बालेनको फन्दामा परेका, स्वास्थ्यमा नटिकेका ‘चतुर प्रशासक’ बसन्त अधिकारी

स्थानीय र यातायातमा 'डन' कर्मचारीका रुपमा परिचित बसन्त महानगरको स्वास्थ्य काण्डले धर्मराए


काठमाडौं ।  स्वास्थ्यमन्त्री समेत भइसकेका राजनीतिका चतुर खेलाडी हृदेश त्रिपाठीसँग घनिष्ठ सम्बन्ध स्थापित भएका व्यक्ति हुन् काठमाडौं महानगरपालिका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको निर्णय ‘किर्ते’ गरेको पाइएपछि उनी अहिले विवादमा तानिएका छन् ।

काठमाडौं महानगरपालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्ति गर्दा मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत भगवती बिडारीको छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि बसन्त पनि विवादमा तानिएका हुन् । यसले मेयर बालेन सुशासनको सबालमा कति गम्भीर र संवेदनशील छन् भन्ने देखाउँछ ।

कर्मचारी वृत्तमा चतुर प्रशासकका रुपमा परिचित सहसचिव बसन्त किर्ते काण्डमा मुछिएपछि अहिले हलचल भएको छ । अझ उनले आफूलाई झुक्याइएको प्रतिक्रिया दिएपछि बसन्तलाई नजिकबाट चिन्नेहरु नै आश्चर्यमा परेका छन् ।यातायात र स्थानीय विकासमा एकछत्र राज गरेका उनको पछिल्लो प्रतिक्रियाले सिंहदरबारमा चर्चा बटुलेको छ । यातायात जस्तो ठाउँमा समेत बदमासी ढाकछोप गरेर उम्कन सफल बसन्त किर्ते काण्डमा आफूलाई फसाइएको दाबी गर्न थालेपछि सिंहदरबारमा हासीमजाकको विषय बनेको हो ।

पटकपटक मन्त्री बन्न सफल राजनीतिका चतुर खेलाडी हृदेश  त्रिपाठीसँग नङ र मासुको जस्तो सम्बन्ध बनाएका व्यक्ति हुन बसन्त । कुनैबेला कर्मचारी वृत्तमा जहाँ हृदेश त्यहाँ बसन्त भन्ने चर्चा हुने गर्थ्यो । हृदेश भौतिक र सामान्यमन्त्री हुँदा हर्ताकर्ता बनेर बसन्तले त्यो कुराको पुष्टि समेत गरे ।

इपीएस ग्वार्को गोली काण्डमा ललितपुरका प्रमुख जिल्ला अधिकारीले ‘मलाई थाहा भएन’ भनेर उन्मुक्ति नपाए जस्तै काठमाडौं महानगरपालिकाको पछिल्लो काण्डमा उनले कसरी उन्मुक्ति पाउँछन् भनेर सबैले ‘वाच’ गरिरहेका छन् । जिम्मेवार व्यक्तिले जिम्मेवारी नलिने हो भने कार्यालय सहयोगीले त्यस्को जिम्मा लिने र सजायको भागिदार हुने त भन्नेसम्मको टिप्पणी हुन थालेको छ ।

‘प्रहरीले गोली चलाएको हो मलाई थाहा भएन’ भनेर ललितपुरको सीडीओले उन्मुक्ति नपाए जस्तै नगर कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने मुख्य व्यक्तिले महानगरको निर्णय किर्ते काण्डमा उन्मुक्ति पाउने सम्भावना देखिँदैन । झन्डै ५ महिना सुर्खेतको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका सहसचिव बसन्तलाई यस्तो कुरा थाहा नहुने कुरै भएन । उक्त किर्ते काण्डमा बालेनले आफ्नै निजी सचिवालयका प्रमुख नूरनिधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती बिडारी र स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरिसकेका छन् । उक्त घटनामा बालेनले शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरी काम अगाडि बढाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत बसन्तको हकमा भने अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै कदम चालेको छैन ।

स्थानीय र यातायातमा ‘डन’ कर्मचारीका रुपमा परिचित बसन्त महानगरको स्वास्थ्यमा कर्मचारी नियुक्ति काण्डमा भने धर्मराएका छन् । उपसचिव हुँदा झन्डै ४ महिना स्वास्थ्य मन्त्रालायको पुल दरबन्दीमा बसेका उनी महानगरको स्वास्थ्य कै काण्डले नटिक्ने अवस्थामा पुगेका हुन् । स्वास्थ्यमा ४ महिना पनि नटिकेका ‘चतुर प्रशासक’ बसन्त विभिन्न जिल्ला विकास समितिको कार्यालय गरेर ५ वर्ष र यातायातमा ५ वर्ष थर्काएर बसेका थिए । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘कतिसम्म भने हृदेश त्रिपाठी भौतिकमन्त्री हुँदा उनको सचिवालय र ललितपुरको यातायात कार्यालय बसन्तले एकसाथ चलाउने गर्थे ।’,
दिउँसो २ बजेसम्म भौतिकमन्त्री त्रिपाठीको सचिवालयमा बसेर अधिकारी त्यसपछि यातायात व्यवस्था कार्यालय, मोटरसाइकल शाखा ललितपुर जाने गरेको उनीहरू सुनाउँछन् । उनी २०७९ भदौदेखि २०७४ भदौसम्म यातायातमै जमेको पाइन्छ । छविराज पन्त भौतिकमन्त्री हुँदा पनि निजी सचिव रहेका बसन्तको राहदानी दुरुपयोग गरेर अर्के व्यक्ति इटाली पुगेको चर्चा हुने गरेको छ ।

