स्वास्थ्यको कर्मचारी नियुक्ति किर्ते काण्डमा बालेनले बनाए छानबिन समिति


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्ति गर्दा भएको किर्ते काण्डमा छानबिन गर्न समिति बनाएका छन् । उनले काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएका हुन् ।

मेयर बालेनले डा. राजभण्डारीको नेतृत्वमा बनाएको छानबिन समितिका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल सदस्य र प्रशासनका कर्मचारी प्रवीण प्याकुरेल सदस्यसचिव रहने गरी छानबिन समिति बनाएका छन् । समितिले काम थालिसकेको उनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले स्वास्थ्य लाइभलाई जानकारी दिए । उक्त काण्डमा प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार अधिकारीलाई मेयर बालेनले हाजिर हुन रोक लगाएका छन् भने १० तहका कर्मचारी नूरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र सचिवालयमा कार्यरत भगवती बिडारीलाई निलम्बन गरेका छन् । मेयर बालेनको सचिवालयमा कार्यरत भगवती बिडारीकी छोरीलाई जागिर खुवाउन २३ औं नगर कार्यपालिकाको निर्णय किर्ते गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

मेयर बालेनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई किर्तेमा पक्राउ गरेर अनुसन्धान गर्न आग्रह समेत गरेका छन् । तर, गृहमन्त्री श्रेष्ठले उनको आग्रहलाई बेवास्ता गरेको आरोप लागेको छ । छानबिन समितिले रिपोर्ट दिएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहित निलम्बित कर्मचारीमाथि थप कारबाही गर्ने तयारीमा बालेन देखिन्छन् । काठमाडौं महानगरपालिकाको किर्ते काण्डले मेयर र गृहमन्त्रीबीच द्वन्द्व समेत चुलिएको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ओम प्रकाश अर्याल, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #वसन्त कुमार अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com