निर्णय ‘किर्ते’ गरेपछि बालेनले लिए प्रमुख प्रशासकीय अधिकृतमाथि एक्सन, स्वास्थ्यका पौडेल निलम्बित


काठमाडौं । नगर कार्यपालिकाको निर्णय ‘किर्ते’ गरेको पुष्टि भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कर्मचारीमाथि एक्सन लिएका छन् । उनले नगर कार्यपालिकाको निर्णय किर्ते गर्ने प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार अधिकारीलाई महानगरमा हाजिर हुन रोक लगाएका छन् ।

मेयर बालेन निकट उच्च स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि एक्सन लिएका हुन् । काठमाडौं महानगरपालिकाको २३ औं नगर कार्यपालिकाले स्वास्थ्यमा करार सेवाका कर्मचारी ५ जना राख्ने भनेर निर्णय गरेको थियो । उक्त निर्णय प्रमाणीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले ६ जना करार सेवामा राख्ने भनेर निर्णयविपरीत प्रमाणीकरण गरेको फेला परेपछि उनीमाथि मेयर बालेनले एक्सन लिएका हुन् । बालेनले उक्त काण्डमा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन् ।

पौडेलसहित १० औं तहका अधिकृत नूरनिधि न्यौपाने र मेयरको सचिवालयमा कार्यरत भगवती बिडारीलाई समेत बालेनले निलम्बन गरेका हुन् । बिडारीको छोरीलाई जागिर खुवाउन नगर कार्यपालिकाको निर्णयमा बदमासी गरेको सुईको पाएपछि मेयर बालेनले एक्सन लिएको उनी निकट विश्वस्त स्रोतको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले ५ जना र ६ जना कर्मचारी राख्ने भनेर निर्णय प्रमाणीकरण गरेको प्रमाण समेत बालेनले सुरक्षित राखेको स्रोतको भनाइ छ । उनीमाथि थप छानबिन गरेर एक्सन लिने बालेनको तयारी छ ।

अनियमितताविरुद्ध शून्य शहनशिलाताको नीति लिएका प्रमुख बालेनले प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीको मिलेमतोमा गम्भीर प्रकृतिको बदमासी गरेको फेला परेपछि एक्सन लिन बाध्य भएका हुन् । उनले काठमाडौं महानगरपालिकामा बदमासी र गलत गर्ने छुट कसैलाई पनि छैन भन्ने म्यासेज समेत दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लामो समय बसेर काठमाडौं महानगरपालिका पुगेर प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पदीय आचरणविपरीत मात्रै काम गरेका छैनन् । उनले किर्ते काम गरेको समेत गम्भीर आरोप लागेको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायले उनीमाथि तत्काल छानबिन गर्नपर्ने कुरा उठ्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारी अब काठमाडौं महानगरपालिकामा रहिरहनु उचित नहुन टिप्पणी हुन थालेको हो । यो विषयमा बालेनले थप एक्सन लिने सम्भावना छ ।

यस अघि पनि बदमासी गरेको फेला परेपछि बालेनले सार्वजनिक निर्माण विभागका प्रमुख राम थापालाई जिम्मेवारी मुक्त गरेका थिए । अहिले बालेन गलत गर्ने र गैरजिम्मेवार कर्मचारीमाथि कठोर बन्दै गएको देखिन्छ । उनले लिएको निर्णयले तरंग ल्याएको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बालेन, #रामप्रसाद पौडेल, #वसन्त कुमार चौधरी, #स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com