरूले विभिन्न गाउँमा गएर ठूलाठूला यज्ञ गरेर गृहस्थी मानिसहरूलाई त्यस यज्ञमा भाग लिन लगाउने र भक्तजनहरूले पनि अति नै श्रद्धा राखेर ऋषिबाट गुरु मन्त्र लिने गर्दारहेछन्। ऋषिहरूले पनि मन्त्र दिनुअघि मानिसहरूले सत्य, प्रेम र सद्भावमा सधैँ बस्नुपर्ने उपदेश दिँदा रहेछन्। यसका साथै भक्तजनहरूले पनि गुरुको उपदेश जीवनभरि पालना गर्ने छु भनी सत्य बाचा बोल्दा रहेछन्। त्यही बाचाबन्धनलाई सधैँ पालना गर्छु भनी सम्झना गराई राख्न नै हरेक वर्ष ऋषिहरू मानिसहरूका घरघरमा गई हातमा रक्षा सूत्र बाँधी दिने र जनै धारण गरिदिने चलन रहेको हो।
तागाधारीले यज्ञोपवीत धारण गर्दै :
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

क्वाटी र यसको महत्त्व:
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी” हो । आजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजार्इ राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। नेवार समुदाय का हिन्दूद्विज तागाधारी जाती राजेपाध्य‚ब्राह्मण र क्षेत्री (छ-थरी) श्रेष्ठहरू ले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परा अनुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाटी बनाई खाने चलन छ । यसैगरी उपत्यका का कृषक तथा ज्यापु जातीले यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ।
यसै दिन तरार्इ क्षेत्रमा दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा चेली माइती बिचको सम्बन्धमा सुमधुरता‚ दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ ।
आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, सखुवासभाको शिवधारा‚ जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गार्इलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएको छ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com