८ तले भाइरल टावरका मालिक भूमाफिया इन्द्रकुमार चाम्लिङ को हुन्? 


काठमाडौं। बालेन सरकारले काठमाडौं महानगरपालिका वडा १० देवीनगरको ८ तले टावरमा डोजर लाएपछि भूमाफिया इन्द्रकुमार चाम्लिङ निकै चर्चामा आएका छन्। रावल आयोगको जग्गा दर्ता गरेर सरकारी जग्गा समेत घुसाएर भूमाफिया चाम्लिङले उक्त टावर खडा गरेका थिए। ५ तले घरको निर्माणको अनुमति लिएर चाम्लिङले रातारात ८ तला बनाएका थिए। सरकारले रोक्ला भनेर भूमाफिया चाम्लिङले सरकारी जग्गा समेत मिचेर रातारात उक्त टावर खडा गरेका हुन्। उक्त टावरमा बालेन सरकारको डोजरले आशिंक भाग भत्काइदिएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोरमा सरकारी/सार्वजनिक जग्गा हडप्ने शक्तिशाली भूमाफिया इन्द्रकुमार चाम्लिङले १ दर्जन बढी संरचना खडा गरेर भाडा खाँदै आएका थिए। बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री दिपेन्द्र र काठमाडौं महानगरपालिका मेयर (हाल प्रधानमन्त्री) बालेन मिलेर डोजर लगाएका थिए। बालेन प्रधानमन्त्री भएपछि चाम्लिङले बनाएका आधा दर्जन बढी संरचनामा डोजर लागेको छ। ८ तले टावरको केही भाग भत्किएको छ। चाम्लिङले हडपेको सार्वजनिक ढुङ्गेधारा भने उनको कब्जाबाट अझै मुक्त भएको छैन।

देवीनगरका भूमाफिया चाम्लिङ भोजपुर जिल्लाको बैकुण्ठे गाउँ विकास समिति वडा नम्बर ३ (हाल रामप्रसाद राई गाउँपालिका वडा नम्बर ६) मा २००८ साल असोज १५ गते जन्मिएका हुन्। पञ्चायतको राजनीति गर्दा जिल्ला पञ्चायतमा चुनाव जित्न असफल भएका देवीकुमार चाम्लिङका छोरा इन्द्र काठमाडौं छिरेपछि देवीनगरको सार्वजनिक जग्गा हडपेर रातारात नव धनाढ्य बने।

जानकारहरुका अनुसार राजपरिवारका सदस्य धीरेन्द्रसँग दोस्ती बनाएका इन्द्रले सुरुमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अनामनगर (हाल २९)को नर्कट घारीमा बसोबासको व्यवस्था मिलाए। सिंहदरबारको पछाडिको भाग अनामनगरमा त्यो बेला बाटो नखुलेको अवस्था र नर्कटघारीका कारण खासै बस्ती थिएन। धोबीखोलाको किनारमा बसेका चाम्लिङले बेला-बेलामा बन्दुक पड्काएर त्यो क्षेत्रमा आतंकित पार्ने गरेको जानकारहरू सुनाउँछन्। त्यो बेला गृह मन्त्रालयमा बेलुका धोबीखोला किनारमा बन्दुक पड्काएर आतंकित पारेका चाम्लिङका विषयमा उजुरी परेपनि गृहका तत्कालीन उच्च अधिकारी पद्य सुवेदीले ‘त्यो भोजपुरतिरको राई हो स्याल खेदाउन बन्दुक पड्काएको हो’ भनेर पठाएको उनीहरूको भनाइ छ।

काठमाडौं उपत्यकामा विकास प्राधिकरणले धोबीखोला विस्तार गर्न थालेपछि त्यसको काम गर्ने ठेक्कामा एमाले सिन्धुलीका नेता हेमबहादुर घिसिङ र चाम्लिङ पनि सहभागी भए। चाम्लिङ प्राधिकरणका ‘डन’ भाइकाजी तिवारीसँग ठूलो साँठगाँठ रहेको थियो। त्यसपछि चाम्लिङ वारी अनामनगरको जग्गा जेठी श्रीमतीलाई छोडेर धोबीखोला तरेर पारी सार्वजनिक जग्गा भएको भीरतिर सरे। कतिपयले देवीनगरको नाम इन्द्रले आफ्नो बाबु देवीकुमारको नामबाट राखेको समेत दाबी गर्छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरतिर लागेपछि इन्द्रले २०५१ सालमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी बनेको उच्चस्तरीय रावल आयोगले सार्वजनिक देखाएको जग्गामा जस्ताको टहरो बनाएर बस्न थाले। धोबीखोला बिस्तारको काम पाएका चाम्लिङलाई सार्वजनिक जग्गा देखाएको रावल आयोगको प्रतिवेदन जग्गा हडप्न सञ्जीवनी बुटी साबित भयो। उनले धोबीखोलालाई अनामनगरतिर पेलेर केही जग्गा किन्दै त्यसमा सार्वजनिक जग्गा घुसाएको देखिन्छ।