चतुर राजनीतिज्ञ त्रिपाठीसँग बसन्तको कति घनिष्ठ सम्बन्ध थियो भने २०७६ मंसिर ५ गते संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका उनले बसन्तलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीबाट सीधै सामान्य काजमा ल्याए थिए । त्यो पनि मन्त्री बनेको दुई महिनामै । त्यसपछि साढे २ वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेर उनी २०७९ भदौ १६ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन् । त्यस यता बसन्त काठमाडौं महानगरपालिकामै टिकिरहेका छन् ।

२०५५ जेठ १९ गते शाखा अधिकृतबाट निजामती सेवाको प्रवेश गरेका बसन्त राष्ट्रिय योजना आयोग र लोकसेवा बढी बसेका थिए । राष्ट्रिय योजना आयोगको सचिवालय र क्षेत्रीय योजना कार्यालय गरेर उनी एक वर्ष बढी बसे । २०५६ फागुनमा सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायलबाट लोक सेवा छिरेका उनी लुम्बिनी अञ्चल कार्यालय बुटवल र केन्द्रीय कार्यालय अनामनगर गरी झन्डै ७ वर्ष लोक सेवा आयोग बसेको देखिन्छ ।
लोकसेवा आयोगबाट २०६३ भदौ २३ गते उपसचिवमा बढुवा भएका बसन्त सामान्यको अतिरिक्त हुँदै भूमि मन्त्रालय पुगेका थिए । भूमिमा करिब १ वर्ष बसेपछि उनी २०६४ साउन २४ गते स्थानीय विकास मन्त्रालयमा सरुवा भएर जिल्ला विकास समितिको कार्यालय, मनाङमा पदस्थापन भए । स्थानीय विकास अधिकारी (एलडीओ)को रुपमा मनाङ, बर्दिया, नवलपरासी, चितवन जस्ता जिल्लामा बसन्तले झन्डै ५ वर्ष रजगज चलाएको पाइन्छ । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै उनी २०६९ साउन १० गते तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालय पुगेका थिए । बसन्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०६८ चैत १४ गतेदेखि २०६९ साउन १० गतेसम्म रहेको देखिन्छ । भौतिकबाट भने विभिन्न यातायात कार्यालय विभाग हुँदै २०७४ असोजमा उनी तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पुगेको खुलेको छ ।

२०७४ माघ १० गते सहसचिवमा बढुवा भएका बसन्त सामान्य प्रशासन मन्त्रालय हुँदै आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाको सचिव बनेका थिए । त्यहाँबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बुटवल हुँदै २०७६ असोज ४ गते गृह मन्त्रालय छिरेका उनी सुर्खेतको प्रमुख जिल्ला अधिकारी भएको ५ महिनामै २०७६ माघ १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका हुन् ।

सामान्यबाट २०७९ असोज १६ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटिएका बसन्त अहिले काम न काजको अवस्थामा पुगेका छन् । स्वास्थ्यमा नटिकेका बसन्तलाई काठमाडौं महानगरपालिकाको स्वास्थ्यको नियुक्ति काण्ड पनि चर्को परेको छ । विवादमा परेपछि प्रमुख जिल्ला अधिकारीको हैसियतमा भए तुरुन्तै मन्त्रालय तानिनेमा उनी स्थानीय तहमा भएकाले जबरजस्त टिकिरहेका पाइन्छ ।

स्थायी ठेगाना चितवन भएका बसन्त २०२६ बैशाख १६ गते जन्मिएका हुन् ।  महानगरको किर्ते काण्डमा जागिरमा अन्यथा नभए ५८ वर्षे कर्मचारीको अवकाश हुने  उमेर हदका हिसाबले अब बसन्त झन्डै साढे ३ वर्ष सरकारी सेवामा रहन्छन् । सुशासनका पहरेदारको मानक बनाउने हो भने बालेनले बसन्तलाई त्यो अवसर प्रदान गर्ने सम्भावना भने न्यून रहेको चर्चा सुरु भएको छ । कानुन र जिम्मेवारीको अज्ञानता क्षम्य हुँदैन भन्ने मान्यतालाई मेयर बालेनले अनुसरण गरे प्रमुख प्रशासकीय अधिकृत बसन्तलाई त्यो निकै महँगो साबित हुने देखिन्छ । एक चतुर प्रशासक बसन्तलाई महानगरको किर्ते काण्डले ठूलो झड्का दिएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बसन्त अधिकारी, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com