नितुलाई गलत औषधि नदिइएको ख्वप अस्पतालको दाबी


काठमाडौं । भक्तपुरको ख्वप अस्पताल नितु दुवाललाई गलत औषधि नदिएको दाबी गरेको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै औषधिको बढी डोज दिईएको, गलत औषधि दिईएको भन्ने कुरा सत्य नभएको स्पष्ट पारेको हो ।

‘औषधिको बढी डोज दिईएको, गलत औषधि दिईएको भन्ने कुरा सत्य होईन।’, नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । मृतक नितु दुवालको परिवारको आरोपको खण्डन गर्दै अस्पतालले यस्तो दाबी गरेको हो । उनको निधनमा अस्पतालको कुनै भूमिका नरहेको ख्वप अस्पतालको दाबी छ ।

मृतक नितुको परिवारले भने डाक्टरले चेकजाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा उनको मृत्यु भएको आरोप लगाएको छ । ख्वप अस्पतालकी चिकित्सक डा. नितु मानन्धर चेकजाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा आफ्नी बहिनीले ज्यान गुमाउनु परेको उनकी दिदी गीता दुवालको आरोप छ । नितुको परिवारले यो घटनामा न्यायको याचना गरेको छ । तर, अस्पतालले उक्त आरोपलाई पूर्ण रुपमा अस्वीकार गरेको हो ।

यस्तो छ ख्वप अस्पतालको दाबी

भनपा ८ निवासी सुश्री नितु दुवालको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक संजालमा मिति २०८० कार्तिक १४ गते लेखेका कुराहरुले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा वास्तविकता प्रष्ट पार्न चाहन्छौं।
ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछौं। शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो। मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो। नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई बिरामीको भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुँदा समेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ। मृत परिवारप्रति सहानुभूति र समवेदना प्रकट गर्न जाने जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरुलाई समेत गलत अर्थमा प्रचारप्रसार गरेको पाईयो।
मृतक नितु दुवाल असार २२ गते पहिलो पटक डण्डिफोरको उपचारका लागि आएकी थिईन्। डण्डिफोर सम्बन्धी उपचारका लागि उनलाई खाने औषिधी, फेस वास र मलम दिईएको थियो। छाला रोग विशेषज्ञद्वारा उनलाई २ हप्तापछि फ्लो अपको लागि पनि बोलाईएको थियो। श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडी टिकट भएतापनि छालारोग विभागमा नै गई फ्लो अप गरेकी थिईन। अघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भन्ने उनले छालारोग विशेषज्ञलाई बताएपछि डण्डिफोर सम्बन्धि औषधि यथावत खाने र जनरल डाक्टरलाई भेट्न आग्रह गरियो। सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि पारासिटामोल र भिटामिन दिनुभयो यसपछि उनलाई श्रावण १२ गते यसै अस्पतालको ईमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याईयो। सम्पूर्ण जाँचहरु पश्चात् उनलाई भर्ना हुन आग्रह गरियो तर विदेश अध्ययनका लागि परिक्षा भएको कारण देखाई उनी राती ३:३० बजेनै घर गईन। निजको सो परीक्षणमा पिसाबमा खराबी देखिएको थियो। डाक्टरको सल्लाह विपरीत बिरामीलाई घर लगियो। त्यस पश्चात् श्रावण १४ गते उनलाई भर्ना गराउन ल्याईयो। पिसाबको परीक्षणमा किटाणु देखिएको र सोही अनुरुप औषधिहरु चलाई वार्डमा भर्ना गरियो। श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरुको आग्रह अनुसार उनलाई घर पठाईयो। चिकित्सकहरुद्वारा अझ केही दिन राख्नु पर्ने भन्ने कुरा बुझाईएको थियो तर परिक्षाकै कारण बताई चिकित्सकको सल्लाह विपरीत पुनः घर लगियो। त्यसपश्चात श्रावण १८ गते यसै अस्पतालमा ल्याईयो।
श्रावण २१ गते निज विरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरुले अन्य अस्पताल लैजाने आग्रह गरे अनुसार यस अस्पतालबाट रिफर गरियो। त्यसपछि यस अस्पताल र निजको परिवारबीचमा कुनै पनि सम्पर्क रहेको थिएन ।
बिरामीको निधनमा दुःख हुँदाहुँदै पनि विभिन्न व्यक्तिहरुको उक्साहटमा अस्पतालप्रति जनतामा भ्रम सिर्जना गर्ने उद्धेश्यले ख्वप अस्पताललाई दोष दिन खोजिएकोले यो स्पष्ट पार्न मात्र खोजिएको हो। औषधिको बढी डोज दिईएको, गलत औषधि दिईएको भन्ने कुरा सत्य होईन।
डा. मजेश प्रताप मल्ल
नि. मेडिकल डाइरेक्टर

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