रावल आयोगको प्रतिवेदन अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२११०६२२ को कित्ता नम्बर ५७७ मा मालपोतका कर्मचारीसँग सेटिङ मिलाएर केही सार्वजनिक जग्गा घुमाएर कान्छी श्रीमती उमादेवी राई चाम्लिङको नाममा दर्ता गराएको पाइन्छ। २०७४ पुस २० हालैदेखिको बकसपत्रबाट उक्त उमादेवी राईको नाममा रहेको जग्गा छोरी स्वस्तिका चाम्लिङको नाममा पास गरिदिएको देखिन्छ।

काठमाडौं महानगरपालिकाबाट ४ तले भवनको नक्सापास गरेर कित्ता नम्बर १९१ को सरकारी जग्गा समेत मिचेर चाम्लिङले ८ तले भवन रातारात ठड्याएका छन्। स्थानीयले मापदण्डविपरीत ८ तले भवन बनाएको विरोध गर्दा चाम्लिङले नगर प्रहरीसँग सेटिङ मिलाएर गुण्डा प्रयोग गरी खुकुरी देखाएर गाडी हिँड्ने बाटोमै पर्खाल लगाइदिएका थिए। चाम्लिङले नक्सापासविपरीत बनाएको ८ तले घर धोबीखोलातिर लच्किएकाले स्थानीयहरू त्रसित रहँदै आएका छन्। चाम्लिङले गुण्डा ल्याएर खुकुरी नचाउने र बन्दुक देखाउन थालेपछि उनीसँग सबै स्थानीय डरले थुरथुर हुन थाले। स्थानीय नडराउन पनि कसरी उनले गुण्डा लगाएर घर घरमै कुट्न पठाएका थिए। त्यसपछि चाम्लिङले देवीनगरमा छुट्टै साम्राज्य खडा गरे।

चाम्लिङले उक्त ८ तले टावरमा बिग मार्ट र रेष्टुरेन्टलगायतलाई मासिक लाखौं भाडामा लगाएका छन्। निर्माण सम्पन्नको कागजात लिन पनि सकेका छैनन्। चाम्लिङले ५ तलाको नक्सा पास गरेर वरिपरिका घर नै खतरामा पर्ने गरी ८ तला बनाउन खोजेपछि स्थानीयले महानगरमा उजुरी त हाले तर महानगरको प्रहरीलाई पनि आफ्नो पक्षमा पारेर आउन नदिई उनले स्थानीयलाई लखेटे।

चाम्लिङले सिट नम्बर १०२११०६२२ को कित्ता नम्बर ५७७ र १९१ नम्बर कित्ता सरकारी जग्गा मिचे ८ तले टावर बनाए। नेपाल सरकार रहेको कित्ता नम्बर १९१ को रहेको झन्डै ४ आना जग्गा कब्जा गरेर निजी पार्किङ गर्ने ठाउँ बनाएका छन्। त्यो ठाउँमा भत्काउने भनेर काठमाडौं महानगरपालिका चिनो लगाएपनि अहिलेसम्म भत्काउन सकेको थिएन। धोबीखोला करिडोरको बाटो नै साँघुरो हुने गरी चाम्लिङले सार्वजनिक जग्गा हडपेर निजी पार्किङ बनाएका छन् । प्रचण्डको छोरी गंगा दाहालसँग सिधा कनेक्सन भएका कारण चाम्लिङलाई कसैले छुन सकेको थिएन। बालेनको डोजरले बल्ल भूमाफिया चाम्लिङले हडपेको जग्गा पहिचान गरेको छ।

भूमाफिया चाम्लिङले कित्ता नम्बर ६५ को सरकारी/पर्ती जग्गामा दुई तले घर बनाएर भाडा खाइरहेका छन् । उनले त्यही नजिक काठमाडौं उपत्यका विकास प्राधिकरणको पैसामा इन्द्र कुमार चाम्लिङ लेखेर अनामनगर र देवीनगर जोड्ने फलामको पुल हालेका छन्। रावल आयोगको प्रतिवेदनले ऐलानी जग्गा जनाएको ६५ छेउमै जोडिएको कित्ता नम्बर १०७ मा एमाले सिन्धुलीका नेता हेमबहादुर घिसिङ र चाम्लिङले साझा घर बनाएर भाडा खाइरहेका छन्।

