स्वास्थ्यका गौतमले यातायातमा विस्थापित गरेका डा. पाण्डे को हुन् ?


काठमाडौं । अधिकृत र उपसचिव हुँदा यातायातमा एकछत्र राज गरेका डा. टोकराज पाण्डे झन्डै ६ महिना यातायात व्यवस्था विभागको महानिर्देशक भए । उनलाई हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सहसचिव तुलसीनाथ गौतमले यातायातको महानिर्देशकबाट बिस्थापित गरेका हुन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. पाण्डेको पालामा पनि अवैध लाइसेन्स जारी भएको पाइन्छ ।

यातायात व्यवस्था विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छानबिन प्रतिवेदनमा डा. पाण्डेको पालामा १ हजार भन्दाबढी थान अवैध स्मार्ट लाइसेन्स जारी भएको देखिन्छ । स्वास्थ्यका सहसचिव गौतम र उनको पालामा उत्तिकै संख्यामा अवैध लाइसेन्स जारी भएको पाइन्छ ।
२०८९ भदौ २० गतेदेखि २०७९ माघ १४ गतेसम्म यातायात व्यवस्था विभागको महानिर्देशक रहेका डा. पाण्डे चर्चित सहसचिव हुन् । उनको पालामा १ हजार ८४ थान अवैध लाइसेन्स जारी भएको तथ्य फेला परेको छ । डा. पाण्डे यातायातको डिजी हुँदा नवराज ढुंगाना नामका सेवाग्राहीले ट्रायलमा अनियमितता भएको निवेदन दिएको प्रमाण फेला परेको छ । तर, उनले त्यसलाई सामान्य रूपमा लिएको बुझिन्छ । डिजी डा. पाण्डेको तोक आदेशलाई विभागको सूचना प्रविधि  शाखाले ‘डस्बिन’मा मिल्काइदिएको सहजै अनुमान लगाउन सकिन्छ ।


डा. पाण्डे लाइसेन्स अनियमितताविरुद्ध थिए भने अहिलेका डिजी उद्धवप्रसाद रिजाल जसरी नै छानबिन गर्न लगाउथे । तर, तत्कालीन डिजी डा. पाण्डेले त्यसमा कुनै एक्सन नलिनुले उनको भूमिकामाथि समेत गम्भीर प्रश्न खडा भएको छ । डा. पाण्डेलाई यातायातको डिजीमा विस्थापित गरेका हाल स्वास्थ्य मन्त्रालय कार्यरत सहसचिव गौतमले पनि अवैध लाइसेन्स जारी धन्दा रोक्न नसकेको देखिन्छ ।

शाखा अधिकृत र उपसचिव हुँदा अधिकांश समय यातायातमै बिताएका डा. पाण्डेलाई यातायात क्षेत्रको बादमासी थाहा छैन भन्ने कुरा हास्यास्पद रहेको उनका सहकर्मीहरू सुनाउँछन् । उनी यातायात क्षेत्रका विशेष खेलाडी भएको टिप्पणी हुन थालेको छ । २०५५ साल फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा. पाण्डे शाखा अधिकृत र उपसचिव हुँदा एकछत्र रुपमा यातायातमै बिताएका थिए । सहसचिव भएपछि पनि उनी यातायातमै गए । तर, डा. पाण्डेले त्यस क्षेत्रमा भएको बेथितिलाई रोक्न र बेथितिविरुद्ध लड्न भने सकेको देखिँदैन ।

२०३४ साल मंसिर १५ गते स्याङ्जामा जन्मिएका पाण्डेले २१ वर्षको उमेरमै सरकारी सेवामा प्रवेश गरेका थिए । ११ वर्ष गोश्वरा हुलाक कार्यालय, काठमाडौंमा खरिदारको रूपमा काम गरेका उनी विशेष बढुवा लिएर २०६६ साल साउन १ गते हुलाकको नायब सुब्बा भएका हुन् । गोश्वारा हुलाक कार्यालयमा २ वर्ष नासु भएपछि उनी नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाल्न सफल भए ।