चाम्लिङले पहरामा आफू बस्ने ५ तले हरियो घर बनाउँदा समेत खम्बुवान मुक्तिमोर्चाको बोर्ड ठड्याएर सार्वजनिक जग्गा कम्पाउण्डभित्र हालेको स्थानीयहरु सुनाउँछन्। उनले उक्त कम्पाउण्डभित्र सार्वजनिक ढुङ्गेधारा हालेर कब्जा गरेका छन्।चाम्लिङ आफ्नो फाइदाका लागि कहिले राजावादी, कहिले माओवादी त कहिले चुनाव जितेर आएको पार्टीवादी हुँदै आएका छन्। अहिले उनी हर्क साम्पाङसँग निकट देखिन्छन्। आफ्नो विरुद्धमा कसैले उजुरी गर्‍यो भने बा.९ च ८६७१ नम्बरको टोयोटाको हाइलक्स गाडी चढेर चाम्लिङको शक्तिशाली नेता र मन्त्रीकोमा दबाव दिन लगाइहल्छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्ने विशेष सम्बन्ध रहेको उनी बताउँने गर्छन्।

भूमाफिया चाम्लिङले काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२११४६०२ कित्ता नम्बर ५४९ को सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै त्यसलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निर्देशन दिएको थियो। तर, उक्त निर्देशन जिल्ला प्रशासन कार्यालयको दराजमा थन्क्याएर राख्ने गरेका थिए। यो घटनाले सिडिओहरु पनि भूमाफिया चाम्लिङसँग लाचार र नतमस्तक थिए भन्ने देखाउँछ। बालेन सरकार आएपछि अहिले भने परिस्थिति फेरिएको छ।

अख्तियार स्रोतका अनुसार भूमाफिया चाम्लिङले उक्त जग्गा हडपेको विषयमा अख्तियारले सोधपुछका लागि बोलाउँदा उनले सरकारी जग्गा कि गरिबले खान्छ कि धनीले भन्दै आफू धनी भएकाले खाएको प्रतिक्रिया दिएका थिए। त्यसबेला उनले अख्तियारका अनुसन्धान अधिकृतलाई दुर्व्यवहार गरेपछि थुन्ने तयारी थियो। तर माफी मागेपछि छोडिएको अख्तियार स्रोतको भनाइ छ ।

भूमाफिया चाम्लिङले देवीनगर धोबीखोला करिडोरको कित्ता नम्बर २६४, २६,४ ३३ लगायतका सार्वजनिक जग्गा हडपेर रजाइँ गरिरहेका छन्। उनले त्योभन्दा पल्लोतिर सुकुम्बासी बस्तीसँगै ३/४ वटा घर बनाएर भाडा खाइरहेका थिए। उक्त ठाउँमा पनि बालेनको डोजर लागेको छ।

सुकुम्बासीबाहेक देवीनगरका सरकारी/सार्वजनिक जग्गामा चाम्लिङको एकलौटी हक लाग्ने गरेको जस्तै थियो। सरकारी निकायले केही गर्न खोज्यो कि भूमाफिया चाम्लिङ महिला र सुकुम्बासी बस्तीमा मान्छे बोकेर घेर्न जुलुस लिएर जाने गरेका थिए। सार्वजनिक जग्गामा साम्राज्य खडा गर्न साम, दाम, दण्ड भेद जे गर्न पनि उनी तयार रहँदै आएका छन्।

देवीनगरको सार्वजनिक जग्गा खाने चाम्लिङले हर्क साम्पाङका लागि लेखिएको आदर्श भनाइ सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्। सरकारी/सार्वजनकि जग्गा कब्जा गरी घर/टहरा बनाएर भाडामा लगाई ठगी गरिरहेका चाम्लिङले ‘एक छाक खान र एक झुम्रो लाउनकै लागि के लुछा चुँडी गर्नु र हौं ? त्याग र तपस्या नै हो जीवन खासमा!’, भनेर साम्पाङको फोटो हालेर लेखिएको स्क्रिन सट शेयर गरेका छन्। उक्त कुराले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर/टहरा बनाइ मासिक लाखौं भाडा खाने चाम्लिङमाथि नै ब्यंग्य गरिरहेकाे छ।

सबै पार्टी प्रयोग गरेर पछिल्लो समय हर्क साम्पाङ निकट भएका ७४ वर्षीय चाम्लिङ अहिले राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमै चर्चामा छन्। ८ तले घरले झन उनी चर्चित बनेका छन्। बालेनको डोजरले चाम्लिङको ८ तले विवादित टावर कोतरेपछि उनी अहिले अन्तर्राष्ट्रिय चर्चामा आएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