२०६८ भदौ २८ गते शाखा अधिकृतको नियुक्ति लिएका पाण्डेले १ वर्ष बढी समय सामान्य प्रशासन मन्त्रालयमा विताए । २०६९ कार्तिक २६ गते उनी भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय सरुवा भए । त्यसपछि यातायात व्यवस्था विभाग हुँदै पाण्डे यातायात कार्यालय साना, ठूला सबारी एकान्तकुना पनि बसे । उनी सहसचिव नहुञ्जेल यातायातमै रमाए ।

२०६८ भदौ २० देखि २०७४ साउन १९ गतेसम्म करिब ६ वर्ष शाखा अधिकृत रहेका पाण्डे झन्डै ५ वर्ष त यातायातमै रहन सफल भएको देखिन्छ । २०७४ साउनमा उपसचिव भएपछि फेरि उनी यातायातमै गएको पाइन्छ । डा. पाण्डेले सहसचिव भएपछि मात्र यातायात छाडेर स्थानीय तहतिर लागेका हुन् । उपसचिव बनेको एक वर्ष नपुग्दै २०७५ जेठ १३ गते सहसचिवमा नियुक्ति लिएका उनी बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बने । प्रमुख प्रशासकीय अधिकृत भएर कलैया गएको ३ महिना नहुँदै डा. पाण्डे काठमाडौं महानगरपालिका आए । काठमाडौं महानगरपालिकामा पनि उनी ६ महिना टिक्न सकेनन् । अझ रोचक प्रसंग त के छ भने स्वास्थ्यको कर्मचारी भर्तिमा किर्ते काण्ड लागेर मधेशी आयोगमा सरुवा भएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय बसन्त अधिकारीको डा. पाण्डे उत्तराधिकारी रहेको थिए । उपसचिव हुँदा बसन्तले एकान्तकुनास्थित साना ठूला सवारी कार्यालयको हाकिमको जिम्मेवारी छाडेपछि पाण्डे उक्त ठाउँमा पुगेको पाइन्छ ।

२०७५ भदौ १७ गते काठमाडौं महानगरपालिका छिरेका डा. पाण्डे फागुन २८ गते रजिष्ट्रार भएर सहकारी विभाग पुगे । त्यहाँ २ वर्ष बसेपछि उनी रक्षा मन्त्रालय सरुवा भए । रक्षामा ६ महिना बसेपछि डा. पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गए । पर्यटनमा १ वर्ष पनि नटिकी उनी यातायात व्यवस्था विभागको डिजी भएर गएका हुन् । डा. पाण्डेको नाम समेत अहिले अवैध लाइसेन्स जारी धन्दामा मुछिएको छ ।

२०७५ जेठ १३ गते एकैदिन सहसचिव भएर यातायातको डिजी बनेका डा. पाण्डे र गोगनबहादुर हमाल अहिलेका डिजी रिजालविरुद्ध हात धोएर लागेको चर्चा छ । उनीहरु आफूलाई ‘सेलेब्रेटी’ ठानेर रिजालविरुद्ध मोर्चाबन्दीमा लागेको चर्चा चलेको छ । उनीहरुले यातायातको छानबिन प्रतिवेदनलाई समेत प्रभावित पार्न खोजेको आरोप छ ।

डा. पाण्डे करिब ६ महिना यातायात व्यवस्था विभागको डिजी भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै राष्ट्रिय किताबखाना, ललितपुरको डिजी बन्न पुगे । त्यहाँ पनि उनी ५ महिना टिक्न सकेनन् । विगत ६ महिनादेखि डा. पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भन्सार प्रशासनको रुपमा कार्यरत छन् । यातायातको अवैध लाइसेन्स जारी काण्डले उनी अहिले निकै चर्चामा आएका हुन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अवैध लाइसेन्स धन्दा, #डा. टोकराज पाण्डे, #तुलसीनाथ गौतम, #यातायात व्यवस्था विभाग, #सहसचिव बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com